बुधबार, वैशाख १२, २०८१
21:36 | ०२:२१

आरजीएनएसमा सिंगो कार्यसमिति निर्विरोध, अध्यक्षमा जीत रानाभाट

नेपाली लिङ्क अप्रिल १, २०२१

लन्डन । ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्षमा जीत रानाभाट निर्विरोध बनेका छन् । 

साउथ इष्ट लन्डनका नेपालीहरुको प्रतिनिधि संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा रानाभाटको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षमा निर्विरोध रानाभाट आरजीएनएसको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । यसअघि उनले संस्थाको महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् । रानाभाट गैरआवासीय नेपाली संघ बेलायतमा पनि अहिले सचिव छन् । 

निर्वाचन समितिले बिहीबार दिउँसो प्रकाशित गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षसंगै १५ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको बुधबार रातीसम्मको समयमा सबै पदमा एकल उम्मेदवारी परेको थियो । 

कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी निर्विरोध बनेका छन् । उनीहरुमध्ये लिलादेवी यसअघि पनि उपाध्यक्ष नै थिइन् । त्यस्तै, वर्तमान कार्यसमितिकी महासचिव मञ्जु भण्डारी नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएकी छन् । 

नयाँ कार्यसमितिको सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध बनेका छन् । कार्यसमितिको ४ सदस्यमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी निर्विरोध बनेको छ भने बाँकी ४ सदस्य पछि मनोनित हुने व्यवस्था छ । 

उम्मेदवारको पहिलो नामावलीमा दाबी विरोधका लागि बिहीबार साँझ ५ बजेसम्मको समय छुट्याइएको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । 

आइतबार भर्चुअल माध्यमबाट हुने संस्थाको चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसअवसरमा संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल हुने कार्यक्रम छ । 

नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया कर्ण शाहीको संयोजकत्वमा रहेको समितिले अघि बढाएको छ । समितिमा फडिन्द्र भट्टराई सदस्यसचिव छन् भने राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू