शनिबार, वैशाख १५, २०८१
02:42 | ०७:२७

जया राईको ‘भर्जिनिया उल्फ र आंसुका थोपा’ ले डुलाउंछ बेलायत

कौतुहल सृष्टि गरेर संवेदनशील पाठकलाई संगसंगै हिंडाउन सफल छिन् उनी

डा. ज्ञानबहादुर छेत्री जनवरी १६, २०२१

जया राई

जहां पुगे पनि साहित्य संस्कृति बचाइरहने जाति रहेछ भने ऊ कदापि निशेष हुंदैन । देशले सम्झिरहन्छ र परदेशले पनि उनीहरुलाई माया गरिरहन्छ । (डा. गोविन्दराज भट्टराई- डायष्पोरा सिद्धान्त र समालोचना पृ १२६)

पहिलो पटक जया राईसंग साहित्यकार गोविन्दराज भट्टराईकोमा भेट भएको, त्यो पनि भर्चुअल भेट । त्यतिखेरै हो उनको निबन्ध ‘भर्जिनिया उल्फ र आंसुका थोपा’ पढेको । अहिलेको भेटमा सोही शीर्षकको सिङ्गो ग्रन्थको पीडीएफ कपी डाउनलोड गरेर मनिटरमा पढ्दैछु, त्यसैले यो भेट पनि ‘भर्चुअल’ नै हो ।

इलेक्ट्रोनिक मिडियाको भर्चुअल भेटघाटमा दोहोरो संवाद हुन सक्छ तर पुस्तकीय भेटमा लेखकसंग बोल्न मिल्दैन, त्यसैले अहिले म नियात्राकार जया राईसंग एकोहोरो संवाद गरिरहेको छु ।

पढिएका पुस्तकहरु कुनै यस्ता हुन्छन् जसले जीवनको मोड नै अर्कातिर फर्काइ दिन्छन् । त्यसरी नै कतिपय लेखकको भाषा शैलीले पनि पाठकमा गहिरो छाप बसाउंछ । त्ससैले होला पढिएका पुस्तकका लेखकहरुमा धेरजसो नै विस्मृतिको अतल गह्वरमा हराउंछन् भने थोरै औंलामा गन्न सकिने, कतिपय लेखक मेमोरीबाट कहिल्यै मेटिंदैनन् । मेरो मनमस्तिष्कमा हलचल सृष्टि गर्दै स्थायी आसन जमाउन सक्ने नेपाली लेखकहरुमा जया राई पनि एक हुन् । चार वर्ष अघि साहित्यकार गोविन्दराज भट्टराईकोमा जया राईको निवन्ध ‘भर्जिनिया उल्फ र आंसुका थोपा’ पढेदेखि मेरा प्रिय सर्जकहरुको सूचीमा उनको नाम थपिएको हो ।

मनको भाव सम्प्रेषण गर्ने माध्यम भाषा हो तर भाषा एकमात्र माध्यम होइन रहेछ । मौनता पनि अभिव्यक्तिको सशक्त माध्यम बन्न सक्छ । शब्दले अभिव्यक्त गर्न नसकेको कति कुरा मौनतामा वहिर्प्रकाश हुन्छ । 
मौनता सम्मतिको सूचक (मौनंसम्मतिलक्षणम) भनेर हाम्रा ऋषि मुनिहरुले भने पनि मौनता केवल सम्मति होइन् । हिजोआज मौनता विमति वा विरोधको पनि उत्तम तथा कारगर उपायसिद्ध भएको छ । उसै गरी सुःख वा दुःखको समयमा आंखाबाट बग्ने आंसु पनि अभिव्यक्तिको शक्तिशाली माध्यम हुन सक्दो रहेछ ।

जया राईको एउटा निबन्ध पढेर मेरा मनमा यो सोच आएको हो । हो, अहिले म जया राईको नियात्रा संग्रह ‘भर्जिनिया उल्फ र आंसुका थोपा’ पढ्दैछु । यो नियात्रा संग्रहमा च्याउ टिप्ने निम्ता, एयर ओमनमा यात्रुको हुर्मत, शेक्सपियरको घरमा पाहुना, कोरियाको अप्रत्याशित यात्रा, रातो कारले सातो लिंदा, यात्रा रहेछ जिन्दगी, वेष्टमिनिस्टर एबीको वरिपरि रात्रीभोज, हिथ्रो एयरपोर्टमा तुलसी प्रतीक्षा, फुच्चे साइमनसंग न्यूजिल्यान्डमा, रम्घाका भानु रम्फोर्डमा, भर्जिनिया उल्फ र आंसुका थोपा, क्यू गार्डेनमा रमेको मन, पर्यटक चराको लर्को, विश्व बैंकमा सुकीधुकी, क्यानल कानवीस र कन्या गरी जम्मा १५ वटा निवन्ध समेटिएका छन् ।

नियात्राकार जयाले यथार्थलाई ढाकछोप नगरी विषयलाई जस्ताको तस्तै प्रस्तुत गरेकी छन् । विश्रृंखलतालाई कलात्मक रुपमा प्रस्तुत गर्नु उनको विशेषता हो । त्यसैले उनी अरु धेरै नियात्राकार भन्दा विश्वसनीय छन् । साधारणत नियात्रा ग्रन्थमा, विशेष गरी बेलायतको भ्रमण गर्नेहरुले बेलायतको कर्म संस्कृति, समयनिष्ठता गुन गरिमा झर्कोलाग्दो तरिकाले बखानेर पाता भराएको पाइन्छ । तर बेलायतको सभामा पनि समयमा मान्छे नआइदिएको, सिस्टम बिग्रने जस्ता बेथिति हुंदा रहेछन् भन्ने तथ्य जयाका लेखबाट थाहा लाग्छ ।

वेष्टमिनिस्टर वरिपरि रात्रीभोजमा जया राई पनि आमन्त्रित भएकी थिइन् । मुख्य अतिथि तोकिएको समयभन्दा दुई घन्टा पछि मात्र आए, उनलाई पर्खिने हुंदा सभा आरम्भ हुन धेरै ढिलो भयो । अतिथिहरुलाई स्वागत गरी बसाउने बेलासम्म पनि त्यहां आयोजक समितिका कर्ता आएनन् । नेपालका राजदूत डा. सुरेश चालिसेलाई पनि कसैले स्वागत गरेन, उनी आफैं गएर कुर्सीमा बसे । त्यहां डिस्प्ले मनिटर 
राखिएको थियो तर बिग्रेको रहेछ ।

पारा त ठ्याक्कै हाम्रै जस्तो रहेछ, किन गुण गाएका होलान् गोराहरुको । एकजना गोराप्रेमीले जुक्ति दर्शाउंदै भने- अनियम हाम्रो नियम हो भने उनीहरुको व्यतिक्रम । यहां समावेश गरिएका दुयेक निबन्धलाई नियात्रा भन्न मिल्दैन् । अरु नियात्रात्मक निबन्धहरुमा कतिपय वैयक्तिक प्रयोजनमा गरिएका छन् भने कतिपय साहित्यिक उद्देश्यले गरिएका उच्चस्तरीय अति महत्वपूर्ण नियात्रा निबन्ध छन् ।

रम्घाका भानु रम्फोर्डमा यस श्रृंखलाको महत्वपूर्ण रचना हो । रम्फोर्ड लगायत बेलायतका विभिन्न ठाउंहरुमा भानुजयन्ती पालन गरिएको कुरा छ । भानुलाई यसरी बेलायत, अमेरिका लगायत विश्वका कुना कुनामा पुरयाउनु भनेको ती ती ठाउंहरुमा नेपाली भाषा साहित्य, संस्कृतिको विकास हुनु हो । यसरी भानुलाई केन्द्रमा राखेर सारा विश्वमा नेपाली महाजातिका रुपमा एक हुने संकेत छ ।

कोरियाको अपर्झट यात्रा वैयक्तिक छ तर नियात्राकारको शक्तिशाली वर्णनले गर्दा पाठक पनि उनी संगसंगै पुगेको अनुभूति हुन्छ । यति मात्रै होइन नियात्राकारको उत्कण्ठा पनि अनुभूत हुन्छ । कुनै रहस्य उपन्यास पढेजस्तै लाग्छ यो यात्रा वर्णन ।

सेक्सपियरको घरमा पाहुना यस लेखमा अंग्रेजी साहित्यका प्रवादपुरुष कवि तथा नाटककार सेक्सपियरको स्ट्राटफोर्ड अपन एभनको घरमा पुगेर महान सर्जकले व्यवहार गरेका चीजबीजहरु अवलोकन गरेर लेखक अभिभूत हुन्छिन् भने उनको वर्णन पढेर हामी पाठक द्रविभूत भएका छौं । अगेनामा धुंवा आउंदै गरेका कोइला, छेवैमा झुण्ड्याइराखेको नभुत्ल्याइएको हांस…कति जीवन्त लाग्छ भने अहिल्यै बूढा सेक्सपियर लौरो टेकेर खोक्तै बाहिर निस्कनेछन् भन्नु जस्तो प्रस्तुति छ ।

कलाको मोल बुझ्ने, कदर हुने देशमा प्रतिभालाई राष्ट्रको विरासत सम्पदा ठानेर संरक्षण गरिन्छ । यता हाम्रोतिर… के भन्ने, खुर्पाको बिंड ।

क्यू गार्डेनको सेरोफेरो घुमेको अनुभव, त्यहांको भव्यता, भौतिक प्राकृतिक सम्मिश्रित सुन्दरता देखेर उनी जसरी चकित भएकी छन् उनको मनोरम शैलीले गर्दा पाठकलाई पनि लट्टिएर उहीं पुगेको भ्रम हुन्छ । उसै गरी लन्डनदेखि इंग्लिस फेरिमा च्यानल कटेर फ्रान्स, बेल्जियम, जर्मनीको बाटो चहार्दै नेदरल्यान्डको राजधानी आर्मस्टर्डम पुगेर क्योकेनहफ फूलैफूलको बगैंचामा रमेको । अप्रिल महिनामा हुने क्योकेनहफको मेला वा प्रदर्शनीमा विश्वभरिका पर्यटक आउंछन् । साथीहरुसंग गरेको यो भ्रमणमा समय कम हुनाले हतारमा सम्पन्न भएको थियो । फूल, नहरका साथै त्यहांको चर्चित रेडलाइट एरियामा नग्न सुन्दरी र क्यानविस गांजाको धुवांको कुरा पनि वर्णन गर्न चुकेकी छैनन् जया ।

नेपाली वाङ्मयकी समर्पित लेखकका रुपमा सुपरिचित जया राई विशेष गरी नेपाली डायष्पोरा साहित्यकी अग्रणी सर्जक हुन् । पुस्तकका रुपमा उनका डम्बरी, बेकर स्ट्रीटका दुई आंखा गरि दुईटा कथा संग्रह र एउटा निबन्ध संग्रह पार्क र पानीका थोपा अनि चौंथो भर्जिनिया उल्फ र आंसुका थोपा शीर्षकको नियात्रा कृति प्रकाशमा आएका छन् । त्यसपछि आजसम्ममा उनका अरु पनि कृति प्रकाशित भएका हुनुपर्छ ।

बेलायतमा स्थायी रुपमा बसोबास गरेकी जया राई कथाकार, निबन्धकार र नियात्राकार हुन् । उनको संगठक व्यक्तित्व पनि खारिएको माझिएको टलक्क टल्किएको छ, कुनै पनि प्रत्याहवानलाई डटेर सामना गर्न सक्ने धैर्य, साहस, दृढता र आत्मबल भन्ने कुरा शीर्षक निबन्धमा सुव्यक्त भएको छ ।

मस्तिष्कले भन्दा भावनाले लेखिएका हुनाले उनका रचनामा ह्दयपक्ष प्रवल छ, त्यसैले रोचक छन् सबै निबन्धहरु । उनका शैली र शिल्प प्रभावकारी छन् । उनको शैली संस्मरणात्मक, वर्णनात्मक र चित्रात्मक छ । कौतुहल सृष्टि गरेर संवेदनशील पाठकलाई उनी संगसंगै हिंडाउन सफल छिन् ।

उनका श्रीमान बुद्धिबहादुर राई उदार मनोभावापन्न भलादमी हुन् । उनले सधैं जयाको सिर्जनाकर्ममा सहायता गरे । मेरा मनका वायुपंखी घोडाहरुलाई कहिल्यै पनि रोक्न र छेक्न खोजेनन् भन्दै जयाले प्रतिभाको कदर गर्ने श्रीमान बुद्धिबहादुर राईलाई यो पुस्तक समर्पण गरेकी छन् । त्यसो नहुंदो हो त बेलायतमा बसेर अफिस र घरको काम भ्याएर साहित्य र सभा गर्ने फुर्सतै कहां मिल्थ्यो? युरोप अमेरिका जस्ता विकसित देशमा भौतिक सुख सुविधाका पछि कुद्दाकुद्दै कतिको जीवन व्यक्तिदेखि जसोतसो आफ्नो परिवारसम्म पुग्छ, त्यहांदेखि टाढा कला, संस्कृति र साहित्यको साधना गर्न सब कोहीले चाहंदैनन्, यस्ता कुरा सोच्नै सक्तैन् ।

बेलायतमा नेपालीहरुको बसोबोस धैरै उल्लेख्य छ । त्यसैले त्यहां नेपाली डायष्पोरा साहित्यको विकास पनि तुलनात्मक रुपमा अरु पाश्चात्य देशमा भन्दा बढी मात्रामा भएको छ । कृष्ण बजगाई, विजय हितान, विश्वासदीप तिगेला, जया राई, गणेश राई, काङमाङ नरेश, रक्ष राई र मिजास तेम्बे जस्ता बेलायतका सर्जकहरु लगायत सीमाहीन बिम्बहरुका अरु पनि सर्जकहरुसंग डा. भट्टराईको ग्रन्थ उत्तरआधुनिक विमर्शका माध्यमबाट परिचय हुने सौभाग्य प्राप्त भएको हो ।

कुनै अज्ञात लेखकको राजा गगनीराजको यात्राबाट थालनी गरिएको नेपाली यात्रा साहित्यको सुदीर्घ परम्परा रहेको छ । नेपाली साहित्यको प्रसङ्गमा धेरैले नियात्रा विधा भनेर छुट्टै चर्चा गरेका छन् भने वरिष्ठ समालोचक डा. गोविन्द भट्टराईका अनुसार यो निबन्ध विधाकै एउटा भेद हो ।

‘…यात्रासाहित्य स्वयं एक विधा नभएर सिर्जनाको एउटा क्षेत्र मात्र हो, यसलाई जुनसुकै विधामा लेखे पनि हुन्छ’ (मिर्मिरेमा दश पाइला, पृ २४७) । निबन्ध भने पनि नियात्रा विधा भने पनि जया राईको ‘भर्जिनिया उल्फ र आंसुका थोपा’ समकालीन नेपाली साहित्यको उल्लेखित फांटमा एउटा उल्लेख्य र महत्वपूर्ण थप हो त्यसमा कुनै शङ्का छैन् ।

हाल-Chandmari, Tezpur-784001, Assam

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू