मंगलबार, चैत ६, २०८०
05:18 | ११:०३

बेलायत लकडाउन सकसबाट मुक्त हुँदै, चार चरणमा खुलाउने घोषणा

जुन २१ देखि लकडाउन पूर्ण रुपमा हट्दै

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२१

लन्डन । बेलायतमा महिनौदेखि कायम लकडाउन क्रमश: खुकुलो हुने भएको छ ।

सोमबार बेलुका देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।

लकडाउन हटाउने सरकारी योजना सोमबार दिउंसो बेलायती संसदलाई जानकारी गराएका प्रधानमन्त्रीले बेलुका टेलिभिजन सम्बोधनमार्फत् घोषणा गरे ।

कहिलेबाट के खुल्ने ?
प्रधानमन्त्री बोरिस जोन्सनले गरेको घोषणाअनुसार अहिले कायम लकडाउन विभिन्न ४ चरणमा अन्त्य हुनेछ ।

पहिलो चरणमा मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । केयर होमका बासिन्दालाई एक जनासम्म आफन्त भेट्न दिइनेछ । आउटडोर रुपमा दुई जनासम्मले भेट्न र चिया, कफी लिन वा पिकनिक गर्न छुट पाउनेछन् ।

त्यस्तै, मार्च २९ देखि आउटडोर (पार्क, प्राइभेट गार्डेन) ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ ।

टेनिस, बास्केटबल लगायत आउटडोर खेलस्थल सुचारु गरिनेछ । आफ्नो क्षेत्रभन्दा बाहिरी क्षेत्रसम्मको यात्रामा अहिले लगाइएको रोक फुकुवा गरिनेछ ।

लकडाउन खुला गर्ने दोस्रो चरण अप्रिल १२ मा हुनेछ । जुन बेला अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै ‘रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्युजियम, बियर गार्डेन, थिम पार्क लगायतका सार्वजनिक स्थलहरु खुला गरिनेछ । पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्न सक्नेछन् ।

अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।

तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नुका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ ।

यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन्। खेलकुदका इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् ।

चौंथो तथा अन्तिम चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र इंग्ल्याण्ड लकडाउनमुक्त हुनेछ ।

प्रधानमन्त्री जोन्सनले लकडाउन खुकुलो पार्ने सरकारका चारै चरणका योजना कार्यान्वयन हुनुअघि ४ वटा आधार तयार भएको हुनुपर्ने स्पष्ट पारेका छन् ।

सरकारको योजनाअनुरुप नै कोभिड खोप वितरण निरन्तर भएको, खोपको कोरोनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या घटाएको प्रमाण देखिएको, संक्रमणदरले अस्पतालहरुलाई प्रेसरमा पार्ने जोखिम नरहेको र भाइरसको नयाँ भेरियन्टले जोखिम नबढाएको अवस्थामा मात्र सरकारले लकडाउन खुकुलो पार्न तय गरेका योजना लागू गरिनेछ ।

लकडाउन खुलाउने योजना घोषणा गर्दै प्रधानमन्त्री जोन्सनले ‘डेट होइन, डेटा हेरेर’ अघि बढिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू