बिहीबार, वैशाख ६, २०८१
04:47 | ०९:३२

बेलायती पूर्व मन्त्री शर्मा नेतृत्वको टोली नेपालमा

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२१

लन्डन । बेलायतका एक पूर्व मन्त्री एवम् सांसद आलोक शर्मा नेतृत्वको ५ सदस्यीय प्रतिनिधिमण्डल नेपाल पुगेको छ ।  

आगामी नोभेम्बरमा स्कटल्यान्डमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘कोप २६’ को लागि निमन्त्रणा दिन सो सम्मेलनका अध्यक्ष समेत रहेका पूर्व मन्त्री शर्मा नेपाल भ्रमणमा गएका हुन् ।  

दुई दिने भ्रमणका क्रममा बुधबार नेपाल पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरिसकेको छ ।  त्यस अवसरमा सम्मेलनका अध्यक्ष पूर्व मन्त्री शर्माले प्रधानमन्त्री ओलीलाई सम्मेलनको निम्तो दिए । सम्मेलनमा नेपालको उच्चस्तरीय प्रतिनिधित्वको अपेक्षा गरिएको व्यक्त गर्दै उनले प्रधानमन्त्री ओलीलाई नै देख्न चाहेको  बताए । त्यसबारे कूटनीतिक च्यानलबाट छलफल गर्दै उपयुक्त समयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीको जवाफ थियो ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाल–बेलायत सम्बन्ध, जलवायु परिवर्तन, ऊर्जालगायत अन्य विषयमा सहकार्यबारे छलफल भएको उल्लेख छ । सम्मेलनका अध्यक्ष शर्माले सम्मेलनको तयारी, प्राथमिकता तथा योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको पूर्ण सहयोग र समर्थन रहने पनि वचन दिएका थिए ।

यसअघि माघ पहिलो साता नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटको क्रममा स्कल्याण्डमा हुने उक्त जलवायु सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधित्वको अपेक्षा गरेको जानकारी गराएकी थिइन् ।

बेलायती प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू