शनिबार, वैशाख १५, २०८१
06:00 | १०:४५

बेलायतस्थित बुद्धिजिवीको मुल्यांकनमा राजदूत डा. सुवेदीका चार वर्ष

नेपाली लिङ्क डिसेम्बर ४, २०२०

लन्डन । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्को महिना आफ्नो चार वर्षे कार्यकाल सकेर फर्कने तयारीमा छन् । राजदूत डा. सुवेदीको कार्यकाललाई बेलायतस्थित बुद्धिजिवीले सकारात्मक लिएका छन् । बेलायत-नेपाल र जनता जनताबीचको सम्बन्ध थप प्रगाढ बनाउने दिशामा राजदूत सफल रहेको प्राज्ञिक क्षेत्रको मुल्यांकन छ ।

लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी राजदूतलाई ‘वहुआयामिक’ व्यक्तित्वका रुपमा लिन्छन् । ‘राजदूत सुवेदीले नेपाल र बेलायतबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा नयां उचाईंमा पुरयाउनु भएको छ’, प्रा.डा. सुवेदीले नेपाली लिंकसंग भने, ‘बेलायतसंग नेपालको सम्बन्धलाई अझ प्रगाढ बनाउन, बेलायतमा नेपालको छवी अभिवृद्धि गर्न र बेलायतस्थित नेपालीहरुलाई उत्साह प्रदान गर्न राजदूत सुवेदीले उल्लेख्य र दुरदर्शीतापूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यी सबै योगदानका लागि म उहांलाई हार्दिक धन्यवाद र बधाइ दिन चाहन्छु ।’

प्राध्यापक सुवेदीको बुझाइमा कुनै पनि राजदूतको मुख्य प्राथमिकता बेलायत-नेपाल द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने, बेलायतमा नेपाललाई प्रवर्धन गर्ने, बेलायतस्थित नेपालीलाई उत्कृष्ट सेवा र सहयोग प्रदान गर्ने, बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्रयाउन पहल गर्ने, नेपालको पर्यटन प्रवर्धन गर्ने, बेलायतका नेपाली जनतालाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा सफल बन्न अभिप्रेरित तथा सहयोग गर्ने हुन्छ र त्यो भूमिका राजदूत सुवेदीले सफलतापूर्वक वहन गरे ।

डार्टफोर्ड काउन्सिलका पूर्व काउन्सिलर, अघिल्लो संसदीय चुनावमा उम्मेदवार तथा लन्डनस्थित क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी पनि राजदूतको कार्यकाल सफल रहेको बताउंछन् । ‘मेरो विचारमा उहां दक्ष र सफल कूटनीतिज्ञ हो ।कूटनैतिक क्षेत्रमा मात्रै होइन, साहित्य, कला र विविध काममार्फत बेलायतवासी नेपालीसंग जनस्तरमा सम्बन्ध विकास र विस्तारमा उहां सफल हुनुभयो भन्ने मेरो मान्यता छ’, कैनीले भने ।

राजदूतावासले धेरै नेपाल विकास कार्यशाला वा सम्मेलन गरेका कारण बेलायतवासी नेपालीले देश विकासमा आफ्नो सीप र दक्षता हस्तान्तरण गर्न सक्छन् भन्ने देखिएको उनले उल्लेख गरे ।

‘केहीको विचारमा राजदूतावास कूटनैतिक कामबाट अलि पर गएर गैर कूटनीतिक काममा केन्द्रित भयो भन्ने पनि छ’, उनको बुझाइ छ, ‘यो केही हदसम्म सत्य भएपनि राजदूतका कारण धेरै बेलायतवासी नेपालीका लागि दूतावासको ढोका खुल्ला रह्यो । यो निकै सकारात्मक काम हो ।’

ब्रिटेन नेपाल प्रज्ञा परिषद्का अध्यक्ष डा. कृष्णप्रसाद अधिकारी नेपाली राजदूतको हैसियतले सुवेदीको कार्यकाल तुलनात्मक रूपमा प्रभावकारी रहेको ठान्छन् । 

‘उहाँ एक कुशल कूटनीतिज्ञ हो । उहाँकै कार्यकालमा गोर्खा समस्याका बारेमा त्रिपक्षीय कार्यदल बनी प्रतिवेदन आउनु र नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण आयोजना भई समकक्षीसँगको भेटमा यो विषय उठाइनु सकारात्मक कदम हो’- उनले भने- ‘यद्यपि यो विषय कुनै टुङ्गोमा पुग्लाजस्तो देखिएको छैन् ।’

सुवेदीको आगमनसंगै अधिकारी आफूले अध्यक्षता गरेको बेलायत-नेपाल प्रज्ञा परिषदसँग पनि उनले केही सहकार्य गर्ने कोसिस गरेको स्मरण गर्छन् । ‘उहाँको आगमनसँगै उहाँकै अग्रसरतामा नेपाल-बेलायत सम्बन्ध दुई-शताब्दी पुगेको उपलक्ष्यमा समापन उत्सव आयोजना गरिएको थियो । प्राज्ञिक क्षेत्रमा हेर्दा आफैं साहित्यकार भएका कारण बेलायती नेपाली साहित्य विधामा उहाँको धेरै हिमचिम, लगानी र योगदान देखियो । उहाँले शृंखलाकै रूपमा विभिन्न क्षेत्रलाई परिचालन गरेर एक दर्जनजति नेपाल विकास सम्मलेन आयोजना गर्नु पनि सकारात्मक कदम मान्नु पर्छ ।’

ति सम्मेलनबाट के प्राप्त भयो? के नतिजा आयो? त्यो भने देखिन बाँकी रहेको अधिकारीले बताए । आगामी दिनमा यस्ता सम्मलेन गर्दा प्राज्ञिक छलफलका विधि पद्दतिलाई अपनाउन सके अझै प्रभावकारिता बढ्ने उनको विश्वास छ ।

‘मैले संगत गरेका उहाँलगायतका नेपाली कूटनीतिज्ञहरूले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने र नेपाल-बेलायत सम्बन्धलाई यथास्थितिभन्दा माथि उठाउने सपना राखे पनि त्यो पुरा हुन सकेन्’,  डा. अधिकारीले टिप्पणी गरे, ‘दु:खद संयोग, भर्खरै मात्र १०० वर्षे इतिहास बोकेको युरोपकै एकमात्र नेपाली अध्यापन हुने संस्था सोआसको नेपाली कार्यक्रम बन्द भएको छ । बीएनएसीको अध्यक्षको हैसियतले बचाउन सकिन्छ कि भनेर मैले उहाँसँग समन्वय गर्ने कोसिस गरेको थिएँ । उहाँकै कार्यकालमा यो नेपाली कार्यक्रम बन्द हुँदा नेपालको प्रतिनिधि त्यसैमा पनि नेपाली भाषाको स्थापित साहित्यकारको हिसाबले उहाँको मनमा पनि दु:ख लागेको होला । यो विषयमा सबै नेपालीले, त्यसमा पनि नेपाल सरकारले यथेष्ट चासो दिनुपर्ने हो, सायद यो विषयमा यथोचित प्रयास भएन कि भन्ने लागेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू