बिहीबार, चैत १५, २०८०
18:05 | २३:५०

‘गोर्खाली चेली’ जोआनासंग कफी गफको अवसर जुराउंदै गोर्खा वेलफेयर ट्रष्ट

नेपाली लिङ्क जनवरी २८, २०२१

लन्डन । भूतपूर्व गोर्खा र तिनका परिवारको बेलायतमा आवासीय अधिकार प्रसंग आउनासाथ धेरैले एउटा नाम सम्झन्छन् जोआना लुम्ले । लोकप्रिय ब्रिटिश अभिनेत्री लुम्ले गोर्खाहरुकै शब्दमा गोर्खाली चेली हुन् । गोर्खा ब्रिगेडकी छोरी जोआनाको साथ नभइदिएको भए भूतपूर्व गोर्खा र तिनका परिवारलाई बेलायतमा आवासीय अधिकार कल्पना बाहिर हुन सक्थ्यो ।

तिनै अभिनेत्री लुम्लेसंग चिया गफ गर्ने एउटा अवसर आएको छ । गोर्खा वेलफेयर ट्रष्टले गोर्खा भेट्रानहरुको सहयोगार्थ एक ‘राफल ड्र’ गर्दैछ र राफल ड्रका भाग्यशाली विजेता र एक अर्को साथीले जोआनासंग कफी गफ गर्न पाउनेछन्, त्यो पनि सेन्ट्रल लन्डनको विश्वविख्यात ‘रिट्ज होटल’ मा ।

विशेषगरि आफ्नो दैनिक गुजारा टार्न समेत समस्या झेलिरहेका नेपालको दुर्गम गाउंका भूतपूर्व गोर्खा तथा तिनका परिवारको सहयोगार्थ राफल ड्र गर्न लागिएको गोर्खा वेलफेयर ट्रष्टले उल्लेख गरेको छ । बेलायती साम्राज्यको रक्षार्थ दुई सय वर्षभन्दा बढी समय लडेका साहसिक तिनै गोर्खा योद्धाका लागि सहयोग जुटाउन गरिएको ‘राफल ड्र’ इन्ट्रीका लागि जम्मा पांच पाउण्ड शुल्क छ  ।

अनलाइनमार्फत दर्ता गर्न सकिने उक्त ‘राफल ड्र’ मा सहभागी हुन  यहाँ क्लिक  गर्नुहोला । १८ वर्ष भन्दा माथिकाले आउँदो फेब्रुअरी २८ तारिखसम्म राफल ड्रमा सहभागी हुन सक्नेछन् ।

राफल ड्रको नतिजा आउँदो मार्च २ तारिख सार्वजनिक गरिने गोर्खा वेलफेयर ट्रष्टले बताएको छ । तर, कोरोना महामारीका कारण आगामी मार्चमा हुने पूर्व निर्धारित विजेता र लुम्लेसंगबीचको भेटघाट भने प्रभावित हुन सक्ने चिन्ता गोर्खा वेलफेयर ट्रष्टको छ ।

बेलायतमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको गोर्खा वेलफेयर ट्रष्टले लामो समयदेखि नेपालस्थित भूतपूर्व गोर्खा, तिनका परिवार र स्थानीय समुदायलाई आर्थिक तथा विकास सहयोग, औषधि, खानेपानी, सरसफाइ आदिमा सहयोग गर्दै आएको छ ।

लुम्ले सन् २००९ देखि गोर्खा वेलफेयर ट्रष्टको एक संरक्षकका रुपमा छिन् । उनका पिता पनि छैटौं गोर्खा राइफल्समा आवद्ध भूतपूर्व ब्रिटिश सैनिक हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू