शनिबार, वैशाख ८, २०८१
20:49 | ०१:३४

बेलायतमा दैनिक मृतक संख्यामा ७२ प्रतिशतले कमी

थप ६४ जनाको मृत्यु

नेपाली लिङ्क मार्च १५, २०२१

लन्डन । बेलायतमा एक महिनाभित्र कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दैनिक ७२ प्रतिशतले ह्रास आएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो संख्या अक्टुबर ५ यताको सोमबारहरुमध्यकै सबैभन्दा कम हो । गतहप्ता सोमबार ६५ जना संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ५८० पुगेको छ । मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये विश्वको पाँचौं स्थानमा पर्दछ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ८९ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या पनि पछिल्ला दिनहरुमा पांच हजारको हाराहारीमा रहँदै आएको छ ।

नयां थपिएका संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ४२ लाख ६३ हजार ५२७ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ८ हजारमा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ५३१ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

दुई करोड ६० लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ६० लाख भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।

सोमबारसम्मको तथ्याँक अनुसार कोरोना विरुद्धको खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ६० लाख ६३ हजार ५०१ पुगेको छ ।

खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४४ लाख ५३ हजार २२१ जनाले पहिलो डोज लिएका छन् भने १६ लाख १० हजार २८० जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू