शुक्रबार, वैशाख ७, २०८१
03:26 | ०८:११

बेलायतमा २६ लाखले लगाए कोरोना खोप

तीन लाख ८८ हजारले लिए दुवै डोज

नेपाली लिङ्क जनवरी १२, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसंगै सरकारले कोरोना विरुद्धको खोपलाई पनि व्यापक तुल्याएको छ ।

बेलायतले हाल तीन किसिमका खोपलाई आममानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर-बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र वितरण भइरहेका छन् ।

अर्को मोडर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ । कोरोना संक्रमणका दृष्टिले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्नककले बताएका छन् ।

हाल सिंगो बेलायतमा नै कडा प्रतिवन्धसहितको लकडाउन लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्या महामारी शुरु भएयताकै उच्च भएपछि बेलायतको अवस्था झन् भयावह बनेको हो ।

संक्रमण दर बढेसंगै कोरोना विरुद्धको खोपलाई सरकारले प्रथामिकताका आधारमा खोप वितरणमा तीव्रता तुल्याएको छ । हालसम्म २६ लाख ७५ हजार २१३ जनालाई कोरोना विरुद्धको खोप दिइसकेको स्वास्थ्य मन्त्रीले सोमबार जानकारी दिएका हुन् ।

हालसम्म दिइएका खोपमध्ये २२ लाख ८६ हजार ५७२ जनाले खोपको पहिलो डोज मात्र लिएका छन् भने तीन लाख ८८ हजार ६४१ जनाले खोपको दुवै डोज लिइसकेका छन् ।

सोमबारबाट बेलायतमा ठूलो संख्यामा खोप वितरण गर्ने उद्धेश्यले विभिन्न सातवटा स्थानमा खोप केन्द्र सञ्चालन गरिएको छ । लन्डन, ब्रिस्टल, सर्रे, न्यूक्यासल, म्यानचेष्टर र बर्मिंगहाम जस्ता ठाउंमा ठूलो संख्यामा खोप वितरण कार्य शुरु गरिएको छ ।

आगामी मध्य फेब्रुअरीसम्ममा दुई हजार सात सय स्थानहरुमा खोप वितरण सेवा विस्तार गरिने र एकैहप्तामा बीस लाख मानिसलाई  खोप दिने तयारी गरिएको सरकारले बताएको छ । जसमा २०६ वटा अस्पताल, ५० भ्याक्सिनेसन सेन्टर र करिब एक हजार दुई सय स्थानीय भ्याक्सिन केन्द्रहरु लगायत रहनेछन् ।

यो खोप वितरण अभियान इतिहासकै सबैभन्दा व्यापक भएको अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण बेलायतमा पछिल्लो एकसातामा मात्र छ हजार ४८५ जानाको ज्यान गएको  छ । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ भने संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ ।

मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि बेलायत पाँचौं स्थानमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू