शनिबार, मंसिर १८, २०७८
22:59 | ०४:४४

नैतिकताको जाँच

डा. बच्चु कैलाश कैनी नोभेम्बर २३, २०२०


नैतिक शिक्षा र नैतिकताको बारेमा विभिन्न पुस्तक, धर्मग्रन्थ र पाठ्यपुस्तकहरुमा धेरै लेखिएका छन् । कुन कुरा नैतिकरुपमा ठीक वा बेठीक भन्ने कुरा हामीले  कुनै न कुनै रुपमा पढेको र सुनेको पनि छौँ। तर पनि आजकल नेपालको वस्तुस्थिति र परिवेशलाई नियालेर हेर्ने हो भने धेरैजसो मानिसमा नैतिकताको खडेरी परेको देखिन्छ । अरुको के कुरा गर्ने ? जसले समाजमा नैतिकवान बनेर अरुको सामु उदाहरणीय व्यक्ति बन्नुपर्ने हो, उनीहरुले नै समाजमा आफ्नो नैतिकताको धरातल गुमाएको देखिन्छ।

जति सूचना, संचार र प्रविधिको विकास भयो उति नै नैतिकताको संकट परेको देखिन्छ । सूचना र प्रविधिको विकासले मानिसले एक अर्कोमा सजिलैसंग सम्पर्क र बोलचाल गर्न सजिलो भएपनि यसको दुरुपयोग गरेर आफ्नै नैतिकता गुमाएको र समाजले तोकेको सबै सीमा नाघेको प्रशस्तै उदाहरण पनि छन् । हरेक नयाँ प्रविधि र विकासको आ-आफ्नै फाइदा मात्रै हैन, सीमा र बेफाइदा पनि हुन्छन् यदि त्यसको सही उपयोग गर्न सकिएन भने ।  

धन, सम्पत्ति वा विलासितालाई मुख्य केन्द्रविन्दुमा राखेर काम गर्ने र अरु कुराहरुलाई गौण बनाउनेहरुले नै नैतिकतालाई संकटमा पारेको देखिन्छ । व्यापारीको ध्यान जसरी भए पनि धन कमाउने, राजनीतिज्ञको ध्यान जसरी भए पनि सत्तामा बस्ने अनि कमाउने, कर्मचारीको ध्यान अरुलाई प्रभावमा पारेर वा जे गरेर भए पनि स्वार्थ परिपूर्ती गर्ने, सर्वसाधारणहरु जसलाई जे गरेर पनि आफ्नो दुनो सोझ्याउने आदि चलनले आजकल कुन काम नैतिकवान र कुन काम अनैतिक भन्ने छुट्टाउन मुस्किल पारेको छ।

नैतिकताको लागि नीति, नियम र समाजले सीमा तोकेको हुन्छ। त्यही सीमाभित्र बसेर आफ्नो नैतिकताको परिभाषा आफैले दिने हो । अरुको लागि हैन आफ्नै लागि हो नैतिकताको परीक्षा दिने र उत्तीर्ण हुने।

सकारात्मक सोच मान्छेको लागि उर्जा र उत्प्रेरणा हो। आजकल धेरै मानिसहरुले विभिन्न माध्यमबाट सकारात्मक सोचको बारेमा धेरै कुराहरु लेखेको र बोलेको सुनिन्छ । सूचना, संचार र सामाजिक संजालको आजको युगमा सहजै रुपमा मानिसको व्यक्तित्व विकास गर्ने, असल मानिस बन्ने, समाज सुधार गर्ने र नैतिकवान बन्ने धेरै सन्देश र खुराकहरु  सहज, सुलभ र सरल रुपमा सबैतिर उपलब्ध छन्। तथापि हाम्रो समाजमा आजकल धेरै नकारात्मक कुराहरु देखिन्छ, सुनिन्छ र भोगिन्छ पनि ।

एकले अर्कोलाई जस्तै नेताले जनतालाई, जनताले नेतालाई, कार्यालय प्रमुखले कर्मचारीलाई, कर्मचारीले आफ्नै प्रमुखलाई, घर परिवारमा पनि एकले अर्कोलाई दोष लगाउनु कुनै नौलो कुरा हैन । अरुलाई दोष लगाएर वा अरुलाई गैह्रजिम्मेवार बनाएर आफू आफ्नै कमजोरीबाट पन्छिन खोज्छ मानिस आजकल । तर, आफैंले आफ्नो मनबाट ठण्डा दिमागले आफ्नो काम, कर्तव्य र जिम्मेवारीको बारेमा पनि मन्थन गर्ने हो भने दुधको दुध र पानीको पानी आफैंलाई थाहा हुन्छ । अर्थात्, आफ्नै कमीकमजोरी सबै थाहा हुन्छ मानिसलाई ।

समाज वा व्यक्तिको लागि कुन राम्रो वा कुन नराम्रो भन्ने कुरा थाहा पाउन मानिसमा आफ्नो सामान्य ज्ञान वा ‘कमन सेन्स’ नै पर्याप्त छ। यसका लागि धेरै पढे लेखेको वा बौद्धिक व्यक्तित्व हुनुपर्छ भन्ने छैन । जस्तोसुकै मानिसले पनि अरुबाट ज्ञान लिन र आफूले जानेको ज्ञान अरुलाई दिन सक्छ । फरक मात्रै कस्तो ज्ञान कवारी लिने दिने भन्ने मात्रै हो ।

आफू र समाज परिवर्तन र रुपान्तरणका लागि अरुको भर पर्ने हैन । परिवर्तनको शुरुवात आफैंबाट हुन्छ। परिवर्तन हुँदैमा कुनै कुरा आफ्नो हितमा हुन्छ वा सही रुपान्तरण हुन्छ भन्ने हैन । परिवर्तनलाई आफ्नो हितमा उपयोग गर्दै आफैं रुपान्तरण नभएसम्म केही उपलब्धि हुँदैन । र, त्यसको शुरुवात आफैले आजैदेखि गर्नुपर्छ । कर्म गर्नेको लागि भोलि भन्ने शब्द हुँदैन । हरेक राम्रो कामको आरम्भ आज नै हुन्छ।

भनिन्छ राजनीतिमा हरेक कुरा सम्भव हुन्छ । यो कुरा नेपाली राजनीतिमा सुनेको मात्रै हैन व्यवहारमा पनि देखिंदै आएको छ । त्यसैले राजनीतिमा नैतिकताको कुरा गौण भएको होला । नैतिकतामा हरेक कुरा सम्भव हुँदैन । नैतिकताको लागि नीति, नियम र समाजले सीमा तोकेको हुन्छ । त्यही सीमा भित्र बसेर आफ्नो नैतिकताको परिभाषा आफैले दिने हो । अरुको लागि हैन आफ्नै लागि हो नैतिकताको परीक्षा दिने र उत्तीर्ण हुने । त्यसैले जीवनको हरेक मोडमा आफैले आफूलाई पढेर, जानेर र बुझेर अघि बढ्ने हो भने जीवनमा धोका कम हुन्छ र जीवन आनन्दमय बित्छ ।

(लण्डनको क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. कैनी डाटफोर्डका पूर्व काउन्सिलर एवम् बेलायतको गत संसदीय निर्वाचनमा लेबर पार्टीका उम्मेद्वार पनि हुन् )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू