मंगलबार, असोज २२, २०८१
17:13 | २१:५८

पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु   

रासस अप्रिल ५, २०२१

बाँके  । हात्ती चराउँदै गरेका माहुतेको आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गरेका छन् ।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेको निजी सचिव रविन ज्ञालनले जानकारी दिए । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।
उनले भने, ‘गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।’
सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।
यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।
मन्त्री आलेले विगतदेखि नै बिरामी परेका तथा उपचार खर्च नपाएर समस्यामा परेका नागरिकलाई सधैँ सहयोग गर्दै आएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू