मंगलबार, चैत ६, २०८०
10:53 | १६:३८

यूकेमा टेकवे व्यापारबाट नेपालका विपन्न छात्रालाई ८ लाख सहयोग

नेपाली लिङ्क नोभेम्बर २७, २०२०


लण्डन । च्यारिटीका खबरहरु आजकल नौलो छैनन् । विशुद्ध समाजसेवाको भावनाले सहयोग गर्ने त छदैंछन्, कतिपयले नाम र चर्चाको लागि समेत च्यारिटीलाई अस्त्र बनाउने गरेको पाइन्छ ।

कयौं व्यवसायहरुले पनि च्यारिटी गर्छन् । तर उनीहरुले च्यारिटीको नाममा उठाएको पैसाबाट खर्च कटाउने भन्दै केही रकम आफैं राख्ने गरेको पनि देखिन्छ ।

यस्तै च्यारिटीहरुको भिडमा बेलायतमा एक टेकवे रेष्टुरेन्ट सञ्चालन गर्दै आएका शिवहरि पाठकले भने गतिलो उदाहरण पेश गरेका छन् ।

नर्थ वेस्ट इंग्ल्याण्डमा स्कटल्याण्डको सीमानजिकै पर्ने कुम्ब्रिया काउन्टीको कार्लाइल शहरस्थित ‘गोर्खा स्पाइसी टेकवे’ का सञ्चालक उनले नेपालमा क्रियाशिल एक बेलायती च्यारिटीलाई ८ लाख रुपिया बढीको सहयोग प्रदान गरेका छन् ।

स्थानीय बेलायतीहरुले सञ्चालन गर्दै आएको ‘इमेजेज अफ नेपाल’ लाई ‘गोर्खा स्पाइसी टेकवे’ का तर्फबाट ५ हजार ५ सय ७७ पाउण्डको सहयोग हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपालमा छात्रवृत्तिमा नर्सिङ अध्ययन गरिरहेका विपन्न परिवारका तीन छात्राको पढाईमा खर्च हुनेछ ।

सन् २०११ मा स्थापित गोर्खा स्पाइसी टेकवेले हरेक वर्ष आफ्नो मुनाफाको ५ प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आएको सञ्चालक पाठक बताउँछन् । ‘हामीले वर्षभर जति कमाइ गर्थ्यौं, त्यसबाट ५ प्रतिशत च्यारिटीहरुलाई दिंदै आएका थियौं । यस वर्ष लकडाउनका समय टेकवेले झन् राम्रो व्यवसाय गर्यो । त्यसैले हाम्रो सहयोग पनि बढाएर सिंगो व्यापारकै ५ प्रतिशत च्यारिटीलाई सहयोग गरेका हौं’, नेपाली लिंकसंग पाठकले भने ।

‘गोर्खा स्पाइसी टेकवे’ का सञ्चालक शिवहरि पाठक

चितवन भण्डारा घर भएका पाठक सन् २००० मा बेलायत आएका थिए । श्रीमती, एक छोरा र छोरीसहितको उनको परिवार लण्डनबाट ३ सय १५ माइल टाढा कार्लाइलमा बस्दै आएको छ । पाठकले विगतमा पनि इमेजेज अफ नेपाल च्यारिटी र आफ्नो व्यक्तिगत माध्यमबाट नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए ।

पाठकले गोर्खा स्पाइसी टेकवे चलाएकै क्षेत्रका स्थानीय बेलायतीहरुले सञ्चालन गरेको च्यारिटी हो ‘इमेजेज अफ नेपाल’ । जसले नेपालका विपन्न मानिसहरुको जीवनस्तर उकास्ने लक्ष्यमा आफ्नो सहयोगहरु केन्द्रित गर्दै आएको छ । च्यारिटीको सहयोगमा अहिले नेपालमा कुल १ सय ४० विपन्न विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

च्यारिटीका सेक्रटरी केभिन स्मिथले गोर्खा स्पाइसी टेकवेको सहयोगले विपन्न परिवारका तीन छात्राको जीवन उज्ज्वल बन्न लागेको भन्दै सहयोगका लागि आभार प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू