शनिबार, वैशाख १५, २०८१
23:30 | ०४:१५

फर्केर हेर्दा ‘कोरोना वर्ष- २०२०’

कोरोनाले संसार नै ठप्प बनाएको वर्ष

गोपी सापकोटा डिसेम्बर ३१, २०२०


मेरो विचारमा सन् २०२० कसैका लागि पनि सहज रहेन । यो वर्ष सायद शताब्दीमा नै सबैभन्दा धेरै चर्चा गरिने वर्ष बन्छ होला । यो वर्षको मुख्य चिनो कोभिड हो, जसले संसारलाई वर्षभरि नै ठप्प बनायो । सानादेखि विश्वका शक्तिशाली राष्ट्रहरुलाई पनि घुँडा टेक्न बाध्य बनायो । कालान्तरमा गएर सन् २०२० लाई ‘कोरोना वर्ष’ भनेर सम्झिनेछौ जस्तो लाग्छ ।

विश्व, बेलायत र नेपालको सन्दर्भमा सन् २०२० लाई फर्केर हेर्दा यो वर्ष कोभिड वरिपरी नै घुम्यो । विश्वभरि करिब अठार लाख मानिसहरु कोभिडका कारणले मरे । बेलायतमा कोभिडबाट मर्नेको संख्या अहिलेसम्म सत्तरी हजार नाघिसकेको छ । नेपालमा यो वर्ष कोभिडका कारण अठार सय भन्दा धेरैको मृत्यु भयो । कोभिडले सबैको सातो लियो । यसले स्वास्थ्य क्षेत्रलाई मात्र नभएर अर्थतन्त्रलाई पनि नराम्रो असर पार्यो ।

बेलायतमा कोभिड पछिको विषय ‘ब्रेक्जिट’ बन्यो । त्यसो त यो वर्ष लाग्ने बित्तिकै बेलायत ईयुबाट बाहिरिएको थियो तर यो एक वर्ष बाँकी रहेका विषयहरु मिलाउने गरी ट्रान्जिसनमा थियो । ब्रेक्जिटको सन्दर्भमा ईयुसँग व्यापार सम्झौता हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण थियो । वर्षको अन्तिमतिर बेलायत र ईयुबीच ब्यापार सम्झौता भयो । त्यसलाई बेलायतको लागि २०२० को उपलब्धि मान्न सकिन्छ ।

विश्वको परिप्रेक्षमा फाइजर र बायोएनटेकले कोभिडको पहिलो भ्याक्सिन बनाए । त्यो एउटा महत्वपूर्ण उपलब्धि हो । सो भ्याक्सिनलाई मान्यता दिने र सबैभन्दा पहिले प्रयोग गर्ने देश बेलायत बन्यो । त्यसैगरी बेलायतकै अक्सफोर्ड र एस्ट्राजेनेकाले कोभिडको अर्को भ्याक्सिन बनाए । २०२० को डिसेम्बर ३० का दिन बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले सो भ्याक्सिनलाई आधिकारिक पमा मान्यता दियो । त्यसलाई पनि बेलायतका लागि सन् २०२० को उपलब्धि मान्नुपर्छ ।

नेपाल पनि धेरै कोभिडको समस्यामा अल्झियो । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी भएपनि कोभिडका कारण सम्भव भएन । नेपालको राजनैतिक गतिबिधिहरुबाट पनि खासै सन्तुष्टी मिल्न सकेन । म आफू राजनीतिबाट जति बाहिर बस्छु भने पनि नेपालका राजनैतिक गतिविधिले मेरो मस्तिष्कमा प्रभाव नपारी छोड्दैनन् । सन् २०२० को अन्त्यतिर प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई मैले ठूलो राजनैतिक दुर्घटनाको रुपमा लिएको छु ।

नेपालमा लामो समयदेखि एउटा पनि स्थायी सरकार बेर पूरै कार्यकाल चल्न सकेन । मलाई अहिलेको सरकारबाट ठूलो आशा थियो । कम्तीमा यो सरकार पाँच वर्षसम्म टिक्न सक्ने सरकार हो भन्ने लागेको थियो । नेपालमा जुनसुकै पार्टीको भएपनि पाँच वर्ष पूरा चल्ने सरकार बनोस् र चलोस् भन्ने मेरो चाहना थियो । तर यसपटक पनि त्यसो भएन । यो दुःखको कुरा हो । जबसम्म देशमा पूरै कार्यकाल चल्ने सरकार हुँदैन, तबसम्म देशको राजनिति र विकासको मेलो मिल्न सक्दैन ।

सन् २०२० का मेरा धेरै दिनहरु समाचार हेरेर र पढेर बिते । कोभिड संक्रमितको संख्या कहाँ कति भयो र त्यसबाट मृत्यु हुनेको संख्या कति पुग्यो भन्ने जिज्ञासा र पिरले हरेक क्षण सताइरह्यो । विशेष गरी बेलायत र नेपालको कोभिडसम्बन्धी समाचारहरुबाट मैले आँखा हटाउनै सकिन ।

सिर्जनात्मक रुपमा यो वर्ष मेरा लागि राम्रै रह्यो । यो वर्ष मैले एउटा उपन्यास लेखें । अध्यात्म, प्रेम, ग्लामर र आशक्तिको विषयमा लेखिएको सो उपन्यास छिट्टै नै प्रकाशित हुँदैछ । पहिले पहिलेका वर्षमा भन्दा यो वर्ष अलि फुर्सदिलो महसुस गरें । प्रविधिले संसारलाई साँघुरो बनाउँदै लग्यो । संसारका विभिन्न ठाउँमा रहेका आफन्त र साथीभाईहरुसँग पहिले भन्दा अलि धेरै सम्पर्क भयो । त्यो राम्रो कुरा हो ।

म खासै साहित्यिक तथा अन्य कार्यक्रमहरुमा धेरै सहभागी हुने मान्छे होइन । तर यो वर्ष थाहै नपाइकन धेरै साहित्यिक कार्यक्रमहरुमा सहभागी भएछु । बेलायत, नेपाल र अन्य देशहरुबाट आयोजना गरिने थुप्रै साहित्यिक कार्यक्रमहरुमा भाग लिएँ । जुम र फेसबुक लाइभमार्फत् धेरै पाठक र साहित्यानुरागीसँग जोडिने मौका मिल्यो ।

मैले नेपाल छोडेपछि लेखनलाई धेरै समय दिन सकेको थिइन । तर २०२० मा लेखनलाई अलि समय दिन सकें । त्यसो त सबै श्रेय कोभिडलाई जाँदैन किनभने मैले आफूलाई लेखनमा समर्पित गर्दै लैजाने सोच बनाइसकेको थिएँ । तर कोभिडको कारणले भएको लकडाउनले मलाई लेख्नका लागि सहयोग गर्यो । त्यसो त बेलायतमा कोभिडको महामारी चरम बिन्दुमा पुगेर लकडाउन भएको बेलामा पनि म काममा जानुपर्दथ्यो तर हप्तामा एक दुई दिन थप बिदा मिल्थ्यो । त्यसैले मेरा लागि अलिकति भए पनि समय मिलेको थियो ।

सन् २०२० को नकरात्मक पक्षको कुरा गर्दा फेरि पनि कोभिडकै कुरा आउँछ । सामान्यतयाः म वर्षमा एकपटक नेपाल जाने गर्थें । तर कोभिडका कारणले यो बर्ष नेपाल जान पाइन । यतिखेर मेरो पूरै आशा भ्याक्सिनमा छ । सामान्य जीवनको प्रतिक्षा गरेर बसेको छु । कहिलेकाँही लाग्छ, हामीले सामान्य जीवनलाई पहिले कत्ति पनि महत्व दिएका रहेन्छौं । सामान्य जीवन भोग्न पाउनु पनि ठूलो कुरा रहेछ भन्ने लागेको छ । भ्याक्सिन लगाएपछि यता उता डुल्न हुन्थ्यो, साथी भाइसँग भेटघाट गर्न हुन्थ्यो भन्ने लागेको छ ।

आशा गरौं, २०२१ ले कोभिडलाई पराजित गरोस्, हाम्रो जीवनलाई सामान्यतिर फर्काओस् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू