मंगलबार, चैत ६, २०८०
02:48 | ०८:३३

बेलायती विश्वविद्यालयमा सय वर्षदेखि हुंदै आएको नेपाली पढाइ बन्द

नेपाली लिङ्क नोभेम्बर २७, २०२०

लण्डन । बेलायतस्थित एक विश्वविद्यालयमा झण्डै एक सय वर्षदेखि हुंदै आएको नेपाली भाषाको पढाइ बन्द भएको छ । 

‘स्कुल अफ अरियन्टल स्टडिज्’ (सोआस्) यनिभर्सिटी लण्डनको नेपाली भाषा विभाग सम्हाल्दै आएका प्राध्यापक माइकल हटले अवकाश लिएपछि नेपाली भाषाको पढाइ नै बन्द हुने अवस्थामा पुगेको हो । 

युनिभर्सिटीमार्फत लामो समयदेखि नेपाली भाषाको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै आएका प्राध्यापक हटले दुई महिनाअघि अवकाश लिएका हुन् । सोहि विश्वविद्यालयमा नेपाली भाषाको विद्यार्थी र प्राध्यापकका रुपमा उनले झण्डै ४ दशक बिताएका थिए ।

सोआस् युनिभर्सिटीले जनशक्तिको अभावमा नेपाली भाषाको पढाइ बन्द गर्नुपरेको बताएको छ । युनिभर्सिटीको वेबसाइटमा ‘स्टाफ रिटायरमेन्ट’ को कारण नेपाली भाषाको पढाइ सञ्चालन गर्न नसकिएको उल्लेख छ । 

युनिभर्सिटी स्रोतका अनुसार झण्डै एक सय वर्षअघिदेखि नै सोआस् युनिभर्सिटीमा नेपाली भाषाको पठनपाठन शुरु भएको थियो । कुनै समय गोर्खा राइफल्समा समेत सेवा गरेका प्राध्यापक राल्फ एल टर्नरले सन् १९२० को दशकमा नेपाली भाषाको पढाइ शुरु गराएका थिए । 

युनिभर्सिटीको अन्डरग्रयाजुएट डिग्रीका लागि आवश्यक जम्मा क्रेडिटको २५ प्रतिशतसम्म नेपाली भाषा विषयबाट हासिल गर्न सकिन्थ्यो । 

प्राध्यापक माइकल हट

पछिल्लो समय बेलायती विश्वविद्यालयहरुको शुल्क निकै महंगो भएसंगै धेरै विद्यार्थीको रोजाइ जागिर पाउन सजिलो हुने खालका विषयहरु बन्न थालेका छन् । यहि प्रवृत्तिको प्रभावस्वरुप सोआस् युनिभर्सिटीको नेपाली विषयमा विद्यार्थीहरु घट्दै गएको अनुभव प्राध्यापक हटले सुनाउँदै आएका थिए । फलस्वरुप उनको अवकाशसंगै सोआस् युनिभर्सिटीको एक शताब्दी लामो नेपाली भाषासंगको नाता पनि अब टुटेको छ । 

पश्चिमा मुलुकहरुमा पाठ्यक्रममै समावेश भएर नेपाली भाषाको पठनपाठन हुने सम्भवतः सोआस् नै एक मात्र विश्वविद्यालय थियो । जहाँ अझै पनि संस्कृति, हिन्दी, उर्दू र पञ्जावी भाषाको पढाइ हुने गरेको छ ।

युनिभर्सिटीमा नेपाली भाषाको प्रवर्द्धनका लागि नियमित रुपमा विभिन्न गोष्ठी तथा कार्यशाला हुँदै आएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू