शनिबार, जेठ ५, २०८१
01:18 | ०६:०३

बेलायतमा व्यवसायका लागि सरकारका राहत सुविधा: बुझौं र सदुपयोग गरौं

सचिन श्रेष्ठ जनवरी ७, २०२१


कोरोना महामारीका कारण बेलायतमा पुन: लकडाउन गरिएपछि सञ्चालन हुन नसकेका तथा प्रभावित व्यवसायहरुका लागि सरकारले थप राहत घोषणा गरेको छ । 

महामारी शुरु भएदेखि नै अर्थतन्त्रमाथि पर्दै आएको प्रतिकुल असरलाई कम गर्ने, रोजगारी जोगाइराख्ने र कम्पनीहरुलाई टिकाइराख्ने जस्ता लक्ष्यमा बेलायतले विभिन्न राहत र सुविधाहरु उपलब्ध गराउँदै आएको छ । 

यसैक्रममा मंगलबारदेखि देशव्यापी रुपमा लकडाउन लागू भएसंगै सरकारले बन्द तथा प्रभावित व्यवसायहरुका लागि थप ‘ग्रयान्ट’ को घोषणा गरेको छ । रिटेल, हस्पिटालिटी र लिजर क्षेत्रलाई लक्षित गर्दै अर्थमन्त्री ऋषि सुनाकले मंगलबार ४ अर्ब ६० करोड पाउण्डको ग्रयान्ट घोषणा गरेका छन् । 

यो ग्रयान्टअन्तर्गत सरकारले लकडाउनका कारण पूर्ण रुपमा बन्द वा प्रभावित दुवै व्यवसायका लागि कम्तीमा ४ देखि बढीमा ९ हजार पाउण्डसम्म प्रदान गर्नेछ । 

व्यवसायहरुलाई कतिसम्म ग्रयान्ट प्रदान गर्ने भन्ने निर्धारण कम्पनीहरुको ‘रेटेबल भ्यालु’ ले निर्धारण गर्नेछ । रेटेबल भ्यालु १५ हजार पाउण्डसम्म हुने कम्पनीले ४ हजार ग्रयान्ट पाउनेछन् भने १५ हजार पाउण्डदेखि माथि ५१ हजार पाउण्डमुनि पर्नेले ६ हजार पाउण्ड पाउनेछन् । ५१ हजार पाउण्डभन्दा बढी रेटेबल भ्यालु हुने कम्पनीलाई ९ हजार पाउण्डको ग्रयान्ट उपलब्ध गराइनेछ । 

कहिलेसम्म ग्रयान्ट बाँडिसक्ने भनेर सरकारले स्पष्ट समयअवधि तोकेको छैन । तर सक्दो चाँडो गर्ने उनीहरुको प्रयास रहनेछ । विगतमा यस्तै ग्रयान्ट पनि घोषणा गरिएलगत्तै वितरण शुरु गरिएको थियो । 

लकडाउन ग्रयान्टको लागि फारम भर्न भन्दै स्थानीय काउन्सिलहरुले सबै कम्पनीहरुलाई पत्र पठाउनेछन् । बेलायत सरकारले यसअघि उपलब्ध गराउँदै आएका अन्य सुविधा र राहतका अतिरिक्त अहिले नयाँ ग्रयान्ट दिन लागिएको हो । त्यसैले पहिले अन्य सुविधा र ग्रयान्ट लिंदै आएका कम्पनीहरुले पनि नयाँ ग्रयान्टका लागि आवेदन गर्न पाउनेछन् । 

सरकारबाट थुप्रै राहत र सुविधा 

बेलायत गत वर्ष मार्च महिनामा लकडाउनमा गएसंगै व्यवसायहरुलाई लक्षित गर्दै अर्थमन्त्री ऋषि सुनाकले विभिन्न राहतहरु घोषणा गरेका थिए । एक वर्षसम्मको लागि बिजनेस रेट तिर्न नपर्ने गराइएको छ । महामारी र लकडाउनका कारण बन्द वा प्रभावित कम्पनीहरुलाई उनीहरुको रेटेबल भ्यालुअनुसार १० हजार वा २५ हजार पाउण्डको ग्रयान्ट बाँडिसकिएको छ । रेटेबल भ्यालु १५ हजार पाउण्डसम्म हुनेले १० हजार पाउण्ड र १५ हजारदेखि ५१ हजारसम्म रेटेबल भ्यालु भएका व्यवसायले २५ हजार पाउण्डको ग्रयान्ट पाएका थिए । त्यसबेला ५१ हजारभन्दा माथिको रेटेबल भ्यालु हुने कम्पनीहरुलाई कुनै ग्रयान्ट नदिइएपनि अहिले भने उनीहरुको लागि पनि ९ हजार पाउण्ड बाँडिंदैछ । 

बेलायत सरकारले कम्पनीहरुलाई टिकाइराख्ने प्रयासमा ऋण सुविधा पनि सहज र सरल बनाएको छ । सरकार आफै ग्यारेन्टी बसेर कम्पनीहरुलाई बढीमा ५० हजार पाउण्डसम्मको ऋण सुविधा पनि उपलब्ध गराइएको छ । 

गत नोभेम्बर पहिलो सातादेखि ४ हप्ते लकडाउन गर्ने बेला सरकारले मासिक ग्रयान्टको नयाँ राहत ल्याएको थियो । व्यवसायहरुको रेटेबल भ्यालुअनुसार मासिक तीन हजार (१४ दिनमा १५ सय) पाउण्डसम्मको ग्रयान्ट वितरण गरिंदै आएको छ । 

त्यस्तै, फर्लो स्किमअन्तर्गत लकडाउनका कारण बन्द वा प्रभावित कम्पनीका कामदारको ८० प्रतिशतसम्म तलब (मासिक २५ सय पाउण्डसम्म) सरकारले नै उपलब्ध गराउँदै आएको छ । गत वर्षको मार्चदेखि नै ल्याइएको यो स्किम आउँदो अप्रील महिनासम्मको लागि लम्ब्याउने घोषणा गरिसकिएको छ । 

सेल्फ इम्प्लोइड (स्वरोजगार) मानिसहरुको लागि पनि ‘सेल्फ इम्पलोइड इनकम सपोर्ट’ भनेर राहत उपलब्ध गराएको छ । 

सन् २०१८-२०१९ को आर्थिक वर्षमा कम्पनीहरुले बुझाएको ‘ट्याक्स रिटर्न’ का आधारमा आम्दानीको ८० प्रतिशतसम्म (मासिक २५ सय पाउण्डसम्म) सरकारले नै प्रदान गर्दै आएको छ । 

सरकारका राहतबारे बुझौं र सदुपयोग गरौँ

सरकारले ल्याएका राहतका विभिन्न प्याकेजबाट अरुजस्तै यहाँका नेपाली व्यवसायी पनि लाभान्वित हुंदै आउनुभएको छ । तर, सरकारले उपलब्ध गराएका सुविधाहरुको पूर्ण लाभ लिनुअघि यसबारे बुझ्न र प्रक्रियाबारे जान्न आवश्यक छ । 

कतिपय नेपाली व्यवसायीहरुले नबुझेर वा पर्याप्त ध्यान नदिएर पनि यी सुविधाहरु मिस गर्नुभएको पाइएको छ ।

महामारीका बेला सरकारले दिएका राहतहरु सुविधा मात्र होइनन्, हाम्रा अधिकार पनि हुन् । त्यसैले समयमै सम्बन्धित पेशाकर्मी वा जानकारहरुबाट जानकारी, परामर्श लिन  र सुविधाको उपभोग गर्नुहुन मेरो सल्लाह छ । 

( बेलायतमा एकाउन्टेन्सी फर्म सञ्चालन गर्दै आएका एक  एसिसिए सचिन श्रेष्ठसंग नेपाली लिंकले गरेको संवादको सारांश )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू