मंगलबार, वैशाख ११, २०८१
16:39 | २१:२४

बेलायतका नेपालीले मृगौला पीडितलाई पठाए ८ लाख ७० हजार ७४१ रुपैयां

नेपाली लिङ्क अप्रिल १, २०२१

मृगौला पीडित खिमबहादुर पुर्जा

लन्डन । बेलायत बस्ने नेपालीले म्याग्दीका एकजना मृगौला पीडित युवाको उपचारार्थ ५ हजार ३ सय ९१ पाउण्ड (८ लाख ७० हजार ७४१ रुपैयां) सहयोग जुटाएका छन् ।

अन्नपूर्ण गाउंपालिका ४ गाड्पार निवासी ३३ वर्षीय खिमबहादुर पुर्जाको दुवै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारार्थ आर्थिक संकलन भएको हो ।

मद्दत समूह यूकेका संस्थापक बेलायतका समाजसेवी भूतपूर्व गोर्खा कमलबहादुर पुर्जा र इस्टली गोर्खा नेपलिज एसोसिएसनको पहलमा संकलित रकम इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलमार्फत बिरामीलाई उपलब्ध गराउने योजना छ ।

समाजसेवी पुर्जाले इस्टली गोर्खा नेपलिज एसोसिएसन पदाधिकारी, आफ्नो २/८९ इन्टेक नम्बरी, आफन्तजन, साथीभाई, नेपाली समुदायका नेता तथा बेलायती नागरिक आदि गरि २ सय ५२ जनाबाट ५ हजार ३ सय ९१ पाउण्ड संकलन भएको जानकारी दिए । चन्दा संकलनमा इस्टली गोर्खा नेपलिज एसोसिएसनका अध्यक्ष रमनसिंह थापा र कोषाध्यक्ष गंगाबहादुर पुर्जाको पनि अथक प्रयास थियो ।

‘मेरो आग्रहमा बेलायती राजनीतिज्ञदेखि ब्रिटिश आर्मीका उच्च तहका अधिकृत, नेपाली समुदायका अभियन्ता, बेलायती शुभचिन्तक लगायतले स्वतस्फूर्त सहयोग गरेकामा उहांहरुप्रति ज्यादै कृतज्ञ छु’, उनले भने ।

पीडितको सहयोगार्थ हङकङबाट प्रतिभा पाइजाले १९ जना दाताबाट ६ हजार ६ सय ७३ हङकङ डलर संकलन गरेकी छन् भने अमेरिका निवासी पुर्जाका नजिकका साथी डा. देउबहादुर पुनले आफ्नी आमा लालमाया पुनको स्मृतिमा १० हजार रुपैयां प्रदान गर्ने भएका छन् ।

समाजसेवी पुर्जाले फेब्रुअरी शुरुतिर आफ्नै पुरख्यौली म्याग्दीको दाना गाउं निवासी खिमको मृगौला फेल भएको दुःखद खबर सुनेका थिए । आफ्नो जिवीकोपार्जनका लागि खाडी मुलुक दुबई पुगेका खिमको प्रवासमै ‘किड्नी फेल’ भएको थियो । बिरामी परेपछि काम गर्न सक्ने अवस्थै रहेन र सहकर्मीको सहयोगमा नेपाल फर्किए ।

भारतमा मृगौला प्रत्यारोपण गर्दा कम्तीमा १३ लाख रुपैयां खर्च हुने भएकाले समाजसेवी पुर्जाले चन्दा संकलनको जुक्ति अपनाएर बेलायतमा पैसा उठाउन थालेका थिए ।

‘पीडितको आर्थिक अवस्था एकदमै कमजोर भएको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि मलाई ‘सेवा नै धर्म हो’ भन्ने कुराले प्रेरित गरयो र आर्थिक संकलन अभियान थालें’, पुर्जाले भने, ‘म यस अवसरमा सहयोगदाता सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू