शुक्रबार, वैशाख ७, २०८१
14:08 | १८:५३

अस्पतालका कर्मचारी र प्रहरीलाई चकलेट बांडेर सुनिलले मनाए ‘भ्यालेन्टाइन डे’

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१

लन्डन । १४ फेब्रुअरीका दिन प्रायले आफ्नो प्रियजनसंग उपहार र माया सांटेर प्रणय दिवस मनाए । तर, बेलायतका एकजना एनआरएनए अभियन्ता एवं व्यवसायी सुनिल खड्काको प्रेम दिवस भने पृथक रह्यो । विशेष गरि प्रेमिल जोडीहरुको महत्वपूर्ण पर्वका रुपमा मानिने भ्यालेन्टाइन डेको अवसर पारेर न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक एवं एनआरएनए यूके उपाध्यक्ष खड्काले स्थानीय अस्पतालमा अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई चकलेट उपहार दिएर दिवसको सदुपयोग गरे ।
कोरोना महामारीका बेला आफ्नो ज्यानको समेत वास्ता नगरी रातदिन खट्ने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गर्दै खड्काले आसफोर्ड एण्ड सेन्ट पिटर्स अस्पताल वकिंगमा गएर बेल्जियन चक्लेटका बक्स उपहार दिएका हुन् ।

आइतबार दुई सय ५० भन्दा बढी चकलेटका बक्स बोकेर आसफोर्ड एण्ड सेन्ट पिटर्स अस्पतालको विभिन्न वार्डमा पुगेर ‘ह्याप्पी भ्यालेन्टाइन’ भन्दै कर्मचारीहरुलाई चकलेट वितरण गर्दा माहोल रोमाण्टिक बनेको थियो । कतिले त अचम्म मान्दै जिज्ञासा राखे ‘यो बिरामीको लागि हो ?’ होइन् यो तपाईंहरुका लागि भ्यालेन्टाइन डे गिफ्ट भनेपछि उनीहरु मख्ख पर्दै कृतज्ञ भएको खड्काले सम्झिए । एकजना नर्सले त मेरो बुढाले भन्दा तपाईंले पहिला भ्यालेन्टाइनको उपहार दिनुभयो भनेकी थिइन् । सोही अस्पतालमा कार्यरत खेम खत्रीको सहयोगले विभिन्न वार्डमा गएर २५० भन्दा बढीलाई चकलेट उपहार दिन सहज भएको खड्काले बताए ।

अप्रत्यासित रुपमा भ्यालेन्टाइन उपहार पाएपछि अस्पतालकी विभागीय प्रमुख एवं म्याट्रोन सारा मोथ, सिनियर नर्स पाउलो रोड्रिजस लगायत चिकित्सक र कर्मचारीले खुशी व्यक्त गरेको खड्काले बताए । ‘महामारीसंग लडिरहेका अस्पताल कर्मचारीलाई केही मनोवल बढोस् भन्ने मेरो उद्देश्य हो’, खड्काले भने । महामारीका बेला आफ्नो प्रियजनको पनि जीवनरक्षा गर्ने स्वास्थ्यकर्मी एवं प्रहरीलाई विशेष मानेर उपहार दिएको उनले बताए ।

यसैबीच, खड्काले सुरक्षामा अहोरात्र खटिने प्रहरी अधिकृतहरुलाई पनि चकलेट बांडेका छन् । स्थानीय प्रहरीका लागि एकसय प्याकेट चकलेट दिइएको उनले जनाए ।

बेलायतमा कोरोना संक्रमण बढेपछि अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीहरु दिनरात नभनि काम गरिरहेका छन् । तिनै कर्मचारीको पीडा सम्झेर व्यवसायी खड्का उनीहरुका लागि थोरै भएपनि खुशी दिन प्रयत्नरत छन् । आफ्नो रेष्टुरेन्टको व्यवसाय घटेको पीडालाई बिर्सिएर खड्का कहिले निशुल्क खाना बांड्न व्यस्त रहे भने कहिले स्थानीय विद्यालयहरुमा स्यानिटाइजर बांड्न ।

यसअघि उनले स्थानीय विद्यालयका विद्यार्थी र कर्मचारीहरुलाई ५ हजार स्यानिटाइजरका बोटल निशुल्क बांडेका थिए ।
उनले फुलब्रुक स्कुल, वेष्ट बाइफ्लीट इन्फ्यान्ट स्कुल, वेष्ट बाइ फ्लीट जुनियर स्कुल, पायरफोर्ड प्राइमरी स्कुल, द मरिष्ट क्याथोलिक प्राइमरी स्कुल र सेन्ट म्यारिज सिएफइ प्राइमरी स्कुल बाइफ्लीटका विद्यार्थी, शिक्षक र कर्मचारीलाई आफैं गएर स्यानिटाइजर बांडेका थिए ।

खड्काले अघिल्लो लकडाउनमा पनि सयौं एनएचएस कर्मचारी, ‘कि वर्कर’ र वृद्धवृद्धालाई निशुल्क खाना ख्वाएका थिए । अहिले पनि प्रत्येक बिहीबार एनएचएस स्टाफलाई निशुल्क खाना खुवाउदै आएको उनले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू