शनिबार, वैशाख १५, २०८१
22:18 | ०३:०३

बेलायतका नेपाली भर्चुअल ध्यान र योग गर्दै

नेपाली लिङ्क जनवरी १८, २०२१

लन्डन । कोभिड १९ महामारीका कारण यतिखेर मानव 
जीवनशैली खुम्चिएको छ । आफन्त, साथीभाइ भेटघाट शून्य छ, सोसलाइज गर्ने माहोल छैन । कतिलाई आफन्तजन गुमाउंदा असह्य पीडा छ, कतिलाई जागिर गुमेर संकट ।

यस्तो असहज परिस्थितिमा अहिले बेलायतका नेपालीले आफ्नो मन शान्त राख्ने उपाय रोजेका छन् भर्चुअल ध्यान र योगा ।

अचेल नियमित भइरहेका त्यस्ता कार्यक्रममा बेलायतको नेपाली समुदाय पनि आकर्षित हुन थालेको छ ।

सोसाइटी अफ नेप्लिज  फ्रोफेशनल्स यूकेका पूर्व उपाध्यक्ष दीप गिरीलाई चार वर्षअघिसम्म ध्यान वा योगप्रति चासो नै थिएन । ४ वर्षअघि भारतबाट आएका गुरु डा. अवधूत  बाबा शिवानन्दको प्रवचनपछि उनी ति गुरुका ‘फलोअर’ भए । पछि उनले नेपाली गुरुहरुबाटै ध्यान र योगा गर्न थाले ।

‘अहिले त बरु खाना छुट्छ, ध्यान छुट्दैन्’, जीवन विज्ञान यूकेले हालै आयोजना गरेको भर्चुअल शिविरमा सहभागी गिरीले भने, ‘स्वास्थ्य तन्दुरुस्त राख्न, महामारीका बेला इम्यूनिटी पावर बढाउन, अनुहारमा चमक, जोस जांगर र आत्मविश्वास जगाउन पनि योग र ध्यान अत्यावश्यक रहेछ ।’ यी कर्मले चिन्ता व्यवस्थापन भई जीवन आनन्दसंग बिताउन सकिने विश्वास उनमा छ ।

गत फेब्रुअरीमा दर्ता भइ क्रियाशिल रहेको जीवन विज्ञान यूके नामक संस्थाले लकडाउनका बेला भर्चुअल ध्यान र योगलाई निरन्तरता दिएको छ । उसले हालैमात्र ९ दिने वर्कसप र २१ दिन लामो योग सेसन आयोजन गरयो  । संस्थाले नोभेम्बर २१ देखि २९ सम्म पहिलो, गत डिसेम्बर २५ देखि जनवरी ३ सम्म दोश्रो र तेश्रो स्व संवाद कार्यक्रम आगामी जनवरीमा ३० देखि फेब्रुअरी ७ सम्म सञ्चालन गर्न लागेको छ । पहिलोमा ५२ जना सहभागी भए भने दोश्रोमा करिब सयजना सहभागी थिए ।

संस्थाको दैनिक कार्यक्रम जीवन विज्ञान प्रशिक्षिका सरिता शर्माले गरिरहेकी छन् भने स्वसंवाद नेपालका गुरुदेवहरुबाट हुन्छ ।

जीवन विकास विशेषज्ञहरु रमेश नेपाल र एलपी भानु शर्मा

गत वर्ष नेपाल गएर वोध विज्ञान, लय विज्ञान, चक्र विज्ञान साधना प्रशिक्षक प्रशिक्षण पूरा गरि २१ दिन तालिम लिएर लन्डन आएपछि आफूमा धेरै परिवर्तन आएको बताउंछिन् शर्मा । उनले जीवन विज्ञान यूके स्थापना गर्दा जम्मा तीनजना साथमा थिए । अहिले शर्मालाई भ्याइनभ्याइ छ ।

कोरोनाले मानिसहरुमा डर, त्रास सिर्जना हुने क्रम बढेपछि अहिले आफूहरुले सातै दिन दैनिक डेढ घण्टा योग, प्राणायम र ध्यान गरिरहेको शर्माले जनाइन् । ति सेसनमा दैनिक सहभागिता झण्डै ५० हाराहारी छ ।

‘विश्व स्वास्थ्य संगठनले पनि शारीरिक, सामाजिक, मानसिक र आध्यात्मिक तवरले स्वस्थ मानिस नै पूर्ण स्वस्थ हो भनेको छ । तर हामीले आध्यात्मिक स्वास्थ्य तर्फ बेवास्ता गरेका छौं’, शर्माले भनिन्, ‘त्यसकारण यो अति आवश्यक छ । कोरोनाले श्वासप्रश्वासमा असर गर्ने भएकाले अहिलेको महामारीमा प्रणायाम झन् एकदम महत्वपूर्ण छ ।’

कार्यक्रममा सहभागी हुनेहरु कृतज्ञ र उनीहरुको जीवनमा धेरै परिवर्तन आएको दावी शर्माको छ । ‘स्वसंवाद कार्यक्रममा सहभागी सबै खुशी छन् । शुरु शुरुमा हात चलाउन नसक्ने, बस्न उठ्न गाह्रो  हुनेहरु अहिले डेढ घण्टामा सबै क्रिया गर्न सक्ने भएका छन् । निन्द्रा नलाग्ने समस्याबाट छुट्कारा मिलेको छ । कतिले स्लीपिङ ट्याबलेट छोडेका छन्’, उनले यसका सकारात्मक पक्ष औंल्याइन् ।

जीवन विज्ञान भनेको आफैलाई अध्ययन गर्ने विज्ञान रहेको बताउंछिन् उनी । उनले भनिन्, ‘हामीले कहिल्यै आफ्नो शरीर, मन, भावना र चेतनालाई अध्ययन गरेनौं ।’ अधिकांश मानिसमा अध्यात्म भन्ने बित्तिकै घर परिवार, पेशा, धर्म सबै छोडेर जानुपर्ने र यो बुढेशकालमा गर्नुपर्छ भन्ने गलत सोच रहेको उनको बुझाइ छ ।

‘घरैमा बसेर आफू जुन अवस्थामा छौं त्यही योग, ध्यान  गर्न सकिन्छ । योग बुढेशकालमा गर्ने होइन । बरु उमेर छंदै गरे बुढेशकालमा पनि हात खुट्टा चलाउन सकिन्छ’, शर्माले बताइन् ।

सोसाइटी अफ नेप्लिज प्रोफेशनल्स यूकेकी सहसचिव एवं तथा उक्त संस्थाको आध्यात्मिक कार्यक्रम संयोजक सविता गिरी बेलायतका साथै युरोपका नेपालीमा यसप्रति चासो बढेको र यो अत्यावश्यक भएको पनि बताउंछिन् । ‘यसबीचमा बेलायत र युरोपबाट पनि धेरै नेपालीहरु जोडिनुभएको छ र उहांहरु सन्तुष्ट हुनुहुन्छ’, गिरीले भनिन् ।

उनका अनुसार जीवन विज्ञान नेपालका संस्थापक तथा जीवन विकास विशेषज्ञहरु एलपी भानु शर्मा र रमेश नेपालबाट ९ दिन प्रवचन हुन्छ र २१ दिन भिडियोमार्फत स्व संवाद विज्ञान गरि सहभागीलाई अभ्यास गराइन्छ ।

‘सुख, शान्ति र समृद्धि नै जीवनको मूल लक्ष्य हो, त्यो प्राप्तिका लागि गुरुहरुले ध्यान र योगबाट नयां मार्ग देखाइदिएको महशुस भएको छ’, गिरीले सुनाइन्, ‘शारीरिक तन्दुरुस्ती, भावना स्वच्छ र मानसिक रुपमा स्वस्थ रहन पनि योग, ध्यान र प्राणायम अति आवश्यक छ ।’

‘अरुबाट आशा राख्ने होइन, अरुको आशा पुरा गर्ने सोच हुनुपर्छ भन्ने गुरुवाणीबाट म प्रभावित भएं’, गिरीले थपिन्, ‘लोभ, डर, रिस, अहंकार अनि प्रेमको समिश्रण भएपछि मात्र जीवन सार्थक र सफल हुने कुरामा म विश्वस्त भएं ।’

उक्त संस्थाले बालबालिकामा लक्षित नव प्रतिभा विज्ञान कार्यक्रम पनि शुरु गरिरहेको छ ।

यसैबीच जीवन विज्ञान यूकेले बेलायतमा युवा र विद्यार्थीका लागि तनाव व्यवस्थापन तालिम पनि गर्दैछ । आउंदो जनवरी २४ तारिख आइतबार अहिलेको चुनौतिपूर्ण र व्यस्त समयमा युवा पुस्ताको जीवन खुशी, सुखी, स्वस्थ र तनावरहित कसरी बनाउन सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहने आयोजकको भनाइ छ ।

उता, क्यान इन्टरनेशनल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज यूकेले पनि संयुक्त रुपमा २१ दिने निःशुल्क अनलाइन वेलनेस सेसन सञ्चालन गरिरहेका छन् ।

मानिसको मन, मस्तिष्क र शरीर स्वस्थ र तन्दुरुस्त 
राख्न योग, ध्यान र व्यायामले महत्वपूर्ण भूमिका खेल्ने 
हुंदा सोही कुरा मध्यनजर गर्दै गत ९ जनवरीमा  शुरु गरिएको सत्र २९ जनवरीसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू