शुक्रबार, चैत १६, २०८०
14:45 | २०:३०

बेलायती सैन्य पोशाक ब्राण्डिङ गर्दै रिटायर्ड ब्रिटिश लाहुरे भीम सारु

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२१


लन्डनबाट २ घण्टा टाढा पर्छ –ननिटन । जहां झण्डै तीन हजारजति नेपाली बस्छन् । त्यही ननिटनमा बस्छन्, पाल्पाका रिटायर्ड ब्रिटिस आर्मी क्याप्टेन भीम सारु । भीमको परिचय रिटायर्ड लाहुरेमात्रै होइन्, बेलायती नेपाली डायस्पोरामाझ उनी समाजसेवीका रुपमा परिचित छन् । बेलायतमा उनको व्यवसायीको परिचय पनि छ । अझ रोचक त के भने उनी इन्जिनियर पनि हुन् ।

पाल्पाको चिदिपानीमा जन्मिएका उनका बुवा नेकसिंह सारु पनि बेलायती सेना नै थिए । आमा कालीसरा सारु भने सामान्य गृहिणी । मेघसिंह र कालीसराका पांच जना सन्तानमध्ये उनी चौंथो हुन् । गाउंको सामान्य लाहुरे परिवारमा जन्मिएका भीम गाउंले परिवेशमै हुर्किए ।

शिक्षादीक्षाका लागि उनले झण्डै दुई घण्टा दूरी यात्रा गर्दै स्कुल जानुपथ्र्यो । हरेक गाउंले केटाकेटीजस्तै स्कुलका दिनहरु उनका लागि पनि पट्यारलाग्दा लाग्थे । गृहकार्य दिंदा पनि सजाय दिएजस्तो अनुभव हुन्थ्यो । ‘दुई घण्टा हिडेर जानुपर्ने, फर्किदा ५–६ बजिसक्ने,’ उनी सुनाउंछन्, ‘स्कुलबाट फर्केर घांस काट्नुपर्ने अवस्था थियो ।’ जसले उनको मनमा पढाइप्रति अनुराग बढाउनुको साटो घटाउंथ्यो । भीममा पढाइप्रति प्रेम जगाउन वरपर वातावरण र मोटिभेट गर्ने साथीसंगीको जमात पनि थिएन ।

बाल्यकालमा उनले साथीहरुसंग भलिबल, डन्डीबियो र कबड्डी खेलेर अधिकांश फुर्सदको समय बिताए । उनलाई पढाइप्रति प्रेरित गर्ने एकमात्र व्यक्ति उनका दाजु थिए । दाजु आफैं अध्ययनमा राम्रा र पढेलेखेका भएकाले त्यसको प्रभाव भीमको जीवनमा पनि परयो । दाजुले उनलाई पनि पढ्नका लागि उत्प्रेरित गर्दै गए । सौभाग्य माध्यमिक विद्यालयबाट उनले वि.सं. २०४४ सालमा सेकेण्ड डिभिजनमा एसएलसी पास गरे ।

त्यसपछि उनी आइकम गर्नका लागि तानसेन क्याम्पस गए । त्यहांबाट वि.सं. २०४७ सालमा आइकम सके । भन्छन्, ‘कलेज पढ्दा पढ्नुपर्छ भन्दा पनि साथीहरुसंग रमाइलोका कारण यो लाइफ पो राम्रो रहेछ भन्ने अनुभव भयो ।’ रमाइलो हुंदोरहेछ भन्ने आधारमा आफू क्याम्पस पढेको अनुभव उनले सुनाए । पछि आएर मात्रै उनले पढाइको महत्व अनुभव गरेका हुन् ।

आइकम सकेपछि उनी सन् १९९३ मा सिपाहीका रुपमा बेलायती सेनामा भर्ना भए । नेपाल प्रहरीको जिल्ला इन्चार्जसम्म भएका उनका दाजुले पनि उनलाई ब्रिटिस लाहुरे हुनका लागि प्रेरित गरेका थिए । ‘बुवा लाहुरे । दाजुले पनि ब्रिटिस लाहुरे बन्न भन्नुहुन्थ्यो,’ उनी लाहुरे बन्नुको किस्सा खोल्छन्, ‘आफ्नो रहर पनि थियो । साथीसंगीसंग रहर गर्दागर्दा ब्रिटिस आर्मीमा भर्ना भइयो ।’ बेलायती सेना भर्ना भएपछि उनी हङकङ गए । भीम हङकङ पुग्ने बेलायती सेनाको अन्तिम दोस्रो ब्याच हुन् । त्यहां पुगेपछि उनका लागि सबै नयां र सप्रराइज थियो ।

भीमले हङकङमा नै ९–१० महिना तालिम गरे । केही समय हङकङ बसेपछि उनी बेलायत फर्किए । बेलायत फर्केपछि उनको केही साथीहरु हङकङ फर्किए । उनी भने बेलायतमै बसे । सन् २०१२ मा उनले युनिभर्सिटी अफ ग्रीनवीचबाट उनले हाइवे इन्जिनियरिङ गरे । सेनामा आफ्नो क्षमता भएमा प्राविधिक सेवातर्फ पनि प्रयास गर्न सकिन्छ । भीम झण्डै १०–१२ वर्षपछि बेलायती सेनाभित्रै इन्जियिरिङ फिल्डमा लागे । उनी रेलवे, हाइवे, ब्रीजदेखि टनेल इन्जिनियरिङ सबै डिजाइन गर्छन् ।

भीम हाल २४ वर्ष लामो सैनिक सेवाबाट रिटायर्ड जीवन बिताइरहेका छन् । ‘सन् २०१७ मा मैले रिटायर्डमेन्ट लिएको हुं,’ उनले भने, ‘चार वर्ष भयो ।’ रिटायर्ड भएपछि उनी अहिले पनि बेलायती सेनाको रिजर्भ फोर्समा रहेर ग्यारिजन इन्जिनियरका रुपमा काम गर्छन् । बेलायती सेनाका बटालियनहरुको कुनै निर्माण सम्बन्धि कामहरु आयो भने उनको मातहतमा अन्य इन्जिनियर, फोरमैन, सर्वेयरलगायतको जनशक्ति हुन्छन् । सबै मिलेर सेनाका त्यस्ता निर्माण कार्यहरु गर्छन् ।

व्यवसायी लाहुरे

सन् २०१४–२०१५ तिर उनकी श्रीमतीले शर्मिला सारुले ‘सारु इम्ब्रोइडेरी लिमिटेड’ सुरु गरिन् । सारु इम्ब्रोइडेरी लिमिटेडले ब्राण्डिङको काम गर्छ । नेपालमा त्यति चलनमा नरहेको यो बिजनेश आइडियामा स्कुल, मिलिट्ररी, क्लबलगायतका पहिरनमा ब्राण्डिङ गर्ने काम हुन्छ । ‘कुनै स्कुल वा कलेजको पहिरन हेर्दा यो स्कुलको रहेछ भनेर चिनाउने गरी ब्राण्डिङ गर्ने काम हाम्रो कम्पनीले गर्छ,’ उनले भने, ‘नेपालमा यस्तो खालको बिजनेश अहिलेसम्म पनि युजटु भइसकेको छैन् ।’ उनको कम्पनीले मेसिनमार्फत पहिरनहरुमा लोगोहरु ‘ब्राण्डिङ’ गर्छ ।

सुरुमा उनकी श्रीमतीले घरबाटै सानो स्केलमा यो व्यवसाय सुरु गरेकी थिइन् । जब भीम रिटायर्ड भए । सन् २०१७ को मार्चदेखि उनले उनले व्यवसायिक रुपमै सारु इम्ब्रोइडेरी लिमिटेडलाई अगाडि बढाए । बेलायतका नेपालीमाझ नयाँ ब्यापारिक आइडिया भएपनि यो बेलायतमा भने राम्रो चलेको व्यवसाय हो । ‘स्थानीय सबै स्कुलहरु, मिलटरीहरु प्रायः सबै, एनएचएसलगायत धेरैको कपडामा ब्राण्डिङको काम सारु इम्ब्रोइडेरीले नै गर्छ,’ उनले भने, ‘डेकुरेसन सामाग्री, झण्डा, टाईदेखि ब्यानर बनाउनेसम्मका काम पनि हामीले गर्छौ । यी सबै काम मेसिनबाटै गर्छौ ।’

प्रायःजसो सबै काम सारु इम्ब्रोइडेरीले नै गर्छ, नगर्ने कतिपय कामहरु सब कन्ट्रयाक्टलाई दिन्छन् । उनका सब कन्ट्याक्टर चीन, भारत, पाकिस्तानमा छन्, उनीहरुलाई दिन्छन् । त्यसबाट लिएर उनी आफ्नो ग्राहकहरुसँग पुरयाउंछन् । उनको कम्पनीका झण्डै १ हजार बढी ग्राहकहरु छन् ।

सुरुमा आर्मीका पहिरनहरुमा मात्रै ब्राण्डिङ गर्ने गरी झण्डै २०–२५ लाखमा सारु इम्ब्रोइडेरी सुरु भएको हो । अहिले सारुको इम्ब्रोइडेरीको कारोबारमात्रै एकलाख पाउण्ड वरिपरी छ । ‘यस वर्ष कोरोनाले अलि प्रभावित भएको छ,’ उनले भने, ‘नत्र हाम्रो वार्षिक कारोबार एकलाख पाउण्ड वरिपरी हो ।’ उनले यसलाई फ्यामिली बिजनेशकै रुपमा अगाडि बढाएका छन्, यसमा फ्यामिलीका नै धेरैजसो मानिसहरु संलग्न छन् । उनको कम्पनीकै नेचरनै कस्तो छ भने कतिपय सामानहरु उनको कम्पनीले डिजाइन गर्छ, सब कन्ट्याक्टरहरुले बनाउँछन् र उनको कम्पनी कहाँ नआइकनै ग्राहक कहां पुग्छन् ।

मनकारी भीम


यी रिटायर्ड लाहुरे व्यवसायसंगसंगै सामाजिक काममा पनि सक्रिय छन् । मनकारी भीम कसैलाई मर्दापर्दा सहयोग गरिरहन्छन् । स्थानीयस्तरमा पनि उनी सक्दो सहयोगका लागि सदैव अगाडि रहन्छन् । त्यही कारण उनलाई स्थानीयस्तरमा नेपालीमात्रै होइन्, बेलायती अधिकारीहरुले समेत चिन्छन् । सबैसंग उनको उतिकै राम्रो सम्बन्ध छ । बेलायतको नेपाली डायस्पोरामा नाम कमाइसकेका नेपालीहरुमा भीम पनि एक हुन् ।

सन् १९९६ मा उनले कलेजमै चिनजान भएकी सर्मिला सारुसँग लभ एरेन्ज म्यारिज गरेका हुन् । अहिले भीम श्रीमती शर्मिला, छोरा यसम र छोरी यसमासहित बेलायतमा बस्दै आएका छन् । उनी अधिकांश फुर्सदको समय सामाजिक काम र बैठकहरुमै व्यस्त रहन्छन् । बेलायतको सिस्टम नबुझेका नेपालीहरुलाई पनि सहयोग गरिरहेका हुन्छन् ।

सामान्य खानपिन रुचाउने उनी हप्तामा आधा समय नेपाली खाना र आधा समय बेलायती खाना खान्छन् । लाइट खाना उनलाई बढी मन पर्छ । विशेषगरी उनलाई श्रीमतीले बनाएको नेपाली खाना मन पर्छ । संगीत र सिनेमा भने उनको उति रुचि छैन् ।
पहिरनमा उनी प्रायःजसो टाइसुटमा हुन्छन् । व्यवसायिक काममा धेरै हिड्ने भएकाले पनि उनी ‘फर्मल’ पोशाकमै बढी हुन्छन् । शारिरीक रुपमा फिट रहनका लागि भीम वाक, ब्याडमिन्टन, स्कच र गल्फ खेल्छन् ।

भीमको अबको लक्ष्य समाजसेवामै लाग्ने छ । समानता सोच भएको संस्थामा काम गर्ने उनको रुचि हो । अहिले उनी गोर्खा भेट्रान एशोसियसनको महासचिव छन् । पाल्पा जिल्ला समाज साथै गैर आवासीय नेपाली संघ, इंग्ल्याण्ड राज्य परिषदको सल्लाहकार पनि छन् उनी । अरु धेरै संघसंस्थामा समेत उनको संलग्नता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू