मंगलबार, चैत ६, २०८०
05:32 | ११:१७

बेलायती चिकित्सक छोराको दु:खी बाबु !

कथा

भीम राई नोभेम्बर २८, २०२०

भीम राई

‘मम्मी । बाई बाई’

थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसंगै उडिरहेको थियो । शब्दले राम्ररी पूर्णविराम लिन नपाउंदै आफ्नो प्यारी मम्मीलाई गरल्याम्मै अङ्गालो हाल्यो । पांच सेकेण्ड जति अङ्गालोमा बांधियो, त्यसपछि छुटिहाल्यो ।

घरको भुईंतलामा काठका फल्याकहरु बिछ्याइएका थिए । तिनै काठमाथि टेक्ता निस्केको टकटक आवाजसंगसंगै निरजका कदमहरु केही अगाडि बढ्यो । घरको मुलढोका नजिक पुग्यो र घन्द्रङ्ग ढोका खोल्यो ।

ढोका खोलेर घरदेखि बाहिर निस्कंदा उसको दाहिने कांधमा भिरेको सानो ल्यापटपको झोलाले एकाध लिङ्गे पिङ खेलिरहेको जस्तो आभास हुन्थ्यो । त्यै पनि उसले त्यो झोलालाई खासै वास्ता गरेको देखिएको थिएन् । तर, उसको देब्रे हातले कारको चाबी कक्रकै समातिरहेको मैले नजिकैको दुरीदेखि गिद्धे दृष्टि लगाइरहेको थिएं ।

हाम्रो घरको ठिक बायँंतिर जेम्स सडक पर्दथ्यो । त्यही सडक किनारमा निरजको कार मज्जाले आराम गरिरहेको थियो । ऊ विगत पांच वर्षदेखि त्यही कारबाट काममा जाने आउने गरिरहेको थियो । उसले काम सुरु गरेदेखि बचाएको पहिलो तीन महिनाको वेतनले खरिद गरेको त्यो नै उसको जीवनको पहिलो कार थियो । तर जति जति उसको टाउकोको केस पाक्दै गइरहेको थियो, कारको उमेर पनि उसको उमेरसंगसंगै ढल्कदै जांदै थियो । र, कारले अस्ति भर्खरै मात्र दशौं वार्षिकी मनाएर एउटा इतिहास खडा गरिसकेको थियो ।

निरज कछुवा गतिमा हिंडेर कार नजिकै पुग्यो । त्यसपछि ढोका खोलेर भित्र पस्यो । भित्र पस्ने बित्तिकै खटट कारलाई स्टार्ट गरयो । मनभरि एकमुरी पिरको भारी बोकेर म त्यही सडकको पेटीमा उभिरहेको थिएं । र, उसले घर छाडनै लागेको 
नरमाइलो दृश्य नियालिरहेको थिएं ।

लिभरपुल छाडेदेखि कामको सिलसिलामा उसले म्यानचेस्टर, बर्मिङघाम, वुस्टर र कभेन्ट्रीमा पटक पटक डेरा सारिरहेको गन्दा पांच वसन्तहरुलाई विदाइ गरिसकेको रहेछ । म कारको नजिकै उभिएर दुवै हात कम्मरमा राखें र उसको विषयमा केहि सोच्न थालें । खै अझै कति वसन्तहरु यसरी जाने हुन् ? तर त्यसपटक चाहिं ऊ ‘जोन रेडक्लिफ अस्पताल, अक्सफोर्ड’ सर्नै लागेको थियो । तर के गर्ने ? वर्तमान परिस्थिति पहिलेको जस्तो थिएन । बिल्कुल फरक थियो ।

गत डिसेम्बर महिनादेखि वुहान, चीनमा उत्पन्न भएको कोरोना भाइरसले बेलायत पनि अछुतो रहन सकेको थिएन । र, त्यही भाइरसलाई बसमा ल्याउन अर्को हप्ता देखि पुरै बेलायत लकडाउनमा जांदै थियो । भाइरसले स्पेन र इटालीमा मरेका मानिसहरुको लासको पहाडलाई ब्यवस्थित गर्न हम्मे हम्मे परेको टेलिभिजनको पर्दामा देख्दा मेरा आङ्ग जिरिङ्ग हुने गर्दथ्यो । सारा मानव जीवन तहसनहस पार्ने त्यस क्रुर भाइरसले चीनदेखि इटालीसम्मका चिकित्सकहरुलाई सबैभन्दा पहिले मृत्युको काखमा पुरयाएको थियो ।

‘अब भाइरसले कसको आंशु छचल्किएर पहिले पोखिने हो ? बाबु, आमा कि छोरा ?’

हिजोदेखि मेरो ह्दयभित्र तिनै अनुतरित्त प्रश्नहरु बर्सिरहेका थिए । सांच्चै समय कति बलवान हुने 
रहेछ । कुन समयमा र कहांदेखि कस्तो हुरी वहन्छ, कसैलाई पत्तै हुंदैन रहेछ । अनि त्यसबेलाको समय भनेको मानिसदेखि मानिस डराउने समय आइरहेको थियो ।

निरज कार हिंडाउनका लागि तयार हुंदै थियो । तर, उसले कार हिंडाउन भन्दा पहिले मलाई कर्के नजर लगाएर एकझलक हेर्यो । म त्यसबेला कुन शब्दले अन्तिम विदाई गर्नेहोला भनेर थोरै सशंकित मुद्रामा थिएं । अब हाम्रो फेरि भेट होला कि नहोला भन्ने मनभित्र त्रास उत्पन्न भइरहेको थियो ।

म स्वभावैले बोलक्कड मान्छे थिएं । तर, त्यसबेला जिन्दगीमा प्रथमचोटी मलाई शब्दहरुको ठूलो खडेरी लाग्यो । उसको हेराइले हाम्रा नयनहरु धेरैबेर सम्म संगसंगै रहन सकेनन् । त्यसैले मेरो टाउको सुस्तरी दाहिनेतिर घुमाइ दिएं । बिहानभरि परेको सिमसिमे पानीले भिजेको ‘हार्डवीक हिलको’ चुचुरोमा जुन टुप्लुक्क उदाइरहेको देखें ।

अरुबेला म जुनलाई प्रेम गर्थें । जुन उदाएको हरेक बेलुकी बैठक कोठामा बसेर त्यसको रमिता 
हेर्ने गर्दथें । हाइल्याण्डर सिङ्गल माल्टको चुस्कीसंग घण्टौ समय बिताउंदथे । मदहोस भएपछि तिम्रो सुन्दर वक्षस्थलमा मानिसले टेकिसकेका छन् भनेर गौरवका साथ जुनलाई भन्ने गर्दथें । तर, त्यसबेलुकी मलाई त्यो पापी जुनले केही आकर्षित गर्न सकेन । जुनको मुस्कानसंग घीन लागेर आयो । मनभित्र ठूलो वितृष्णा पैदा गराइरह्यो ।

त्यस्तो पापी जुनको दृश्यदेखि मेरो टाउकोलाई सर्लक्कै दायां फर्काइ दिएं । मेरा तृप्त नयनहरु भान्सा कोठाको झ्यालमा पुगेर ठोकियो । भान्साकोठाको झ्याल बङलङ्गै दुईतिर खोलिएको थियो । त्यही झ्यालदेखि सिम्मा बाबु र छोराको मज्जाले रमिता हेरिरहेकी थिइन् ।

गोधूली सांझको फुरुरु हावाले झ्यालको पर्दा सरर हल्लिरहेका देखिन्थे । त्यसबेला मलाई सिम्माको टाउको र झ्यालको पर्दा एकअर्कामा लुकामारी खेलिरहेझैं आभास भयो । तर, उनको त्यो दर्दनाक हेराइले मलाई कति पीडा दिइरहेकी छिन् भनेर बिचरी सिम्मालाई के थाहा होला ?

बानबुरीको मौसमको अंध्यारो पछ्यौरीले सडकलाई गरल्याम्मै ढाक्न थालेको थियो । तर सडक किनारको बत्तिहरुले प्रातकालसंग जुहारी खेल्न कोशिस गरिरहेको थियो । बत्तिको प्रकाश कारभित्र छिरि सकेका थिएनन् । त्यसैले अंध्यारोमा निरजको शरीरको झिनो स्वरुप मात्रै मेरो आंखा सामन्ने नांचिरहेको थियो ।

म त्यसबेलासम्म सडक किनारमा एक्लै उभिरहेको थिएं । अरुबेला खुरुरु साइकल कुदाइ हिंड्ने अंग्रेजका स साना नानीहरु मार्था, जोन, डेभिड र मिसाएल महामारीको डरले घरदेखि बाहिर निस्कन छाडिसकेका थिए । नत्रभने कठङ्ग्रिदो बेलायती हिउंदले बिदा लिएपछि उनीहरुले सडकमा हरेक बेलुकी उधुम मचाउने गर्दथे ।

अस्तिको दिनदेखि बेलायतमा मार्च महिना भित्रिएको थियो । मार्च महिनाले रुखबिरुवा एवं वनस्पतिका कलिला पात र मुनालाई आत्मियताका साथ स्वागत गरिरहेका यत्रतत्र देख्न सकिन्थ्यो । तर, त्यति राम्रो मौसमको आशामा बांचेका बेलायतीहरु विश्वभरि फैलिरहेको कोरोना महामारीको त्रासदीले, ‘खाउं भने ठ्याक्कै कान्छा बाबुको अनुहार’ भइरहेका थिए ।

‘ड्याडी आखिर म जानैपर्छ, बरु म गएं है ?’

निरजले म तिर हेरेर अन्तिम चोटी बिदा माग्यो । सडकमा झन्झन् सांझ छिप्पिंदै गइरहेको थियो । कार भित्रका मानिसलाई चिन्न निक्कै कठिन हुन थालिसकेको थियो । छोरा सानो छंदादेखि सुनेको त्यो हिमचिमको अन्तिम आवाज मलाई अति कर्णप्रिय लागिरह्यो । प्रत्युत्तरमा म त्यति धेरै बोल्न सकिरहेको थिइन् । त्यसैले दाहिने हात उठाएर भनें, ‘छोरा आफू बांच्नु र अरुलाई पनि बचाउनु है ?’

मेरो शब्द राम्ररी हावामा विलीन हुन नपाउंदै फोर्ड, फिएस्टाको दायांपट्टि सङ्केत बत्ति बल्न थाल्यो । बिस्तारै चक्का गुड्यो र कारले आफ्नो गति क्रमशः अगाडि बढाइरह्यो । मैले राम्रोसंग सास तान्न पाउंदा नपाउंदै कार साउथाम सडकमा मिसिहाल्यो । केहिबेर अगाडिसम्म पापी जुनलाई गाली गरिरहेको थिएं । त्यसबेला त्यही जुनको सहायताले फिएस्टालाई अनवरत नियालिरहें । निमेषभरमा फिएस्टा बानबुरीको बजारभित्र विलय भइहाल्यो ।

थोत्रो फिएस्टाले सडक किनारमा मलाई एक्लै छाडि राख्यो । म आफ्नै घरबाहिर बाटो हराएको एउटा अर्ध पागलझैं बनेर एक्लै उभिरहें । केहिबेरमा चहकिलो बत्तिको प्रकाश छर्दै एउटा गाडी मेरो सामुन्ने आएर टक्क रोकियो । बत्तिको चम्किलो प्रकाशले चालकलाई राम्ररी ठम्याउन सकिरहेको थिइन् । तर, उसले गाडी रोक्ने बितिक्कै झ्याल खोलेर–

‘मेरो साथी अवस्था मानिसहरुले सोचे भन्दा निक्कै नाजुक भएको छ । कोभिड विरामीहरुले होर्टन अस्पतालको बिस्तारा पुरै भरिसकिएको छ ।’

नयां रेन्जरोभरमा आएका डा. जोन फ्रान्सिस मेरो पल्लो घरको छिमेकी हुन् । र, उनी हर्टन अस्पतालमा सिनियर कन्सल्टेन्टको काम गर्दथे । उसको मुखबाट निस्केको करुणामय स्वरले मेरो मनभित्रको सागरमा ठूलो ज्वारभाटा मच्चिन थाल्यो । किनभने मैले भर्खरै छोरोलाई आफ्नो कर्तब्यपथमा लम्किरहनु है भनेर विदाई गरेको थिएं ।

समयले नेटो काटिरहेको थियो, ‘घरभित्र पस्ने होइन ?’

सिम्माले छाडेकी उराठिलो स्वर बरालिंदै मेरो कानको जाली नजिक पुगेर ठोकियो । म त्यसबेला भयानक ठूलो त्रासदीको भुमरीमा डुबिरहेको थिएं । उसको स्वर सुनेपछि आत्मविश्वासका साथ घरभित्र पसें । अनि मनमनै सोचें, ‘संसारमा हुने हरेक चिजहरु क्षणिक हुन्छन्, र कुनै न कुनै दिन कोरोनाको पनि कसो अन्त्य नहोला ?’

घरभित्र पसेर सिम्माको थकित अनुहारलाई राम्ररी पढें । मेरो भित्रिमन उनीसंग केहि बोल्न खोजिरहेका थिए । तर, उनको फुङ्गै उडेको अनुहार देखेर मेरा ओठहरुलाई तालाचाबी लगाइदिएं । त्यसैले केहि नबोलि थपक्कै एउटा कुर्सी तानेर बसें । म त्यसरी कुर्सीमा बस्दा उनी मेरो ठिक विपरित दिशामा बसिरहेकी थिइन् ।

‘अब छोरासंग भेट हुन्छ कि हुंदैन होला ?’

आंखाको नानीहरु गोलभेंडा भन्दा राता राता बनाइन् र मेरो बायां छातीमा उनले पहिलो धनुषबांण प्रहार गरिन् ।

‘खै म पनि के नै भन्न सक्छु र ?’

जस्तो प्रश्न आएको थियो, उस्तै जवाफ फर्काइदिएं । अझ छोरा चिकित्सक हुंदा सबैभन्दा बढि प्रसन्न त सिम्मानै भएकी थिइन् । तर कसलाई थाहा हुंदोरहेछ र ? ‘हरेक सुखको अन्त्यमा पीडाको भारी हुनेरहेछ,’ भन्ने ।

मलाई किन किन सिम्मासंग गलबाजी गरिरहन मन लागेको थिएन् । त्यसैले उनलाई भान्सा कोठामा एक्लै छाडिराखें । त्यहांदेखि निस्केर म बैठक कोठामा पुगें । निसबन्द अंध्यारो बैठक कोठा भूतबङ्गला जस्तै देखिएको थियो । सबैभन्दा पहिले बत्ति बालें । र, दुवैहात गालामा राखेर थपक्क सोफामा बसें ।

बायांपट्टि कुनामा एउटा पुरानो डेनम रेडियो थियो । आक्कल झुक्कल बज्ने त्यो रेडियोमा मेण्डरिन भाषाकी गायिका टेरेसा वङ्गको ‘म तिमीलाई असाध्यै माया गर्छु,’ भन्ने गीत बजाएं र छोराको आकर्षक अनुहारलाई सम्झन थालें । रेडियोको ठिक सामुन्ने एउटा ठूलो तस्विर सङ्ग्रहको पुस्तिका थियो । त्यसलाई खोलेर हरेक पानामा मज्जाले नजर लगाउन थालें । जहां निरज जन्मेदेखि तीसौं वार्षिकी मनाइन्जेलसम्मका तस्विरहरु कैद गरेर राखिएका थिए ।

म मदहोस पागलझैं बने । केहि लामो समयसम्म उसको तस्विरहरु नियालिरहें । बानबुरीको कोलाहलमय सुनसान रात छिपिंदै छिपिंदै थियो । तस्बिरले छियाछिया बनाएका दुःखी आत्मा लिएर बिस्तारामा ढल्किनका लागि भरयाङ चढेर तलामाथि निस्कें । किनभने, ‘आखिर तस्बिर तस्बिर नै हुन्छ, त्यो जतिसुकै प्रिय भएपनि आवाज बिहीन हुन्छन्,’ भन्ने मलाई लागिरहेको थियो ।

निरजले घर छाडेको दुईहप्ता भइसकेको थियो । बेलायतमा दिन दुई गुणा, रात चौ गुणा मानिसहरु मर्नेक्रम चलिरह्यो । छोराको मायाले सिम्मा बाटो भुलेको एउटा निमुखो जनावरको बच्चाझैं बनिरहेकी थिइन् । अनि मैले त्यो खङरङ्ग परेको उनको निर्वल, निष्कृय र मधुरो अनुहार हरेक सांझ बिहान जीवन दिइरहनु परेको थियो ।

अर्को हप्ता बिहीबारको दिन थियो । आठबजे बेलुकी हामी घरको मुलढोका बाहिर निस्क्यौ । र, बेलायती ‘राष्ट्रिय स्वस्थसेवाका’ कर्मचारीहरुलाई सम्झेर ताली बजायौं । त्यसदिन देखि हरेक बिहीबार बेलुकी आठबजे सबै छिमेकीहरुसंग एनएचएसका 
कर्मचारीहरुले आफ्नो जीवनलाई जोखिम मोलेर राष्ट्रको सेवा गरेकामा ताली बजाएर उच्च मुल्याङ्कन गर्नु पर्दथ्यो ।

दिन, हप्ता र महिना क्रमशः बित्दै गए । चार महिनापछि सिम्माले आफ्नो प्रिय छोरालाई भेट्न असाध्यै रहर गरिन् । जुलाइको पहिलो सप्ताहन्तमा हामी अक्सफोर्डतर्फ लागेका थियौं । बेलायती ठूलो बाटो ‘एम ४०’ मा पुगेका मात्र थियौं । मोटरले किचेर मारेको एउटा फ्याउराको बच्चा हाम्रा अगाडि देखा परयो । मरेका फ्याउरा देखेर अनुहार कच्याकुचुक बनाउंदै सिम्मा बोल्न थालिन् ।

‘मानिस र जनावरको जिन्दगी कति फरक छ हगि ?’

केहि सोचविचार नगरि उनको मुखदेखि प्याट्ट निस्केको त्यो शब्दले मेरो ह्दय थोरै कमजोर बनाइदियो । किनभने त्यो फ्याउराको बच्चा जस्तै हाम्रो पनि एउटा हुर्किसकेको बच्चा थियो । त्यही हुर्किसकेको बच्चा हाम्रो आशाको धरहरा पनि थियो । जसलाई भेटन हामी समयको विरुद्ध बाटोमा गुडिरहेका थियौं । तर, अचानक बाटोमा देखिएको मृत फ्याउराको बाबुलाई सम्झेर म केहिबेर भावुक बनिरहें ।

त्यसदिनको मौसम ज्यादै सफा थियो । चिल्टर्न पर्वतदेखि उदाएको सूर्यले दुई टाङ्गो यात्रा गरिसकेको थियो । सूर्यको गतिसंगसंगै हामीले आधा घण्टा यात्रा पुरा गरयौं । त्यसपछि, ‘१० नोवल सडक, अक्सफोर्डको’ ठिक सामुन्ने पुगेका थियौं । त्यही घरमा इटालियन डा. पाब्लो पियानो र ग्रीक नर्स उरानीय हाटसिउसंगै हाम्रो छोराले डेरा गरेका थिए ।

मैले निरजको डेराभन्दा थोरै टाढा मोटर रोकें । सिम्माले छोराका लागि बनाइदिएका खानेकुराको पोको लगेर ढोकाको ठिक अगाडि राखिदिइन् । त्यसपछि, उनी फर्केर मोटरभित्र आइन् । उनी मोटरभित्र छिर्ने बित्तिकै मैले छोरालाई फोन गरेर हामी बाहिर आइपुगेको जानकारी दिएं ।

बेलायती लकडाउनले चार महिनासम्म बढेर वशिष्ठ ऋषिको जस्तो केस, नाक र मुख जम्मै ढाकेका सर्जिकल मास्क र हातमा निलो पन्जा लगाएर छोरा उसको डेरादेखि बाहिर निस्क्यो । खङरङ्ग घटेर लुते भएको छोरोले त्यही ढोकाको नजिकै उभिएर हामीसंग फोनमा कुरा गर्न थाल्यो ।

‘छोरा यस्तो दिन पनि आउने रहेछ हगि ?’

मलाई उछिन्दै सिम्मा पहिले बोल्न थालिन् । हामीले त्यसबेला कारको स्पिकर फोन प्रयोग गरिरहेका थियौं । आफ्नै छोरासंग प्रत्यक्ष भेटेर बोल्न नपाउंदा सिम्माको अनुहारमा कालो बादल मडारिरहेको स्पष्ट देख्न सकिन्थ्यो । तर, उनले छोरासंग बोल्ने क्रममा पटक पटक आंखाका ढकनीहरु बन्द गर्दै खोल्दै गरिरहेकी मैले नजिकबाट नियालिरहेको थिएं ।

उनको गहभरि आंसु थियो र हरेक शब्दहरुसंग आंसुका थोपाहरु मिसिरहेको हुन्थे । मैले केहिबेर पछि तरल तरल उनको नयनहरु रगताम्य देख्न थालेको थिएं । अनि क्रमशः छचल्किएर पोखिएका उनका आंसुका थोपाहरु गलाको पछ्यौरीमा विश्राम गर्न थालेका थिए ।

सिम्माको त्यो ब्यवहारले मलाई हल्का विस्मृति पैदा गराइरहेको थियो । सायद उनलाई थाहा नहुन सक्छ, ‘सबैभन्दा ठूलो कुरा भनेको त आखिर जिन्दगी नै हो ।’ जीवन र जगत छ, त्यसैले गर्दा हामी छौं । नत्रभने मरेपछि त सकिहाल्छ नि । त्यसपछि जिन्दगी केवल फगत एउटा सुकेको काठका मुढा जस्तै त हो । अनि मृत्यु कति दुष्ट, निर्दयी र पापी हुंदो रहेछ । यही कोरोनाका कारण ज जसले आफन्तहरु गुमाइसकेका छन्, उनीहरुलाई परेको ब्यथाको पिर मलाई राम्रैसंग थाहा थियो । उनीहरुको ‘आंसुको भाषा’ मैले मज्जाले बुझिसकेको थिएं ।

यदि उनले भनेझैं छोरालाई नजिकदेखि भेटेको भए त्यो एउटा जोखिमपूर्ण निर्णय हुने थियो । किनभने, उसको फ्ल्याटमा बस्ने साथीहरु जेआर अस्पतालको ‘कोभिड विभागमा’ काम गरिरहेका थिए । त्यहांको कोभिड विभागमा हरेक दिन नयां बिरामीहरु थपिरहेका हुन्थे । त्यसरी दिनहुं नयां बिरामीहरु आउंदा उनीहरुले पुराना बिमारीहरुलाई हरेक दिन गुमाइसकेका हुन्थे । प्रत्येक दिन त्यहां घट्ने त्यस्तो पीडादायक घट्ना छोराले हामीलाई सुनाइरहंदा ऊ आंसुको सागरमा डुबिरहेको थियो ।

तर अन्तमा, ड्याडी घर आउन एकदम रहर लागिरहेको थियो । अनि सुन्नोस् न म हप्तामा दुई तीन चोटी ‘फोसकोट’ निजी अस्पताल बानबुरी जाने गरिरहेको छु । र, त्यहां जांदा हाम्रो घरको अगाडिदेखि जानुपर्ने हुन्छ । त्यसरी घरको अगाडिदेखि जांदा घरको ढोका ढकढक्याउन मन लागिरहेको हुन्छ । तर, तपाईंहरु म संग डराउनु हुन्छ होला भनेर कहिले पनि घरभित्र पस्ने कोशिस गरेको छैन् । तैपनि मम्मीले बनाउनु भएको खानेकुराको बासनासंगसंगै हार्डवीक हिलको बाटो काटेर अक्सफोर्ड आउने गर्दथें ।

‘म अब कहिले घर आउन पाउंछु होला ?’

निरजको पीडादायक त्यो प्रश्नले मलाई ‘चिकित्सकको बाबु’ हुनु जतिको पीर अन्य समयमा कहिले भएको थिएन् । मेरा अस्थिपन्जरले साठी हिउंदका भारीहरु खपिसकेका थिए । तर, त्यतिको दर्द कहिले भोगेको थिइन् । अब छोरासंग बांकी प्रश्नको अपेक्षा गर्न छाडें । र, उसको तिनै शब्दलाई अन्तिम शब्द बनाउने निर्णय लिएं । त्यसपछि, केहि नबोलि टिट टिट हर्न बजाउंदै बाटो लागें । केहि अगाडि पुगेर अन्तिम चोटी बीचको ऐनामा उसलाई एक झलक हेरें ।

त्यसबेलासम्म उसले हामीलाई हेरिरहेको थियो । अनि उसको दाहिने हात माथि माथि आकासतिर उठिरहेको थियो ।

हामी एक घण्टापछि बानबुरीको गोलघुम्तीमा पुगिसकेका थियौं । सधैं ब्यस्त रहने त्यो घुम्तीमा त्यसबेला एउटै गाडीहरु देखापरेका थिएनन् । तर, साउथम रोडको ट्राफिक बत्तिमा मैले मोटर रोक्दा हाम्रो अगाडि एउटा र पछाडि अर्को कालो मर्सिडिज शवबाहनहरु देखा परिरहेका थिए । अरुबेला शवबाहन मलामीहरु बोक्ने पुच्छ्रे मोटरको अगाडि अगाडि हिडिरहेका हुन्थे ।

तर, त्यसदिन पुच्छ्रे मोटर बिना शवबाहनको बीचबीचमा हामी परेको देखेर– ‘बुढो कोरोनाले कुनदिन कसलाई लाने होला ? अनि यसरी शवबाहनमा को पहिले चढ्नु पर्ने होला ? त्यसैले त्यो दिन नआएपनि हुन्थ्यो ? भन्ने सिम्माको प्रश्न आउंदा नाजवाफ बनिरहेको थिएं ।

अर्को महिना, निरजलाई कोरोना भएको हामीलाई टेलिफोन गरेर भनेको थियो । तर, हामी उसलाई चाहेर पनि भेट्न सकिरहेका थिएनौं । हामीले जे सोचिरहेका थिएनौं, अन्तमा त्यही घटना घट्यो । गतराति छोराको मृत्यु भएको खबर डा. पाब्लो पियानोले फोनद्वारा जानकारी गरायो ।

त्यस्तो वियोगको खबर सुनेर सिम्मा बेहोस भइन् । घरमा एम्बुलेन्स आयो र उनलाई हर्टन अस्पतालको सघन उपचार केन्द्रमा पुरयाइयो । एकल छोराको मृत्यु भएको पांच दिनपछि जुलियन फयुनरल डाइरेक्टरले उसको शव हानवेल समाधिस्थलमा ल्याएको थियो ।

सिम्मा त्यसबेलासम्म अस्पतालको मृत्युशैयामा नै थिइन् । कोरोनाको महामारीले त्यहां मलामीहरु उपस्थित भएका थिएनन् । शोकका धुनहरु बजेनन् र कसैले फूल चढाएनन् । एउटा फूलको बुके लिएर चिकित्सक छोराको अन्तिम सम्मानको मट्टि दिनका लागि म एक्लै हानवेल समाधिस्थल पुगेको थिएं । प्रिय छोराको मृत शरीर जमिनमा गाडिंदै गर्दा ‘चिकित्सकको बाबु’ हुनुजतिको पीडा यो जिन्दगीमा मलाई कहिलै परेको थिएन ।

अक्सफोर्ड, बेलायत

(प्रस्तुत लेख अहिलेको परिस्थितिसँग मेल खाने कथा हो, वास्तविक घट्ना होइन्-सम्पादक)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू