![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2021/02/0_Plumstead-High-st.jpg)
लन्डन प्लमस्टिड क्षेत्रमा धेरै भूतपूर्व गोर्खाहरुको बसोवास छ
लन्डन । कोभिड महामारीले आक्रान्त बेलायतको नेपाली समुदायमा केही मानिस घर घरमा राहत बांड्न व्यस्त छन् । अत्यावश्यक औषधि, खाद्यान्नदेखि तातो दालभात नै घरमा पुरयाएर पूण्य कार्य गर्ने केही नेपाली एकातिर छन् भने अर्कोतिर महामारीकै बेला घरबाट वृद्धवृद्धा निकालिदिने घरबेटी पनि यहीं भेटिएका छन् ।
केही महिना अघि एक वृद्ध भूतपूर्व गोर्खा लुइसम आसपास बरालिरहेका भेटिए । पैदल यात्रुले ति वृद्धलाई पार्क नजिक ब्याकस्ट्रिटमा हिंडिरहेको भेट्टाएका थिए । थकित, चिन्तित र मलिन अनुहारमा देखिएका उनलाई पानी र केही सहयोग अफर गर्दा उनले त्यो इन्कार गरे । बरु उल्टै पानीको बोटल फ्यांकिदिए । कसैले प्रहरीलाई खबर गरिदियो ।
प्रहरीको गाडीमा बसेपछि ति वृद्धले अन्त्यमा आफ्नो परिचयपत्र देखाउंदा उनी ब्रिटिश आर्मीबाट अवकासप्राप्त भूतपूर्व गोर्खा रहेछन् । महामारीका कारण घरैमा रहंदा उनमा डिप्रेसन वा डिमेन्सियाको लक्षण पनि देखिएको थियो । बिहान आफ्नी श्रीमतीसंगै निस्किएका ति वृद्ध एक्लै बाहिरै डुलिरहेको भेटिएका थिए, जबकि उनकी श्रीमती घर पुगिसकेकी थिइन् ।
कोभिड कहरले बेलायतको नेपाली समुदाय पनि प्रभावित बन्यो । कयौं भूतपूर्व गोर्खा र तिनका परिवारले ज्यान गुमाए । असक्त भए, कति डिप्रेसनको शिकार भए । पसलसम्म निस्केर किनमेल गर्न पनि मेसो नभएर कति भोकभोकै बस्न पनि वाध्य भए । यतिसम्म कि केही गोर्खा परिवार त महामारीका बेला घरबेटीले निकालेर अलपत्र सम्म परेको गोर्खा अभियन्ता बताउंछन् ।
लन्डन साउथ इष्टमा लामो समयदेखि गोर्खा भेट्रानलाई सहयोग गर्दै आएका भूतपूर्व गोर्खा सैनिक तथा अभियन्ता ज्ञान तामाङले आफ्नो क्षेत्रमा महामारीका बेला झण्डै ८ गोर्खा दम्पत्तिलाई घरबेटीले निकालिदिएको बताए । ‘भूतपूर्व गोर्खाहरुलाई आवासमा समेत सकस परिरहेको छ’, तामाङले नेपाली लिंकसंग भने, ‘कतिलाई अस्पतालसम्म जान समस्या छ, कतिले अंग्रेजी भाषा नबुझेर किनमेल गर्न सक्दैनन् । हामी आफ्नो क्षमताले भ्याएसम्म ति पीडितलाई सहयोग गर्न क्रियाशिल छौं ।’
ज्ञानले विगत एक दशकभन्दा बढी समयदेखि भूतपूर्व गोर्खाहरुलाई बैंक खाता खोल्नदेखि अंग्रेजी कक्षा, पकाउने सीप, समाज र साथीभाइसंग घुलमिल (सोसलाइज) जस्ता क्रियाकलापमा सघाइरहेका छन् ।
‘जब कोही हराउंछन् वा आपतमा पर्छन् मलाई नै खबर गर्छन्’, तामाङ भन्छन्, ‘सकेको सहयोग गर्नु मेरो दायित्व पनि हो ।’
नेपाली कम्युनिटीमा जानकारी छैन्
![](https://www.nepalilink.com/wp-content/uploads/2021/02/Jit-and-Harikumar-Mall.jpg)
आरजिएनएसका उपाध्यक्ष एवम् एनआरनए यूके सचिव जीत रानाभाट र जिगेसाका महासचिव हरिकुमार मल्ल (दाँया)
साउथ इष्ट लण्डनस्थित रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजिएनएस) का उपाध्यक्ष एवं एनआरनए यूकेका सचिव जीत रानाभाटले भने यस्तो समस्या लिएर आफ्नो संस्थामा अहिलेसम्म कसैले सम्पर्क नराखेको बताए ।
‘हामीलाई अहिलेसम्म कुनै जानकारी छैन् । तर हाम्रो समुदायका कोही सदस्य समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी सक्दो सहयोग गर्नेछौं’, रानाभाटले भने ।
घरभेटीसंग उत्पन्न भएको असमझदारीलाई नेगोसिएसन गरी समाधानको पहल गर्नुका साथै जरुरी परे स्थानीय काउन्सिलको हाउजिंग विभागसंग समन्वय गरी वैकल्पिक आवासको व्यवस्था समेत गर्न सकिने उनको भनाइ छ ।
साउथ इष्ट लन्डनस्थित भूतपूर्व गोर्खाहरुको संस्था ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) का महासचिव हरिकुमार मल्ल पनि गोर्खाहरुलाई घरबाटै निकालिएको समस्या आफूहरुको जानकारीमा आइनसकेको बताउंछन् ।
तर कोभिड महामारीका बेला गोर्खाहरुले धेरै दुःख पाएका छन् । एउटै घरमा धेरै मानिसहरुसंग शेयर गरेर बस्नुपर्ने वाध्यता छ । एउटा कोठाको मानिस अर्को कोठामा बस्नेसंग भेट्न नपाउने भन्छ । एउटै घरमा छ । किचन, बाथरुम शेयर गर्नैपर्ने हुन्छ, अप्ठेरो छ, मल्लले भने ।
घरभेटीहरुले चिसोमा पनि हिटर अन नगरिदिने, दिनभर घरबाहिरै पठाउन खोज्ने लगायतका अमानवीय व्यवहार गर्ने गरेका गुनासो भने निरन्तर आइरहने उनले बताए ।