शुक्रबार, वैशाख १४, २०८१
20:21 | ०१:०६

बेलायतबाट नेपाल पुग्नेहरुलाई १० दिन होटेल क्वारेन्टिन अनिवार्य

पुस १ यता नेपाल पुग्नेलाई अनिवार्य क्वारेन्टिन

रासस डिसेम्बर २३, २०२०

सरकारले संयुक्त अधिराज्य (बेलायत) बाट नेपाल आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् ।

उक्त नयाँ जातको प्रजातिको भाइरस रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन गौतमले अनुरोध गरेका छन् ।

उनले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए । प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गरेका छन् ।

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार ९७९ जनामा सङ्क्रमण, दुई लाख ४६ हजार ६६१ जना निको र एक हजार ८०३ को सङ्क्रमणका कारण निधन भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू