शनिबार, वैशाख ८, २०८१
13:21 | १८:०६

प्रा डा सुवेदीलाई प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्यता

रासस डिसेम्बर १६, २०२०

लन्डन  । प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले सुवेदीसंगै डा महेशराज पन्तलाई पनि मानार्थ  सदस्यता तथा आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।  

प्राज्ञिक क्षेत्रबाट डा सुवेदीले अन्तरराष्ट्रिय स्तरमै पुर्याएको योगदानको कदरस्वरुप उनलाई मानार्थ सदस्यता दिइएको हो । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय  कानून विषयका प्राध्यापक सुवेदीले बेलायत तथा नेपाल सरकारलाई समेत कानूनी परामर्श दिँदै आएका छन् ।  

नेपालको प्रतिष्ठित राष्ट्रिय संस्थाले आफूलाई मानार्थ प्राज्ञ निर्वाचित गरेकोमा गौरवान्वित भएको बताउंदै प्राध्यापक सुवेदीले प्राज्ञसभा र प्रज्ञा प्रतिष्ठानका पदाधिकारीप्रति आभार व्यक्त गरे । क्रिसमसको मुखमा नेपालबाट आएको यस सम्बन्धि खबरलाई उनले क्रिसमस उपहार भनि खुशी समेत व्यक्त गरेका छन् ।

प्रा सुवेदीलाई अन्तरराष्ट्रिय कानून र मानव अधिकारको क्षेत्रमा आफ्ना कृतिहरुद्वारा उत्कृष्ट योगदान गरेको भन्दै गत वर्ष अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको थियो भने यसै वर्ष हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ ।

प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र-संस्कृति-दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

रु एक लाख राशीको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले रु दुई-दुई लाख राशीको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालङ्कार सम्मान’ चीनका प्रा वाङ हङ्वेइलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले गत आवको खर्च पारित गर्दै चालु आवका लागि रु १९ करोड ५० लाखको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ ।

बैठकमा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी योजनाबारे सभामा छलफल भएको बताए । सभामा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू