शुक्रबार, वैशाख ७, २०८१
17:08 | २१:५३

बेलायतमा कोरोना भाइरसबाट एकसातामा ८ हजार बढीको निधन

२४ घन्टामा ५८७ को निधन

नेपाली लिङ्क जनवरी ३१, २०२१

लन्डन  । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण एकसातामा ८ हजार भन्दा बढीको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

जनवरी २५ देखि  ३१ सम्ममा ८ हजार २१९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आइतबार सांझ सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घण्टाभित्र थप ५८७ संक्रमितको मृत्यु भएको छ  ।

अघिल्लो दिन शनिबार मृतक संख्या एक हजार दुई सय थियो । यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख छ  हजार १५८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २१ हजार ८८ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख १७ हजार १७६ पुगेको छ । गएको एकसातामा मात्र एक लाख ६९ हजार ७१४ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ  ।

हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् जुन जनवरी २८ सम्मको तथ्यांकमा आधारित छ ।

यसैगरी २९ जनवरीसम्म तीन हजार ८३२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू