बिहीबार, वैशाख २७, २०८१
00:10 | ०४:५५

बेलायतमा एक दिनमै ६९६ संक्रमितको मृत्यु

नेपाली लिङ्क नोभेम्बर २५, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्र बेलायतमा ६९६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दोस्रो लहर शुरु भएयता यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

हिजो मंगलबार ६०७ जनाको मृत्यु भएको थियो । यससँगै बेलायात्मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ५ सय ३३ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

यसैगरी स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार २४ घन्टामा थप १८ हजार २१३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ५७ हजार नाघेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण नियन्त्रणका लागि आगामी डिसेम्बर२ सम्म  इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउन अन्त गर्दै डिसेम्बर २ बाट सरकारले तीन तहको लकडाउन नीति घोषणा गरेको छ ।

क्रिसमसको समयमा जनजीवन थप सहज गराउने उद्देश्यले हाल बन्द रहेका अत्यावश्यकबाहेकका पसलहरु पनि खोल्ने तयारी भैसकेको छ । क्रिसमसको समयमा पांच दिनको लागि बढीमा तीन परिवारबीच खुल्ला रुपमा भेटघाट गर्न पाउने नियम पनि सरकारले घोषणा गरिसकेको छ । सरकारको यो घोषणाले बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउने संभावना रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू