बिहीबार, वैशाख १३, २०८१
19:09 | २३:५४

महामारीकै बीच बेलायतका गुल्मेलीको अपांगता दिवस च्यारिटी, जुटाइयो ४ लाख

नेपाली लिङ्क डिसेम्बर ६, २०२०


लण्डन । विगत एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसर पारेर वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रमले महामारीकैबीच पनि निरन्तरता पाएको छ ।

आइतबार भर्चुअल रुपमा गरिएको दशौं अपांगता दिवस च्यारिटी कार्यक्रमबाट २७ सय पाउण्ड (४ लाख रुपिया बढी) को कोष जुटिसकेको कोषाध्यक्ष वरुण भण्डारीले बताए ।

संकलित कोषबाट केही रकम विगतमा जस्तै तम्घासस्थित आशा अपांग केन्द्रलाई प्रदान गरिने र बाँकी रकम जिल्लामै अपांगता भएकाहरुको सहयोगमा खर्चिने समाजको योजना छ ।

६ जनासम्मको जमघट गर्न पाउने छुटको उपयोग गर्दै अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल, संस्थापक अध्यक्ष ओमप्रसाद थापा,

सल्लाहकारहरु क्याप्टेन ताम ढेगा, टेक थापा र भक्त बलाल अल्डरसटमा भेला भएका थिए भने कार्यक्रमका अतिथि एवम् सहभागी अरु सबै भर्चुअल माध्यमबाट जोडिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले महामारीकै बेला पनि अपांगता भएकाहरुको सहयोगका लागि समाजले देखाएको अग्रसरता प्रशंसनीय रहेको धारणा व्यक्त गरिन् । समुदायको हितमा केन्द्रित कार्यक्रमहरुका लागि दूतावासको सहयोग र सहकार्य सधैं रहने उनले बताइन् ।

बेलायतको नेपाली समुदायमा पहिलोपटक आफ्नै गृहजिल्लावासीको च्यारिटीमा सहभागी हुने अवसर पाउँदा गौरवान्वित बनेको उनको भनाइ थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी ब्लाइन्ड रक्स नेपालकी सृष्टि केसी, आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझी र किर्तिमानी आरोही हरि बुढाले शुभकामना मन्तव्य दिंदै परोपकारका क्षेत्रमा गुल्मी जिल्ला समाजले गर्दै आएका कार्य समाज र देशका लागि समेत अनुकरणीय रहेको बताए ।

त्यसअवसरमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी, सल्लाहकार केशव भण्डारी र सल्लाहकार एवम् एनआरएनएनए यूके उपाध्यक्ष प्रेमगाहा मगरले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिए ।

कार्यक्रममा आशा अपांग केन्द्रकी सञ्चालिका रायमाझीले केन्द्रको हिसाबकिताब प्रस्तुत गरेकी थिइन् । समाजकी सचिव मञ्जु भण्डारी, एलिशा लामा राई लगायतले अपांगता दिवस विशेष सिर्जना वाचन गरेर सुनाएका थिए भने बेनिका पुन काउछाले गीत प्रस्तुत गरिन् ।

पशुपतिनाथ मन्दिर लण्डनका मूलगुरु निलहरि घिमिरेले गायत्री मन्त्रोच्चारण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । समाजले अपांगता दिवसका अवसरमा च्यारिटी कार्यक्रम गर्न शुरु गरेको दश वर्ष पुगेको खुशीयालीमा अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार क्याप्टेन ताम ढेगाले संयुक्त रुपमा पानसमा दीप बालेर केक काटेका थिए ।

समाजका अध्यक्ष टोप पल्लीले महामारीको असहज अवस्थामा पनि समाजको च्यारिटी कार्यक्रममा सहभागिता जनाउने सबै अतिथि, समाजका अग्रज एवम् सहयोगीहरुमा आभार प्रकट गरे । कार्यक्रम सफल पार्न दिनरात खटिने कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवम् सहयोगदाता सबैलाई उनले संस्थाकोतर्फबाट धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम सञ्चालन समाजका महासचिव बीर बलालले गरेका थिए । कार्यक्रममा समाजका अग्रज, सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायतको पनि उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू