बिहीबार, वैशाख ६, २०८१
14:59 | १९:४४

लिम्बूवान समाज यूकेको नेतृत्व मेन्याङ्वोलाई

नेपाली लिङ्क डिसेम्बर ५, २०२०


लन्डन ।  लिम्बूवान  समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् । समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो ।

​जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति निकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सुवर्ण इधिङ्गोले मेन्याङ्वोलाई पदीय जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

मेन्याङ्वो यसअघि सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष रहिसकेका छन् । उनी ब्रिटिस गोर्खा भेट्रान एसोसिएनका वरिष्ठ उपभापति, मेन्याङ्वो कल्याणकारी संस्था यूकेका अध्यक्ष, यूके ब्याडमिन्टन एसोसिएसनका महासचिव, युमा साम्यो महासभा यूकेका उपाध्यक्ष समेत हुन् । त्यसबाहेका दर्जन बढी सामाजिक अभियानमा उनी सक्रिय छन् ।​

पदीय हस्तान्तरण कार्यक्रममा उपस्थित भएर नवनियुक्त अध्यक्षलाई सपथ खुवाउँदै जसपा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले निर्णायक लिम्बूवान आन्दोलनमा प्रवासमा रहने समर्थकहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । ‘प्रवासमा रहेका नेपाली र लिम्बुवानवासी समर्थकहरूको नैतिक साथले धेरै महत्व राख्नेछ,’ उनले भने । उनले महामारी नियन्त्रण हुनेबित्तिकै नेपालमा बृहत लिम्बूवानी सभा आयोजना गर्ने जानकारी समेत दिए । 

यसैगरी, समितिका सल्लाहकार लाहाङ चेम्जोङले लिम्बूवान  भूगोल सभ्यताको आन्दोलन पनि भएको जिकिर गर्दै संसारभर छरिएर रहेका लिम्बूवानवासीहरूको सहयोगले रणनीतिक हिसाबले भूमिका खेल्नुपर्ने कुरा औंल्याए  । उनले नेपालका हरेक ठूला राजनीतिक आन्दोलनहरूमा प्रवासले कूटनीतिक रूपमा पहल गरेको उदाहरण दिए । 

कार्यक्रममा सल्लाहकार नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, युमा लिम्बु, मान तबेबुङ, अमित थेवे लगायतले शुभकामना दिएका थिए । कार्यक्रम समाजका सचिव छत्र वनेमले सञ्चालन गरेका थिए । नवनियुक्त अध्यक्ष मेन्याङ्वोले निकट भविष्यमै समितिलाई अधिवेशनमार्फत पूर्णता दिने बताए । 

-अमित याक्थुङ्वा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू