बिहीबार, वैशाख १३, २०८१
08:27 | १३:१२

बेलायतबाट फर्किनुअघि किन ‘गुमनाम’ छन् राजदूत डा सुवेदी ?

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१

राजदूत डा दुर्गाबहादुर सुवेदी

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल गत सेप्टेम्बर महिनामै सकियो । दशैं मान्न नेपाल फर्किने गरी झोला कसेर बसेका उनी चैते दशैं आउने बेलासम्म पनि अझै यतै छन् । 

बेलायतमै रहेपनि पछिल्लो समय राजदूत सुवेदी यहाँको नेपाली समुदायसंग भने पूरै सम्पर्कविहिन बनेका छन् । सार्वजनिक कार्यक्रमहरुमा नदेखिने मात्र होइन, व्यक्तिगत रुपमा संघसंस्थाका प्रतिनिधि र मिडियाकर्मीले प्रयास गर्दा समेत उनी सम्पर्कमा आउन छोडेका छन् । 

डा सुवेदीको कार्यकाल सकिएको महिनौं बितिसकेको छ । उनलाई प्रतिस्थापन गर्ने अर्का राजदूतको नियुक्ति समेत भइसकेको छ । तर नयाँ राजदूत लोकदर्शन रेग्मी बेलायत आइपुग्न अझै बाँकी रहेकाले सुवेदीको नेपाल फिर्ती लम्बिएको छ । 

त्यसो त डा सुवेदी कार्यकाल सकिएलगत्तै नेपाल फर्किन चाहन्थे । शुरुमा कोभिड महामारीकै कारण पनि उनको बेलायत बसाइ केहि समय लम्बियो । पछि उनको ठाउँमा आउने नयाँ राजदूत नियुक्तिको प्रक्रियाले समय लियो । अहिले नियुक्त भइसकेको हप्तौंसम्म पनि नवनियुक्त राजदूत बेलायत उत्रिएका छैनन् । 

दूतावास स्रोतका अनुसार डा सुवेदी अब छिट्टै फर्किनेछन् । नेपाल सरकारबाट उनलाई स्वदेश फिर्ता हुनका लागि दिइएको समयअवधि आइनसकेका कारण उनी बेलायतमै रोकिएका हुन् । नवनियुक्त राजदूत लोकदर्शन रेग्मी फाल्गुण पहिलो सातासम्म बेलायत उत्रिने र त्यसभन्दा अघि सुवेदी नेपाल गइसक्ने योजना रहेको बुझिएको छ । 

नेपाल फर्किनुअघि अहिले राजदूत डा सुवेदी बेलायतमा पूरै ‘गुमनाम’ बनेर बसेका छन् । उनले यहाँको नेपाली समुदायसंगको आफ्नो सम्पर्क विच्छेद गरेका छन् । 

‘निष्क्रिय’ बस्ने राजदूत सुवेदीको स्वभाव होइन । उनको कार्यकालमा दूतावासमा विगतमाभन्दा झन् बढी कार्यक्रमहरु आयोजना भए । समुदायमा विभिन्न संघसंस्थाले गर्ने कार्यक्रममा पनि उनी उल्लेख्य रुपमा सहभागी बन्ने गरेका थिए । कोभिड महामारी नियन्त्रण प्रयासमा बेलायतमा प्रतिवन्धहरु जारी भएको अवस्थामा समेत दूतावासमा विभिन्न महोत्सव भन्दै कार्यक्रमहरु गरिए । भर्चुअल रुपमा पनि थुप्रै सम्मेलन आयोजना भए । तर पछिल्लो समय यस्ता सबै कार्यक्रम ठप्प भएका छन् । अन्य कुनै संघसंस्थाले आयोजना गरेका भर्चुअल कार्यक्रममा पनि उनी कतै देखिएका छैनन् । 

राजदूतको कार्यकाल पूरा भएकोमा उनलाई धन्यवाद दिंदै बिदाई कार्यक्रम गर्न चाहने कयौं संघसंस्था समेत राजदूत सम्पर्कमा नआएका कारण निराश बनेका छन् । 

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन्, ‘महामहिमको कार्यकाल निकै राम्रो र सफल रह्यो । गोर्खाहरुको मुद्धामा पनि उहाँले खेल्नुभएको भूमिकाप्रति हामी खुशी नै छौं । तर अहिले उहाँलाई राम्रोसंग बिदाई समेत गर्न नपाउँदा भने हामीलाई खल्लो लागेको छ ।’

महामारीका कारण भौतिक उपस्थितिमा बिदाई गर्न सम्भव नभएपनि भर्चुअल रुपमै भएपनि राजदूतलाई बिदाई गर्ने चाहना सत्याग्रहको थियो । गोर्खा आन्दोलनको अहिलेसम्मको उपलब्धिहरुको बारेमा राजदूतबाट अपडेटहरुसंगै सल्लाह, सुझाव र मार्गदर्शन पाउने उनीहरुको आशा थियो । तर महिनौंदेखि लगातार फोन, मेसेज गर्दा समेत राजदूत सम्पर्कमा नआउँदा उनीहरु दुखी बनेका छन् । 

राजदूतको निष्क्रियता र सार्वजनिक अनुपस्थितिबारे नेपाली लिंकले दूतावासकी प्रवक्ता समेत रहेकी उपनियोग प्रमुख रोशन खनालसंग जिज्ञासा राखेको थियो । उनले राजदूत सुवेदी निष्क्रिय नरहेको बताएपनि नयाँ राजदूतको नियुक्ति भइसकेपछिको ‘ट्रान्जिसनल’ समय भएकाले असहज भएको स्वीकार गरिन् । 

राजदूत सुवेदी स्वयंले पनि आफूनिकटस्थहरुसंग नयाँ राजदूतको नियुक्तिपछि आफू भूमिकाविहिन अवस्थामा रहेको बताउने गरेका छन् । उनी आफू केहि महिनाअघि नै फर्किन चाहेका भएपनि नेपाल सरकारकै निर्देशनबमोजिम कामचलाउ अवस्थामै बेलायतमा रहन बाध्य बनेका हुन् । 

राजदूत डा सुवेदी बेलायतबाट फर्किएपछि परराष्ट्र मन्त्रालयमा जानेछन् । सहसचिवको रुपमा उनले मन्त्रालयको कुनै एक महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । तर उनी फेरि राजदूतकै रुपमा अर्को देश जान सक्ने सम्भावना पनि बलियो ठानिन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू