शुक्रबार, मंसिर २१, २०८१
18:03 | २३:४८

जिन्दगी चलिरहन्छ !

डा बच्चु कैलाश कैनी जनवरी १९, २०२१

जिन्दगीको रीत नै चल्नु हो । सुखमा वा दुःखमा, दिनमा वा रातमा, यसरी वा त्यसरी वा जसरी भएपनि जिन्दगी चलिरहन्छ । जिउनेको नाम जीवन हो । जीवन चलाउनेको नाम जिउनु हो । जसरी जे भने पनि हुन्छ । जीवन चलेको छ र हामी ज्युँदो छौं । अथवा, हामी ज्युँदो छौं र हाम्रो जीवन चलेको छ ।

अहिले विश्व कोरोना भाइरस महामारीको संकटमा फसेको बेला लाग्छ हामी केवल जिउनको लागि मात्रै जीवन चलाएका छौं । सबै कुरा रोकिएको छ, तर पनि जीवन चलेको छ । कसैलाई थाहा छैन कति बेलासम्म कसरी जीवन चल्ने हो । त्यसैले अहिले सबैलाई लागेको छ, जिन्दगी चलिरहन्छ । तर, कसैलाई थाहा छैन भविष्यमा जीवन कसरी चल्छ ?

हरेक मानिसको जीवन चलाउने फरक फरक उद्धेश्य भएपनि दलाई लामाले भने जस्तै जीवनको मुख्य उद्देश्य खुशी हुनु हो । संकटको यो बेलामा अहिले यो भनाइ सबैको लागि मिलेको छ । फरक फरक रीत, आशा, महत्वाकांक्षा, विचार र उद्धेश्य लिएर हिंडेका हामी सबैको एउटा उद्धेश्य कोरोना भाइरसबाट बच्नु रहेको छ र जीवनमा खुशीको बहार ल्याउनु भएको छ ।

जीवनको बारेमा धेरै कुरा लेखिएका छन् । साहित्य, धर्मग्रन्थ, आख्यान, दर्शनशास्त्र आदि जस्ता धेरै विधामा जीवनको बारेमा धेरै कुराहरु उल्लेख गरिएको छ । सायद, जीवनको बारेमा जति लेखिएको छ त्यति अरु कुनै बिषयमा पनि लेखिएको छैन होला । त्यसैले मेरो उद्धेश्य जीवन दर्शनको बारेमा थप प्रकाश पार्नु हैन कि अहिलेको विषम परिस्थितिमा मेरो व्यक्तिगत विचार र अनुभव पोख्नु हो ।

कतिले जिन्दगी चलाउनको लागि चलाउँछन् । कतिले अरुको जिन्दगी चलाउन मद्धत गर्दै आफ्नो जीवन चलाउँछन् । कतिले आफ्नो जिन्दगी चलाउन अरुको साथ र सहयोगको अपेक्षा गर्छन् । आजको अवस्थामा त्यस्तो अपेक्षा कतिको लागि अनिवार्य भएको छ । जीवनमा कठिन परिस्थितिको सामना गर्नु परेको हुनाले व्यक्ति, समाज वा राष्ट्रबाट त्यस्तो सहयोगको अपेक्षा राख्नु स्वाभाविक पनि हो । यस्तो कठिन परिस्थितिमा जिन्दगी चलाउन सहयोग लिने र दिने दुवै पक्षको परीक्षण हुँदैछ । मानसिक वा भौतिक रुपमा सहयोग गर्दै कसैको जिन्दगी चलाउन सहयोग गर्ने र मानवियताको परिचय दिने मौका पनि यही हो ।

जिन्दगी आफैं चल्छ, तर माथि उल्लेख गरिएको प्रसंगमा जिन्दगी आफैं चल्दैन पनि । जीवन चलाउनको अरु धेरैको साथ र सहयोग सहयोग पाउनु जरुरी हुन्छ । विश्वमा कोरोना भाईरसबाट संक्रमित लाखौँ बिरामी स्वास्थ्यकर्मी, अस्पताल र प्रविधीको सहयोगमा जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका छन् । त्यस्तै लाखौँ स्वंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आदि मानिसहरु अरुलाई संक्रमणबाट बचाउन र मान्छेको जीवन बचाउनको लागि दिन रात खटिएका छन् । कसैको सहारामा जीवन चलेको यो त एउटा उदाहरण मात्रै हो ।

आपतविपत परेपनि जिन्दगी चलिरहन्छ । तर, सहज र सफल जिन्दगी चलाउनको लागि धेरै कुरा सिक्नु जरुरी हुन्छ । यो संकटको बेला समयले नयाँ नयाँ कुराहरु सिकाएको छ । जीवन दर्शन, आपसी भाइचारा, पारिवारिक सामिप्यताको महत्व, धैर्य, माया, मोह आदि कुरामा नयाँ नयाँ दृष्टिकोणबाट चर्चा गर्न थालिएको छ । मानिसको भोगाइअनुसार समयले सिकाउँदो रहेछ जीवन जिउने कला ।

जिन्दगीमा आफैंले बोलेको आफैं सुन्ने हो भने केही सिक्न सकिंदैन । केही सिक्नको लागि धैर्यपूर्वक सुन्ने बानी पनि बसाउनुपर्छ । यो संकटको बेला वा मानिसको धैर्यको परीक्षण भइरहेको बेला जीवन चलाउनको लागि केही आधारभूत तर महत्वपूर्ण कुराहरु सिक्ने मौका पनि हो । आफ्नो लागि मात्रै हैन, आफ्नो परिवार, समाज, संकटमा जकडिएको समूह, राष्ट्र र सम्पूर्ण मानव र जगतको लागि केही गर्ने मौका हो यो । अर्थात् जिन्दगी चलाउने चुनौतीलाई अवसरमा बदल्ने मौका हो ।

सबैको लागि जिन्दगी चलाउने क्रममा जीवनको कयौं मोडमा खुशीका क्षण मात्रै हैन, समस्याहरु पनि आइपर्छन् । समस्याबाट भाग्ने हो भने जीवनको अर्थ छैन । त्यसैले जीवन चलाउनु भनेको समस्यालाई भोग्नु र समस्यासंग जुध्नु पनि हो । आफ्नो कर्म गर्नु छँदैछ, सफल र असफल हुने कुरा केवल परिणाम हो । अर्थात् गीतामा उल्लेख गरेजस्तै कर्म गर फलको आशा नगर जस्तै हो जीवन ।

साइकल चढे जस्तै हो जिन्दगी चलाउनु । यदि साइकललाई सन्तुलित बनाउने हो भने चलाउनुपर्छ, स्थिर साइकल बिना आड वा भरोसा ढल्छ । जब जीवन स्थिर हुन्छ, सबै समाप्त हुन्छ । लाग्छ, कोरोना भाइरसको कारण संसार रोकिएको छ तर साइकलरुपी जीवन कुनै न कुनै रुपमा आरोह वा अवरोह, सुख वा दुःख, सन्तोष वा असन्तोष भोग्दै वा पार गर्दै गन्तब्य तिर हिंड्दैछ । हो, यो अवस्थामा पनि सबैको जिन्दगी चलिरहेको छ ।

जिन्दगीलाई कसरी हेर्ने सबैको आआफ्नै दृष्टिकोण, विचार र सोचाई छन् । आफ्नो भोगाइ र महत्वाकांक्षाले निर्धारण गरेको मापदण्ड अनुसार परिभाषित हुन्छ मान्छेको जिन्दगीको अर्थ वा जिन्दगीको सफलता र असफलता । अहिले संकटको अवस्थामा पनि त्यस्तै छ । कसैलाई दुई छाक टार्नु नै जिन्दगीको सफलता हो, कसैलाई आफ्नो र आफन्तको सुरक्षित बसाई नै जिन्दगीको उद्धेश्य हो । कसैलाई घरबाट निस्कनु ठूलो रहर होला त कसैलाई काममा फर्कनु ।

जान्ने हो भने सरल छ जिन्दगी । वा, सरल रुपमा चलिरहन्छ जिन्दगी । मान्छेको जीवन आफैले जटिल बनाएको हो । जटिल यो हदसम्म कि न मान्छेलाई आफ्नै विगत हेर्ने फुर्सद छ, न वर्तमानमा जिउने फुर्सद नै छ । न आफ्नाको ख्याल राख्ने सोच छ, न आफ्नो समाजको । मान्छे केवल भविष्यको लागि पद, पैसा र शक्तिको पछाडी दौडेको छ । जसले गर्दा मानवीय संवेदनामा थप चुनौती देखा परेको छ । कोरोना भाइरसको कारण देखा परेको संकटले मान्छेलाई यी कुराहरुमा सोच्न बाध्य पारेको छ ।

खुशी जीवन बाँच्नको लागि पैसा, पेसा र सफलाताको खासै हात हुँदैन भन्ने सिकाएको छ यो संकटले । पैसा जीवन जिउनको लागि चाहिने श्रोत हो, तर मान्छेको खुशीको लागि चाहिने अपरिहार्य साधन हैन भन्ने कुरा किताबमा पढ्ने हामी सबैलाई यो आफैंले भोग्ने मौका मिलेको छ । कति भन्दैछन् एउटा अदृश्य भाइरसले सारा संसार हल्लाएर मानवीय सभ्यतालाई चुनौती दिन सक्छ भने अरु धन, सम्पत्ति, लोभ लालचको के कुरा गर्नु ?

भगवान गौतम बुद्धले भन्नुभएको थियो, ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, खुशी सबै भन्दा ठूलो धन हो र वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो ।’ यो संकटको अवस्थामा सबैलाई आफ्नो स्वास्थ्यको चिन्ता छ । कसरी स्वस्थ रहने र आफ्नो स्वास्थ्यको प्रतिरक्षा प्रणाली दह्रो पर्ने सबैलाई चिन्ता छ ।अहिले बाँचिए पछि सबै कुरा भोग्न र देख्न पाइन्छ । धन दौलत सबै व्यर्थ भइसक्यो यदि कोरोनाको त्रासमा जिन्दगी बाँच्ने हो भने । अहिले सबैलाई बोध हुँदैछ, परिवार भन्दा ठूलो अरु केही रहेनछ । सबैले जीवनमा अहिले स्वास्थ्य, खुशी र सम्बन्धलाई जोड दिन थालेका छन् ।

जीवन एकपटक मात्रै बाँचिन्छ । दोश्रो जीवन भोग्ने कुराको कुनै ग्यारेन्टी छैन । जीवन एकपटक बाँच्नु नै काफी छ, यदि सही जीवन जिउने हो भने । त्यसैले जीवन चलिरहन्छ, तर कसरी चलाउने त्यो आफैंमा भर पर्ने कुरा हो । सकारात्मक सोच्ने, सबैको हितको लागि काम गर्ने र जिन्दगी चलाउने मौका हो यो । श्वास रहेसम्म चल्ने यो जिन्दगी सार्थक वा निरर्थक बनाउने काम आफ्नै हो । मेरो शुभकामना छ, यो संकटको बेलापनि सकारात्मक सोच्दै तपार्इं हामी सबैको जिन्दगी सार्थक रुपमा चलिरहोस् ।

( डा कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह-प्राध्यापक हुन् )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू