बिहीबार, फागुन १३, २०७७
18:20 | ००:०५

बदलिंदो ‘भर्चुअल’ समाज

गोविन्द बेल्वासे डिसेम्बर ७, २०२०

विलियम गिब्सनले न्यूरोमेन्सर (1984) उपन्यासमा भर्चुअल समाजको कल्पना गर्दा म स्कूल–कलेज पढ्थेँ । मैले कक्षा दश (SLC) परीक्षा दिएको ४२ वर्ष भयो । अहिले उपभोग गरेका प्रविधि र साधनहरू जीवनमा उपलब्ध हुनसक्ने कल्पना पनि थिएन त्यस समयमा । अहिले टाइप गर्दै गरेको कम्प्यूटर– मोबाइल–फोन आदि शब्द पनि सुने जस्तो लाग्दैन त्यसबेला । कलेज पढ्न थालेपछि मात्र मैले कम्प्यूटर भन्ने शब्द सुनेको हुँ । अहिले दश कक्षा पढ्नेहरूका लागि हाम्रा अनुभव त्यसबेला हामीले बुढापाकाबाट सुन्ने गरेका ‘यती’ तथा ‘लामकाने’का दन्त्य–कथा जस्तै हुन्छन् । “फोटो हेरेर कुरा गर्न मिल्ने फोनको सम्भावना सम्बन्धी” सूचनालाई विश्वास गर्ने र नगर्ने खेमामा तर्क गर्ने साथीहरू बाँडिन्थे उसबेला ।

गिब्सनले उतिबेलै अहिलेजस्तो इन्टरनेट तथा साइबरमा मानिसहरूले सम्पर्क गर्ने, छलफल गर्ने, विचार ब्यक्त गर्ने कल्पना गरेर फिक्सन–उपन्यास लेखेका थिए । उनको उपन्यासको नाम ‘साइबरनेटिक्स’का कारण साइबर शब्द प्रचलनमा आएको छ । त्यो उपन्यास पढ्नेहरूले उस समयमा फेसबुक र ट्विटरका कारण अमेरिकाको निर्वाचन विवादित हुनसक्ने विश्वास गर्ने त कुरै भएन । भर्चुअल समाजको कल्पनालाई नै विश्वास गर्नेहरूको संख्या पनि धेरै कम थियो । तैपनि बैज्ञानिकहरू उनको कल्पनाका पछि दगुर्न छाडेनन् । अहिलेको समाजले लकडाउनका समयमा पनि सम्पर्क गर्न पाएकोमा तिनै उपन्यासकार गिब्सनलाई जस दिनै पर्छ । सायद बैज्ञानिकहरूले पनि जस दिने गरेकै होलान ।

यो भर्चुअल दुनियाँ नभइदिएको भए कक्षा दशको जाँच दिएपछि छुट्टिएका अधिकांश साथीहरूसंग फेरि कहिल्यै सम्पर्क हुने थिएन होला । तर, गएको हप्ता अनुहारले नचिनिने भैसकेका ४२ वर्षदेखि संपर्क छुटेका साथीहरूसंग फेसबुक र जुममा भेट भयो । त्यसका लागि गिब्सनमात्र होइन फेसबुकका मालिक एवं संस्थापक जुकरबर्ग पनि धन्यवादका भागिदार हुन् । अहिले दश कक्षा पढ्ने विध्यार्थीले अबको ४२ वर्षपछि कस्तो प्रविधि प्रयोग गर्लान् भन्ने प्रश्नले दिमागमा झड्का दिइरहेको छ । त्यही प्रश्न अरूका दिमागमा पनि पक्कै खेल्छन् होला ।

लेख्न त गिब्सनले जस्तै कल्पना गर्ने लेखकहरूले अरू पनि लेखे होलान । कतिपय कल्पना साकार नभएका पनि होलान् । हाम्रो चासो नपुगेको उपलब्धि हासिल भएका पनि धेरै होलान् । दश कक्षामा अहिले पढ्ने विद्यार्थीहरूले भविष्यमा चन्द्रमामा मानव वस्ती बसाउने विषयका सम्भावनामा छलफल गर्छन् होला । वादविवाद गर्छन् होला जस्तो लाग्छ । तर, पूर्वीय सभ्यताका थोरै फिक्सन, थोरै तथ्यमा आधारित साहित्यका आधारमा हाम्रा पुर्खाले पुष्पक विमान बनाएको तर्क गरेर आफ्नो गफ पुष्टि गर्ने जमात पनि ठूलै छ ।

आर्टिफिसियल इन्टेलिजेन्सी (AI) अव कल्पना तथा फिक्सन होइन यथार्थ भैसकेको छ । तर, यसले मानव समाजलाई पुर्याउने सुविधा कुन हदसम्म पुग्ला भन्ने विषय भने पक्कै विचारणिय नै छ । कतिपयले उक्त प्रविधिले मानिसलाई दास बनाउने सम्भावनामा जोड दिने गर्छन् । कतिपय मान्छे अझै पनि चन्द्रमालाई भगवान नै मान्छन् । त्यसको पुष्टि गर्ने थुप्रै तर्क पनि गर्छन् । चन्द्रमामा मान्छे पुगेको विश्वास गर्न अझै नसक्ने जमातसंग उनीहरूको अन्तर्विरोध अझै धेरै वर्षसम्म जारि नै रहेने छ । भविष्यलाई सुन्दर बनाउने कल्पनामा फिक्सन रच्ने कल्पनाकारका प्रकाशनहरूले निरन्तरता पाइनै रहने छ। बैज्ञानिकहरूले पनि उनीहरूबाट सिक्दै जाने नै छन् । यस्तै प्रविधिको सहायताले संकलित ज्ञानबाट बुझेको पृथ्विको सन्तुलन कायम नरहने हो कि भन्ने चिन्ताबाट पनि अगुवाहरू सचेत हुँदै गएको पाइन्छ । ‘ग्लोबल वार्मिङ’ त्यस्तै एउटा विषय हो ।

आकाशवाणी (आ.वा) उसवेला निकै आधुनिक प्रविधि थियो । त्यस्तो कुनै प्रविधि उपलब्ध नभएको अवस्थाबाट सूचना टाढाटाढासम्म पुर्याउन सकिने जमाना सुरू भएको प्रविधि थियो त्यो । त्यसको दुई दशक अघिसम्म पनि अगेनाको आगो सक्लाउन मेरी आमासंग सलाइ–लाइटर हुन्थेन । गाउँमा लाहुरेका घरमा र सहरका भान्सामा भने सलाई–लाइटर पुगेको थियो तर ग्यास चुला पुगेका थिएनन् । सदरमुकाममा पढ्दा छिमेकी ड्राइभर्नी काकीको भान्साभित्र सिलौटामा लोहोरोले जीरा–धनिया धस्काएको गन्ध र फूलकाँसको कसौँडीमा पानी भरिएको लोटाले ढाकेर पकाउँदै गरेको खसीको मासुको गन्धको स्वाद भने नयाँ प्रविधिले दिन सकेको छैन् । कलेज पढ्न थालेपछि देखेको प्रेसर कुकरमा छिटो र सजिलोसंग मासु पाक्न थाल्यो । जङ्गल जोगाउन दाउराले पकाउने चलन हरायो तर ग्याँसका सिलिण्डर प्रचलनमा पुग्न दशकौँ कुर्नु पर्यो । भूमण्डलीकृत अर्थतन्त्र र साम्राज्यवादका राजनीतिको पाटो छुट्टै छँदैछ ।

प्रविधिको अभावमा जीवन अलि छोटो थियो । म जन्मदाँसम्म पनि औसत आयू अहिलेको भन्दा आधा मात्र थियो । मेरो उमेर जतिजति बढ्दै गयो औसत आयू पनि बढ्दै गयो । भारतमा सन् १९४७ र चीनमा १९४९ को राजनैतिक परिवर्तनसंगै नेपालमा पनि स्कूल खुल्न थाले । धुलोमा मस्तिसंग खेल्ने, ढिस्कोबाट खोलाको रहमा फाल हाल्ने केटाकेटीहरू काठको पाटी र कमेरोको दवात लिएर स्कूल जान थालेपछि मानसिक दवाव झेल्ने बानी पार्न थाले । आधुनिकताको नाममा बच्चाहरूको स्वतन्त्रता खोसिँदै गयो । हुँदाहुँदा प्रविधिका बन्धनमा बस्नुलाई बच्चाको अधिकार मान्न थालिएको छ । वर्तमान साच्चै नै झन् सुन्दर भएको हो कि दुःख थपिएको हो छलफल भने गरिएको छैन । स्कुल, कलेज र यूनिभर्सिटी पढिसक्दासम्ममा मानसिक दवावमा एक शताब्दी अघिका मानिसको औसत आयू भन्दा बढि समय ब्यतित भैसकेको हुन्छ । अहिलेको पिढीको जीवन त्यसपछि बल्ल विवाह र ग्राहस्थ जीवन सुरू हुन्छ । सामाजिक प्रतिस्पर्धा भित्र पनि मानिसको जीवन देखाइमा सुखमय देखिन्छ । आफ्नो सुख्ख प्रदर्शन गर्न भर्चुअल दुनियाले सजिलो पारेको छ । अहिलेको लामो जीवन भोग्नेहरू छोटो आयू भोगेका पुर्खाहरूको भन्दा थोरै समय मात्र रमाउन सकेका हुन कि भन्ने छलफल गर्न सकिन्छ । भविष्यको प्रविधि सुविधाको खोजीको सन्तुलनको छलफल अवको आवस्यकता हो । तर्क गर्नेहरूले भने जस्तो प्रविधिले मानिसलाइ नियन्त्रण गर्दै गर्दा जीवनको स्वाद पक्कै फेरिँदै जाने छ । दाउरा बालेर माटोको अगेनामा पकाएको मासुको स्वाद प्रेसर कुकरमा खोज्ने जमात ठूलै छ ।

यसै गरी प्रविधिमा बाँधिएको जीवनले रमाउने मन्त्र खोज्न भौतारिने सम्भावना छ । तर पनि सामाजिक प्रतिस्पर्धामा उत्रिन भडक देखाउने सामाजिक सञ्जालको सुविधाले सुख्ख थप्ने छाँट भने देखिएको छैन ।

यता सुःख हराएको हो कि ? भन्ने चिन्ता गर्दैगर्दा प्रविधिले जुराइ दिएर दश कक्षाका साथीहरूसंग पुनर्मिलन गर्न पाएकोमा मन खुसी भएको छ । यो खुशीले प्रविधिले मानिसको खुशी खोस्यो कि भन्ने चिन्ता मान्नु पर्ने छैन भन्ने दावी गर्न सक्ने अवस्थामा छु ।

भविष्यमा पनि प्रविधिले यस्तै खुशी थप्दै जान्छ कि दुःखका दिन लम्विएको जीवनले भोग्न पर्ने स्थिति सिर्जना हुने हो भन्ने खोज्ने जिम्मा भने अरूलाई नै दिएर अहिले म रमाउने कोसिसमा छु ।

(बेलायत निवासी बेल्बासे अधिवक्ता तथा लेखक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू