आइतबार, वैशाख ५, २०७८
16:20 | २१:०५

हरियो कांक्रो, जेब्रा क्रसिङ र रातभरिको हिउं

लन्डन डायरी ७

प्रमोदराज न्यौपाने जनवरी ३१, २०२१

हेर्दा हेर्दै यूके आएको पनि ५-६ महिना भइसकेको थियो । सुरु शुरुमा अनौठो लाग्ने कैयन कुराहरु अब सामान्य लाग्दै थिए । जे कुरामा पनि नेपालसंग तुलना गर्ने बानी अब विस्तारै कम हुंदै थियो ।

मलाई राम्ररी याद छ ‘डे लाइट’ सेभिङ भनेर यहां गर्मी र जाडो मौसममा घडीको सुइ नै क्रमशः एक घन्टा अगाडि र पछाडि सारिंदो रैछ । जुन कुरा हामीलाई त्यतिबेला एकदम नौलो लागेको थियो । जसका कारण जाडो महिनामा 
यहांको समय नेपालसंग पौने छ घन्टा पछाडि हुन्थ्यो भने गर्मी समयमा चाहिं पौने पांच घन्टा फरक पर्दथ्यो । जाडो मौसममा दिउंसो तीन बजे देखि नै झमक्कै सांझ परेर साढे तीन हुंदा नहुंदै अन्धकार भइहाल्ने । गर्मीमा चाहिं यसको ठिक विपरित हुने रैछ । राती ९ साढे ९ बजेसम्मै झलमल्ल घाम लागिरहने । यी सबै कुराहरु हाम्रा लागि नौला थिए । कैले काहि सपिङ्गतिर जांदा हामीलाई समयको पत्तै हुन्थेन । बाहिर मजाले घाम लागिरहेको देखिन्थ्यो तर रातीको १० बजिसकेको हुन्थ्यो । एकैचोटी घडी हेर्दा मात्रै झल्यास्स भएर ला ढिलो भइसकेछ भन्दै हतार हतार घर फर्किन्थ्यौं हामी । त्यति बेला हप्ताको १-२ दिन एजेन्सीमार्फत केयरहोमहरुमा पनि काम गर्थें म । बुढाबुढीहरुको सुत्ने समय ८-९ बजे तिर हुन्थ्यो । बाहिर १० बजेसम्म पनि उज्यालै हुने भएकाले उनीहरुलाई सुत्न सजिलो होस् भनेर झ्यालमा लगाइएका बाक्लापर्दाहरु बन्द गरेर कोठालाई अंध्यारो बनाइदिन्थ्यौं।

सुरुका ती दिनहरुमा हामीमा अर्को अचम्मको बानी पनि थियो । कुनै पनि सामान किन्दा वा कतै पैसा खर्च गर्दा हामी तुरुन्तै नेपालीमा कन्भर्ट गरेर कति रुपैयां परयो भनेर हिसाब गरि हाल्थ्यौं । दिमाग त पुरै क्याल्कुलेटर नै बनाएका थियौं हामीले । ओहो एउटा सानो कांक्रोलाई १२० रुपैयां ? यो त महंगो भयो । एउटा कागतीको पचास रुपैयां । हैट यो त कहां खान सकिन्छ ? लौ जाबो तीन स्टप ट्रेन चढेको पनि ४ पाउन्ड । यो त ५०० रुपैयां भन्दा पनि बढी भयो । यसरी पाउन्डलाई तुरुन्तै रुपैयांमा हिसाब गरेर सस्तो हो कि महंगो हो अर्थात आफूले किन्ने कि नकिन्ने निर्णय गर्दथ्यौं ।

अहिले सम्झिंदा लाग्छ वास्तवमा हाम्रो तन यहां भए पनि मन चाहिं नेपालमै थियो । यहांको काम र कमाइ अनि यहांको जीवनशैली र समाजसंग अभ्यस्त भैसकेका थिएनौं । त्यसैले यहां रहंदा समेत नेपालकै अवस्था, आनीबानी र मानसिकताले हामीलाई निर्देशित गर्दो रहेछ । तर, समयक्रम संगै रहंदा बस्दा त्यसरी रुपैंयामा कन्भर्ट गरेर पैसा खर्च गर्ने बानी हराउंदै जाने रैछ । आजकल त नेपालमा पैसा पठाउन 
परयो भने अर्कै कुरा नभए नेपालीमा पाउन्डको भ्यालु कति छ भन्ने पनि खासै याद हुंदैन ।

त्यतिबेलाको अर्को एउटा रमाइलो प्रसङ्ग छ । अहिले सम्झंदा पनि निकै हांसो उठ्दो लाग्छ । इष्टबर्न भन्ने समुन्द्री छेउमा रहेको एउटा टाउनमा बस्थ्यौं हामी । नजिकै सेन्सबरी भन्ने निकै ठूलो सुपर स्टोर थियो । खानेकुरा किन्न हामी प्राय त्यहीं जान्थ्यौं । पहिलोपटक सपिङका लागि जांदा तरकारी सेक्सनमा धेरै थरिका निकै ताजा देखिने फलफूल र तरकारीहरुले हामीलाई बेस्सरी लोभ्याएको थियो । तरपनि हाम्रोतिर पाइने खालका तरकारीहरु भने निकै कम मात्रै देखिन्थे । यस्तैमा एउटा तरकारीमा आंखा परयो जुन देख्दा हरियो घिंरौला जस्तै लाग्थ्यो । प्लास्टिकले निकै कसिलो गरि बेरेको । कुन तरकारी हो थाहा पाउन हामीले मुल्य लेखेर टांसेको छ कि भनेर खोज्यौं । अरुको नाम र मुल्य लेखेको ट्याग थियो खाली त्यहां तरकारीको मात्रै भेटिएन । वल्टाइ पल्टाइ गरेर हेर्दा हाम्रोतिर पाइने घिंरौला भन्दा त अलि फरक नै जस्तो लागे पनि यतातिर यस्तै पाइने होला भन्ने ठानेर किनेर लग्यौं । नयां खालको घिंरौला कस्तो रैछ त आजै चाख्नुपरयो भनेर काट्न सुरु मात्रै गरेका थियौं सबैजना मुर्छा परेर हांस्न थालियो । काटेको एउटा टुक्रा मैले कांचै चपाएर हेरें । यसरी चाखेपछि थाहा भइहाल्यो घिरौला भन्ने ठानेर ल्याएको त कांक्रो पो परेछ । यस्तो किसिमको गाढा हरियो रङको लाम्चो खाल्को कांक्रो हामीले पहिले कहिल्यै देखेका थिएनौं । नेपालमा पाइने कांक्रो त अर्कै खाल्को मोटो र ठूलो हुन्थ्यो । आजकल पनि पसलमा कांक्रो देख्दा कहिलेकाहिं यही कुरा सम्झेर हांसो उठ्छ । घिरौलाको तरकारी खाने इच्छा अधुरै रहे पनि यो नयां खालको कांक्रोलाई नेपाली स्टाइलमा लाम्चो पारेर काटेर नुन खुर्सानीमा डोबेर खांदै नेपाली स्वादको तलतल मेटयौं हामीले  ।

अर्को एउटा प्रसंग जुन निकै रोचक र रोमाञ्चक रह्यो । यस्तो अनुभव र अनुभूति जुन हाम्रा लागि नौलो थियो । यूके आएको सुरुवातको समयमा मेरी श्रीमति केयर गिभरको काम गर्थिन् । एउटा स्टोरमा विकेन्डमा मात्रै काम थियो मेरो । बांकी एक दुई दिन म पनि केयर कै काममा जान्थें । एजेन्सीको अफिस हामी बस्ने घर नजिकै थियो । श्रीमान श्रीमति दुई जनाले धानेको एउटा मध्यमस्तरको एजेन्सी थियो त्यो । बुढोको नाम बिल, त्यस्तै ६० वर्ष जति देखिने रैथाने गोरे थियो भने बुढी जोयस चाहिं नाइजेरियाबाट आएकी त्यस्तै ३५-४० वर्ष जतिकी काली थिइ । गोरेसंग काली त्यो पनि २०-२५ वर्ष कान्छीले बिहे गरेको कुरा हामीलाई शुरुमा अनौठो लागेको थियो । जोयस निकै चलाख फुर्तिली र बोलक्कड थिई । अंग्रेजी पनि निकै राम्रो थियो उसको । कुनै बेला अंग्रेजहरुको उपनिवेश भएकाले प्राय नाइजेरियनहरु राम्रै अंग्रेजी बोल्दा रैछन । बिल भने शान्त किसिमको मिजासिलो थियो । अलि कम बोल्ने तर एकदम हंसिलो खालको थियो । खोइ किन हो हामीलाई 
सारहै आत्मियता देखाउंथे । घर नजिकै भएकाले बाटो पर्दा हामी त्यतिकै हेलो भन्न पस्थ्यौं । गफगाफ र हांसोमजाक पनि हुन्थ्यो । एक किसिमले पारिवारिक जस्तो सम्बन्ध बनेको थियो । कहिलेकाहीं अपर्झट कुनै ठाउंमा पठाउनु परयो भने लौ न आपतै परयो तिमीहरु गइ देऊन भनेर मन जितेर हामीलाई आग्रह गर्थे । हामी पनि सकेसम्म नाइ भन्थेनौं । कहिलेकाहिं यस्तो इमर्जेन्सी कामका लागि केही पैसा पनि थपिदिन्थे ।

मलाई याद छ सुरुका एक दुईवटा सिफ्टका लागि बिल आफैंले उसको गाडीमा राखेर हामीलाई पुरयाइदिएको थियो । रोचक र रमाइलो चाहिं हामीलाई के लाग्यो भने गाडीमा नेभिगेटर हुंदो रैछ । कहां जाने हो ठेगाना टाइप गरेपछि बाटोको नक्सासहित यसले दायां जाउ, बायां जाउ भन्दै गन्तव्य सम्म पुरयाइदिंदो रैछ । कुनै पनि नयां ठाउंमा बाटो नचिने पनि कुनै समस्या नहुने । हामीले नौलो मानेको देखेपछि बिलले हामीलाई यसले कसरी काम गर्छ भनेर सम्झाएको थियो । बेलायतका सबै बाटोघाटो र यसको नाप नक्सा र ठेगाना स्याटेलाइट्मा एन्ट्री गरिएको हुन्छ । त्यही स्याटेलाइटसंग ‘कनेक्ट’ भएर यसले काम गर्छ । यसो भन्दै गर्दा गाडी विस्तारै रोकियो त्यो पनि बिच सडकमा । अगाडि जेब्रा क्रसिङ थियो । एकजना महिला क्रसिङतिर आउंदै गरेको देखियो तर आइसकेकी थिइनन् । बिलले चाहेको भए ती महिला आइपुग्नु अघि नै हामी मज्जाले अगाडि जान भ्याइन्थ्यो । तर, उसले त्यसो गरेन । अगाडि नै रोकेर आरामले कुरेर बस्यो । एकैछिनमा ती महिलाले बाटो काट्न सुरु गर्दै बिल तिर हेरिन् र मिठो मुस्कानका साथ हात हल्लाएर दुईपटकसम्म ‘थ्यांक यू’ भनिन् । बिलले पनि उस्तै मुस्कानका साथ हात हल्लाएर अभिवादन गरयो र ती महिला पुरै बाटो काटेर सडकको अर्को छेउ नपुग्दासम्म धैर्यतापूर्वक गाडी रोकिनै राख्यो । हाम्रो पछाडि अरु ३ ओटा गाडी रोकिएका रहेछन् । कसैले पनि अधैर्य भएर हर्न बजाएनन् त्यहां ।

अब मैले यहां भनी रहनु नपर्ला । यो देख्दा हामीलाई कस्तो लाग्यो होला ? कस्तो सभ्यता ? पैदल यात्रीका लागि यो स्तरको प्रथमिकता हाम्रो कल्पना बाहिरको कुरा थियो । हाम्रो देशमा जेब्रा क्रसिङ मै गाडीको ठक्करले मान्छे मर्छन् । खै के भन्ने । त्यो सम्झेर मन त्यसै त्यसै अमिलो भयो । हाम्रोमा पनि यस्तै भैदिए हुन्थ्यो नि भन्नी लागिरह्यो ।

यसै सन्दर्भमा हाम्रो देशतिरको ड्राइभिङको कुरा पनि निस्कियो । मैले भनें हाम्रोतिर यहांको जस्तो अनुशासित छैन् ड्राभिङ । ट्राफिक नियमको पालना गर्ने कुरामा एकदमै पछाडि छौं हामी । मेरो कुरा सुनेर हांस्दै बिलले भन्यो मैले देखेको छु त्यताको ड्राइभिङ । कसरी ? ‘ह्याब यू बीन टु नेपाल ?’- मैले सोधें । नेपाल त होइन केही समय इन्डिया बसेको छु बिलले भन्यो । त्यसपछि इन्डियामा गाडी चलाउनु कति बहादुरीको काम हो भन्ने कुरा सविस्तार बताएको थियो उसले । बाटोमा मान्छे छल्ने कि, कुकुर छल्ने कि गाई भैंसी ? के मात्रै छल्ने ? एकपटक एउटा हाइवेमा एक बथान गाई गोरुले बाटो रोकेर अगाडि जान नसक्दा पुलिस बोलाउन परेको कुरा बतायो उसले । त्यो सुनेर हामी मरि मरि हांसेका थियौं ।

एकदिन बिहान सबेरै फोनको घन्टी बज्यो । एजेन्सीबाटै थियो । निन्द्रा त अघिनै खुलिसकेको भएपनि जनवरीको जाडो तातो बिस्तारा छोड्न मन थिएन । मैले फोन रिसिभ गर्ने बित्तिकै सधैं जस्तो जोसिलो र आत्मीय भावमा जोएसले भनि- ‘हेलो डार्लिङ गुड मर्निङ ।’ डार्लिङ… शब्द सुनेर मक्ख पर्न अब छोडिसकेको थिएं म । नेपालमा ‘डार्लिङ’ भन्दा अर्कै अर्थ लाग्थ्यो होला तर यहां सबैले सबैलाई अलि आत्मीय भएर प्रस्तुत हुंदा डार्लिङ भन्दा रैछन् । विपरित लिङ्गी र केटी केटी बीच पनि डार्लिङ भनिंदो रैछ । केटाले केटालाई चाहिं यो शब्द प्रयोग गरेको सुनिएन । जोयसको जोसिलो गुड मर्निङलाई हामीले पनि उत्साहपूर्वक नै फर्कायौं । वास्तवमा उसको फोन आउने बित्तिकै ल काम आयो है भनेर दङ्ग पर्दयौं हामी । किनकी हप्ता भरिको कामको लिस्ट हामीलाई पहिले नै मेसेजमा आउंथ्यो । यसरी फोन आउने भनेको आजको आजै कुनै सिफ्ट अपर्झट कभर गर्नु परयो भने मात्रै हो । भर्खर भर्खर यूके आएको । हामी कामका लागि जतिबेला पनि तयारै हुन्थ्यौं।

यस्तो इमर्जेन्सी कल गर्दा प्रायः सिधै कामको कुरा गर्थी उ । तर आज भने यस्तो लाग्थ्यो कि उसलाई कुनै हतार थिएन । उसले सोधी, के छ हालखबर ? सबै ठिकै छ ? मैले सामान्य उत्तर दिएं- अ ठिकै छ जोयस । एन्ड हाउ आर यू ? उसले हल्का हांस्दै भनि- मेरो त ठिकै छ । अनि तिमीहरु उठिसक्यौ कि बेड मै हो ? 
मैले भने, ‘होइन होइन उठिसक्यौं हामी ।’ 
ओके, बेड छोडेका छैनौं त्यसो भए ? उसले फेरि थोरै जिस्काए जस्तो गरि हांस्दै सोधी । 
अब भने अचम्म मान्दै हामी बुढाबुढी मुखामुख गर्यौं । हामीलाई लाग्यो कामको कुरा नगरेर यति धेरै लम्बेतम्बे कुरा किन गर्दैछे आज ? यस्तैमा उसले फेरि भनि केमाला खोइ त ? मेरी बुढी कमलालाई उ केमाला भन्थी । हेलो जोस आम हियर लिसनिङ टु यू । कमलाको स्वर सुनेर जवाफमा उसले हांस्दै भनि- ‘हाइ डार्लिङ्ग केमाला ।’ बुढी संग एकछिन् सन्चो बिसन्चो सोधे पछि बल्ल ठाउंमा आइ ऊ र भनि- सनराइजमा दुबै जनाको लागि सिफ्ट छ अहिले आठ बजेदेखि । 
जाने हो ? सक्छौ ? या या नो प्रोब्लम जोयस । ‘वी क्यान’ बुढीले सधै जस्तो सहजै भनी । ह्वाट अबाउट प्रमाउड ? उसले फेरि सोधी- ‘इज ड्याट ओ के ?’ मैले पनि किन नाईं भन्थे र । आखिर काम नै के थियो र ? मैले हल्का ठट्टा गर्दै भने- ‘ल ल अब फोन राख जोयस । हामीलाई काममा जान तयार हुनु परेन ?’ त्यो सुनेर उसले लामो हासो पछि भनि तिमीहरुको झ्यालमा पर्दा खुल्ला छ ? 
छैन् बन्द छ । किन र जोयस ? उसको अप्रत्यासित प्रश्नको जवाफमा भनें मैले ।
 ल एकचोटी पर्दा खोलेर बाहिर हेर त । अचम्म मानेर किन र जोयस भन्दै कमला उठेर झ्यालतिर गइ । पैला खोलेर त हेर । जोयसको हांसो मिश्रित आग्रह सुनेपछि उत्सुक हुंदै म पनि उठ्दै थिए । एक्कासी झ्यालबाट कमलाको आवाज आयो । ‘ओ माइ गड हेर्नुस् त के अचम्म हो ।’ ठूलो स्वरमा चिच्याए पनि त्यसमा उत्साह थियो । रोमाञ्च, उत्सुकता र आश्चर्य भाव थियो । त्यसैले मैले सहजै अनुमान लगाए कि जे भए पनि नराम्रो कुरा चाहिं पक्कै होइन । हत्तारिएर झ्यालको अर्को साइडबाट बाहिर हेरें ।

सांच्चै नै अचम्मै भएको रैछ । पुरै सेताम्मे थियो । रातभरी यति धेरै हिउं परेछ कि घरका छाना, बाटो, गाडी र रुख बिरुवा पुरै हिउंले पुरिएका थिए । जतासुकै सेतै सेतो । एक्दमै आंखै खाने गरि उज्यालो देखिने रैछ । राती सुत्ने बेलासम्म चिसो त थियो हिउं पर्ने त्यस्तो खासै संकेत थिएन । काठमाडौंमा कैले काहीं नगरकोट र शिवपुरीतिर हिउं परेको बाहेक यसरी शहर बजारकै बस्तीहरु हिउंमा डुबेको आफ्नै आंखा अगाडि हामी पहिलो पटक देख्दै थियौं । त्यसैले आंखाले भ्याएसम्म झ्यालबाट बाहिरको त्यो अनुपम दृश्य को आनन्द लिन भ्याइ नभ्याइ भयो हामीलाई ।

हामीलाई सरप्राइज दिएपछि फोन लाइनमा जोएस एकतमासले हासिरहेकी थिइ । अब भने बल्ल मेरो दिमागमा घन्टी बजेको थियो । सिधै काममा जाउ नभनेर घुमाइ फिराइ मस्का लगाउनुको कारण यस्तो पो रैछ । हामी अनाडीहरु भने बाहिर के हाल छ कुनै अत्तोपत्तो नभएर काम पाइयो भनेर हत्त न पत्त सजिलै हुन्छ भनिएछ । अब भने जोयस हांस्न छोडी र हामीलाई सोधी ल भन अब जान्छौं त काममा ? हामी एकछिन अक्क न बक्क परयौं । हाम्रो अप्ठेरो बुझेर उसले सम्झाउंदै भनी हिउंले गर्दा बाटो पनि बन्द छ । ड्राइभ गरेर टाढाबाट आउनेलाई पठाउन सकिन्न । सिफ्ट सनराइजमा हो । तिमीहरु त पैदल दुरीमै छौ । हिंडेर जान सक्छौ । त्यहांका थुप्रै स्टाफ काममा आउन नसकेकाले सकेसम्म हामीले कभर गरिदिनु पर्ने भयो । सक्छौ भने दुवैजना जाउ बरु म दुई-दुई घन्टा एक्स्ट्रा पे गरुंला ।

हामीले सोच्यौं यो त झनै राम्रो भयो । यसै पनि हामीलाई कति खेर बाहिर निस्किंउ र हिउंसंग खेलौं जस्तो भैराको थियो । काममा जांदा सबैतिर हिउं परेको देख्न पाइने र रमाइलो पनि हुने । त्यसैले हामी काममा जान तयार भयौं। त्यो सुनेर जोयस पनि दङ्ग परि । बाहिर हिउंको वर्षात थियो । यता भने अब जोएसको धन्यवाद र डार्लिङ शब्दको वर्षात फेरि सुरु भयो । फोन राख्नु अघि उसले आफ्नोपन देखाउंदै भनि, हिउंमा चिप्लन सक्छ अलि होश गरेर हिंड है । ल त बाइ फर नाउ । ‘सि यू लेटर’ भन्दै फोन राखी ।

सकेसम्मको न्यानो कपडा लगाएर निस्क्यौं हामी । फुटपाथमा हिंड्न निकै मुश्किल थियो । बजार क्षेत्रमा मान्छेहरु हिंडेपछि हिउं थिचिएर चिप्लो बरफ जस्तो बन्दो रैछ । हामीले लगाएको जुत्ता सामान्य खालको थियो त्यसमाथि यस्तो चिप्लोमा हिंड्ने बानी पनि नभएकोले निकै होश गरेर हिड्यौं हामी । अलि पर घांसे मैदानमा दायां बायां जङ्गलका रुखहरु हिउं जमेका कारण सेतो चम्किलो कार्पेट्मा हरियो र सेतो रंगको छिर्केमिर्के पछ्यौरा ओढेर उभिए जस्ता देखिन्थे । हिउं बाक्लो नभए पनि अलि अलि फुस फुस अझैपनि परि रहेकै थियो । हिउं परिरहेकै बेला भने धेरै चिसो अनुभव नहुने रैछ । हामीले पछि थाहा पायौं हिउं पग्लन सुरु भएपछि बल्ल धेरै चिसो लाग्ने रैछ । वस्ती नभएको त्यो बाटो जति अगाडि गयो त्यतिनै धेरै हिउं थुप्रिएको देखियो । कति ठाउंमा फुटपाथमा पनि घांस नै थियो । यस्तोमा त झन् हिउं घुंडा घुंडासम्मै आउंथ्यो । जुत्ता सामान्य खालको भएकाले भित्र मोजासम्म भिज्ने गरि चिसो भइसकेको थियो । केयर होम पुग्ने बेला घांसे मैदानको बीचबाट छोटो बाटो जान खोज्दा हिउंमा खुट्टा गढेर अगाडि जानु कि पछाडि फर्कनु जस्तो स्थिति समेत भएको थियो ।

मलाई अझै पनि याद छ काममा पुग्ने वित्तिकै हतार हतार जुत्ता खोलेर भिजेको मोजा ब्यागमा राखी सिधै जुत्ता मात्रै लगाएर ८ घन्टा काम गरेका थियौं । यहांका घरहरु तताएर न्यानो बनाइएको हुन्थ्यो त्यसमाथि यस्ता केयर होमहरु त झन् बढी न्यानो बनाएर राखिएका हुन्थे । त्यसैले मोजा नलगाइ जुत्ता मात्र लगाएर काम गर्दा पनि धेरै अप्ठेरो चाहिं भएन । यो ठाउंमा पहिला पनि धेरैपटक काम गरिसकेकाले प्राय सबै स्टाफसंग हाम्रो चिनजान थियो । हिउंका कारण त्यहांका नियमित केही स्टाफहरु आउन नसकेकाले हामीलाई बोलाएका थिए उनीहरुले । यति छोटो नोटिसमा पनि हामी समयमै सिफ्ट कभर गर्न पुगेकोमा उनीहरु खुशी भए र म्यानेजरले सुरुमै धन्यवाद भने । साथमा ठट्टा गर्दै भने, ‘तिमीहरुको लागि त यस्तो हिउं त सामान्य होला है ?’ हामीले जवाफ दिन नभ्याउदै एउटी गोरी सुपरभाइजरले थपि, ‘तिमीहरु त हिमाल पनि चढ्यौ होला है ? माउन्ट एभरेष्ट पनि गयौ होला नि ।’ त्यो सुनेर मलाई मनमनै निकै हांसो उठेको थियो । उनीहरुको सोचाई भन्दा यथार्थ कति फरक थियो । विचरा हाम्रो अवस्था बत्ती मुनिको अंध्यारो जस्तै थियो । हिमाल चढ्नु त धेरै परको कुरा मौसम सफा हुंदा काठमान्डूबाट उत्तरतिर देखिने र पोखराको माछापुछ्रे हिमाल भन्दा यो आंखाले आजसम्म अरु कुनै हिमाल देख्या पनि छैन् । हिमाल चढि सक्यौ होला है भनेर सोध्नेलाई कसरी भन्नु कि मैले त आजसम्म नजिकबाट हिमालै देखेको छैन् । त्यसैले मैले हल्का गफ दिंदै भने, ‘हिमाल त चढेको छैन् तर एभरेष्टको बेस क्याम्प नजिकै पुगेको छु ।’ झुटो कुरा सुनेपछि कमलाले मलाई आंखा तरि । तर उनीहरु भने  झनै उत्साहित देखिए । एउटीले भनि, ‘एभरेष्ट बेस क्याम्प मैले फिल्ममा हेरेको छु । वाउ आइ कान्ट एक्स्प्लेन । इट लुक्ड सो ब्यूटीफुल ।’ त्यो सुनेर अर्कीले थपी, ‘एकदिन म पनि जान पाए कस्तो हुन्थ्यो होला ।’ यो सबै सुनेर म्यानेजरले सोध्यो- कस्तो अनुभूति हुन्छ त्यहां पुग्दा ? मैले कुराकानी छोट्याउन खोज्दै भने, ‘एकदम अलौकिक र अनुपम । वास्तवमा यो शब्दमा बयान नै गर्न सकिन्न । यस्तो लाग्छ कि हामी अर्कै संसारमा छौं । अर्कै ग्रहमा छौं ।’ तर, यो आफैंले अनुभव गर्नुपर्छ अरुले भनेर हुंदैन भन्दै कुरा टुङग्याउन खोजें मैले । के गर्नु आफूले देखेको भोगेको भए पो धेरै कुरा गर्नु । अरुलाई ढांटे पनि आफैंलाई ढाट्न त कहां सकिन्छ र ? झुठो कुरा गरेकोमा मनमनै अप्सोच पनि लाग्यो । ‘नजिकको तीर्थ हेलां’ त्यसै भनेको होइन रैछ । संसारभरिका प्रकृतिप्रेमी र साहसिक पद् यात्रीहरु र हिमाल आरोहीहरुका लागि स्वप्निल गन्तव्यका रुपमा रहेको आफ्नै देशका यी अनुपम हिमश्रृंखलाहरुको सौन्दर्यलाई अहिलेसम्म स्पर्श गर्न नसकेकोमा आफैंलाई धिक्कार पनि लाग्यो ।

८ घन्टाको काम सकेर हामी बुढाबुढी बाहिर निस्कंदा 
हिउं पर्न रोकिएको थियो । बिहान भन्दा अहिले मानिसहरुको चहल पहल बढेको थियो । मान्छेहरु हिंडेको ठाउँमा हिउँ दबिएर गोरेटो बाटो जस्तो बनेको थियो । बिहान आएको बाटो भन्दा फरक अलि धेरै वस्ती भएको बाटो हुंदै घर फर्किंदा हिउं पर्न रोकिएर टाढा टाढासम्म सफा, स्निग्ध र छ्याङ खुलेको आकाश मुनि सेता हिउंले छोपिएर उज्यालो र चम्किलो देखिने वस्ती, बाटोघाटो, पार्क र जङ्गलको सुन्दरताले मन फुरुङ भयो । 
मुख्य सडकहरुमा गाडीहरु दौडिरहेकै थिए । हिउं पर्ने संकेत पाएपछि अघिल्लो दिन नै यस्ता सडकहरुमा ट्रकमा नुन राखेर छर्किंदा रैछन् जसले गर्दा हिउं जम्न नदिएर पगाल्दो रैछ । तर भित्री सडकहरु भने सेताम्मे थिए । कतिपय मानिसहरु आफ्नो घर अगाडि थुप्रेको हिउं सफा गर्दै थिए । दुई पाखे र चार पाखे टायल र ढुङाले छाएका घरहरुका छाना हिंउले सेताम्मे हुंदा सांच्चिनै मनमोहक देखिंदा रैछन् । घर अगाडि र बाटोका दायांबायां लाइनै पार्क गरिएका गाडीहरु हिउंले यसरी छोपिएका थिए कि झट्ट हेर्दा साना साना हिउंका थुम्काहरु जस्ता देखिन्थे । नजिकै समुन्द्र थियो । त्यसै पनि चिसो सिरेटो चल्ने ठाउं यो, हिउंले ढाकेको यस्तो बेला त झन् हावा बढी चिसो र ठिहिराउने खालको हुंदो रैछ ।

बार्है महिना हिउंले ढाकिने संसारकै सबैभन्दा अग्ला दश मध्ये सर्वोच्च शिखर सगरमाथासहित ८ ओटा उच्च हिमालहरुको सुन्दर हिमश्रृङखला शिरमा बोकेको देश नेपालबाट आएका हामी बेलायतमा वर्षको एक दुईपटक थुप्रिने हिउं देखेर दंग पर्दैछौं र भन्दैछौं आहा कति राम्रो हिउं परेको । कस्तो राम्रो देखिएको । र, हिंउमा खेल्न त झन् कस्तो मज्जा आएको ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू