शुक्रबार, वैशाख १०, २०७८
06:34 | ११:१९

भूतपूर्व गोर्खा केदार संकेतको ‘अफगानी रणमैदान’ बजारमा

नेपाली लिङ्क मार्च १२, २०२१


लन्डन । एकजना भूतपूर्व गोर्खा साहित्यकार केदार संकेतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गरेका हुन् ।

सो अवसरमा अतिथीहरुले सर्जक संकेतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राखे ।

पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।

लेखक स्वयं युद्धमा संलग्न भएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ ।

यसअघि लेखकका ‘आफैं जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘संकेतका कविताहरू’लगायत कृति प्रकाशित भएका छन् । सर्जक संकेत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू