बुधबार, वैशाख १२, २०८१
16:40 | २१:२५

बेलायतका नेपाली व्यवसायीः फापेन २०२०, २०२१ पनि अन्योलमै

नेपाली लिङ्क जनवरी १, २०२१

लन्डन । समग्र अल्डरसट टाउन र नेपाली समुदायको एउटा परिचय बनेको एम्पायर हल गत मार्चयता पूर्णरुपमा बन्द छ । नेपाली समुदायलाई विभिन्न खालका कार्यक्रम गर्न उपयुक्त भेन्यू थियो एम्पायर हल । ‘कोभिड १९’ महामारीपछि जारी लकडाउनले एम्पायरको बन्द ताला तत्काल खुल्ने सुरसार छैन् ।

एम्पायरका सञ्चालक पुरन गिरीले सन् २०२० को शुरुवातबाटै देश लकडाउनमा गएपछि पुरानो कमाइ र ऋण धन गरेर व्यवसाय टिकाएको बताए । उनका भनाइमा अब सरकारले कहिले हल खोल्न अनुमति दिन्छ अन्योल नै छ । किनभने कोरोना भाइरस संक्रमण झन् तीव्र छ ।

‘एउटा रेष्टुरेन्टमा टेकवे सर्भिस खुल्ला छ । नत्र पुरै फूर्सदिलो छु । टाइम पास गर्न पनि गार्हो छ’, गिरीले भने, ‘२० संकटमै बित्यो । आशा गरौं २०२१ ले सबैलाई सुख शान्ति दिनेछ ।’

सन् २०१२ देखि चालु अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स यूके पनि कोभिडबाट प्रभावित बन्यो । बिहे वा अन्य इभेन्ट नहुंदा गरगहना विक्रीमा धेरै कमी आएको सञ्चालिका लक्ष्मी लामा राई बताउंछिन् । ‘हामी अचेल संसारभरबाटै अनलाइन अर्डर लिने र डेलिभरी गर्ने गरेका छौं । तर, मानिसहरु महामारीका बेला विलासितामा त्यति खर्च नगर्ने भएकाले व्यवसाय संकटन्मुख छ’, उनले भनिन् । सन् २०२१ मा पनि के हुन्छ भन्न नसकिने अन्योल कायमै रहेको उनको भनाइ छ ।

लेस्टरका व्यवसायी दयानिधि सापकोटाको हकमा पनि सन् २०२० अति नै खराब रह्यो । उनको इटालियन रेष्टुरेन्ट ‘ओजी’ पहिलो लहर यता बन्द छ भने नेपाली रेष्टुरेन्ट गोर्खा एम्बेसीले टेकवे मात्र गरिरहेको छ ।

वार्षिक करिब ६ लाख पाउण्ड टर्नओभर हुने रेष्टुरेन्ट ८ महिना बन्द हुंदा झण्डै ५ लाख पाउण्ड घाटा भएको सापकोटाले बताए । ‘सन् २०२१ मे पछाडि केही होला कि भन्ने आशाका किरणहरु पलाएका छन्’, सापकोटाले भने ।

सोलिसिटर राजु थापाको लन्डन इलिंगस्थित एभरेष्ट ल फर्म पनि कोभिड चपेटाबाट अछुतो रहेन । सामान्यत बर्षमा ६ सय फाइल खोल्ने गरेको उक्त फर्मले सन् २०२० मा एकसय ५० वटा घटेको सोलिसिटर थापाले बताए । ‘तर, सरकारको राहत स्किम 
फर्लो बिना नै कर्मचारी र कार्यालय खर्च धान्न सक्नुलाई नै उपलब्धि मान्नुपर्ने अवस्था आयो’, थापा भन्छन् ।

लन्डनमा ‘होली काउ’ नामका ७ वटा टेकवे रेष्टुरेन्ट चलाइरहेका व्यवसायी कुल आचार्यले भने आफ्नो व्यवसायमा कोभिड १९ ले असर नपरेको बताए । ‘हाम्रो टेकवे भएकाले त्यति अप्ठेरो परेन । बरु करिब २० प्रतिशत व्यापार बढेको देखिन्छ’, आचार्यले नेपाली लिंकसंग भने, ‘सन् २०२१ मा अलिक फरक रणनीतिले अगाडि बढ्ने सोच बनाइरहेका छौं किनकि प्रतिष्पर्धीहरुले पनि टेकवे सेवा बढाएको अवस्था छ ।’

होली काउले आज १ जनवरीदेखि सातवटै रेष्टुरेन्टबाट अल्कोहल बेच्न पाउने लाइसेन्स लिएको जानकारी पनि आचार्यले दिए ।

समग्रमा २०२० मा नेपालीका सानो स्केलका रेष्टुरेन्ट ‘सर्भाइभ’ हुन अप्ठेरो नपरेको आचार्यको बुझाइ छ । ‘महामारीका कारण नेपालीले चलाएको रेष्टुरेन्ट बन्द भएको मैले सुनेको छैन् । टेकवेले करिब ७० प्रतिशत कभर गरेकाले पनि नेपाली रेष्टुरेन्ट सस्टेन भए’, आचार्य भन्छन् ।

‘फर्लो स्किम’ सकिएपछि र ब्रेक्जिटले अर्थतन्त्रमा केही असर गर्छ कि भन्ने आशंका आचार्यलाई छ । तर ब्रेक्जिटले नेपाली डायस्पोरालाई भने फाइदा पुग्ने आफ्नो जनमत संग्रह अगाडिकै भविष्यवाणी अहिले प्रमाणित भएको उनको दावी छ । ‘ब्रेक्जिटपछि नेपाली विद्यार्थी आउन, काम गर्न पाउने अवसर बढेको छ’, उनले भने, ‘सन् २०२१ मा महामारी अन्त्य र सबैको सुस्वास्थ्य एवं प्रगतिको पशुपतिनाथसंग प्रार्थना गरिरहेको छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू