शुक्रबार, वैशाख २८, २०८१
08:14 | १२:५९

गायक प्रमोदराज न्यौपानेको लन्डन डायरी

हुला हुप्स, के साइडर र ग्लेन्स भोड्का

नेपाली लिङ्क नोभेम्बर २१, २०२०


पसलभित्र छिर्ने बित्तिकै उ ढोका नजिकै रोकियो र काउन्टर तिर हेरयो । ग्राहकहरु कोही थिएनन् । होचो कुर्सीमा बसेर मोबाइल स्क्रोल गर्दै थिएं म । त्यसैले सायद उसले मलाई देखेन । मैले भने काउन्टर भित्रै रहेको सिसिटिभी स्क्रिनमा उसलाई पहिले नै देखि सकेकोले उठेर हेल्लो भन्दै आफूभित्रै रहेको जनाउ दिएं । तर, उ भने हलचल नगरी मुर्ति जस्तै त्यहीं उभिरह्यो र एकतमासले मलाई हेरिरह्यो ।

मान्छे खासै हंसिलो र रसिलो त पहिला पनि होइन उ तर आज अलि बढी नै गम्भीर मुद्रामा देखिन्थ्यो । हाम्रो नियमित ग्राहक हो, दैनिक आउंथ्यो । कामबाट रिटाएर्ड भैसकेको त्यस्तै ६५ वर्ष जतिको लन्डनको रैथाने गोरे । सामान्यतया मैले नबोलाउंदासम्म बोल्दा पनि बोल्दैन थियो । काउन्टर तिर हेर्दै नहेरी सिधै स्टोरको सबैभन्दा पछाडि रहेको बियर सेक्सनतिर जान्थ्यो । दर्जनौं थरिका बियर, साइडर र एलहरु थिए तर उ सधैं के नाम गरेको साइडरको क्यान उठाउथ्यो त्यो पनि सिर्फ एक क्यान कहिलेकाहीं, दुई क्यानसम्म बढीमा । वरिपरि कतै नहेरि सिधै फर्केर काउन्टरको डेस्क मा साइडर राख्थ्यो र अगाडि नै रहेको क्रिप्स सेक्सनबाट सधै हुला हुप्स भन्ने आलुको कृस्प निकाल्थ्यो र डेस्कमा राख्दै गर्दा काउन्टर पछाडि रहेको स्पिरिट सेक्सनतिर आंखा दौडाउंदै ञएन्ड अ बोटल प्लिजझ भनेर  ग्लेन्स भोड्काको क्वार्टर बोटल माग्थ्यो । हरेक दिन नियमित रुप ले राती अबेर आउने, यिनै तीन चिज मात्रै किन्ने र खासै धेरै नबोली निस्किने । यो सिलसिला बर्षौ देखि चलिराखेको थियो।

गएको एक महिना भने हाम्रो पसल बन्द थियो । त्यसैले उ संग भेट भएको थिएन । पसल खोलेको आज चौथो दिन । यतिका दिन पछि बल्ल पसलमा झुल्किएको उसले आज भने  सुरुदेखि नै अलि अनौठो व्यवहार देखाइरहेको थियो । अझै पनि उ त्यहीं थियो । ढोका नजिकै । भित्र आउनुको सट्टा त्यहीँबाट मलाई सोध्यो-
’के छ खबर ? ठीक छ ? सन्चै छ नी ? ‘
मैले अलि अनौठो मान्दै जवाफ दिएँ, सबै ठिकै छ । उसले फेरी सोध्यो-‘हाउ अबाउट योर फ्यामिली ? आर दे ओके ?’ 
अचम्मै परेँ म त । अरुबेला बोल्न पनि पैसा पर्लाजस्तो गर्ने मान्छे आज निकै फरासिलो र शालिन देखिएको छ । सबैको हालखबर सोध्दै छ । के भयो यसलाई ? केहि न केही कारण त पक्कै छ । प्रश्नको जवाफ दिने क्रममा मैले उसको अनुहार पनि राम्ररी नियालेको थिएं । निकै थकित र गलित देखिन्थ्यो । एक्दमै मोटो मान्छे हो उ, तर तौल खासै घटेजस्तो त लागेन तर पनि अनुहारमा एक प्रकारको तनाव, त्रास र अनिश्चयको भाव प्रस्ट देखिन्थ्यो ।

केही समयअघि को कुरा हो राति सधैंजस्तो ड्रिंक्स् किन्ने बेलामा अनावश्यक तर्कवितर्क गरेर उ र उसको साथीले मलाई दिक्क पारेका थिए । दुबै जना रक्सीले पहिले नै मातेका देखिन्थे । हामीसंग राती अबेरसम्म रक्सी बेच्न पाउने अफ लाइसेन्स भएकाले रक्सी लागेका मान्छे हरु पसलमा आउनु स्वाभाविक थियो र उनीहरुसंगको व्यवहार हामिलाइ सामान्य नै लाग्थ्यो । राती अबेर हाम्रो बाहेक हाइस्ट्रिटमा वरपरका धेरै कर्नर सप बन्द भै सकेका हुन्थे । त्यसैले स्टोर व्यस्त थियो । लाइन लामो थियो । त्यसमाथि उनीहरुले नचाहिने कुरामा अनावस्यक वाद बिबाद गरेकाले लाइन मा बसेका अरु ग्राहकहरुलाई सर्भ गर्न ढिलो भैरहेको थियो । अति भए पछि मलाई पनि झनक चलेर आयो र अलि कडै शब्दमा मैले उनीहरुलाइ जवाफ फर्काएको थिएँ । त्यो दिन म संग रिसाएर निस्केदेखि केही समय उ आउन छाडेको थियो । तर बिस्तारै पछि फेरि झुल्किन थाल्यो र केही समयपछि त फेरि पहिला जस्तै नियमित आउन थाल्यो । तर आएपनि मसँग खासै बोल्दैनथ्यो। मैले उसलाई सर्भ गरिन्जेल हप्प फुलेर उभिन्थ्यो र चेन्ज पैसा लिएपछि केही नबोली हिँड्थ्यो । तर म आफूचाहिं सकेसम्म उसलाई बोलाउंथे । ‘कस्टोमर्स आर अल्वएज राइट’ भन्ने त मान्यता नै छ । जस्तोसुकै हैरान पारे पनि त्यो दिन म उनीहरुसंग रिसाउनु हुन्थेन । मैले आफ्नो गल्ती मनमनै स्वीकारेको थिएं । त्यसैले ऊ बोल्न नखोजे पनि म चाहिं केहि नभए जस्तो गरि पहिला जस्तै के छ हालखबर भनेर बोलि हाल्थे । मन लागि नलागी ठुस्स परेर ञआम अलराइटझ भन्दै निकै छोटो जवाफ दिन्थ्यो उ । त्यस्तो मान्छे आज एक्कासी मेरो मात्र होइन मेरो परिवार बालबच्चा सबैको स्वास्थ्यका बारेमा सोध्दैछ । त्यो पनि निकै आत्मीयभावका साथ ।

त्यसैपनि मान्छेका फरक फरक आनीबानी र प्रवृत्ति नियाल्न एक्दम मन पराउने म त्यो मोटेको बदलिएको व्यवहारप्रति उत्सुक र जिज्ञासु नहुने त कुरै भएन । के कारण हुन सक्छ जसले अरुबेला रूखो र निरस जस्तो देखिने मानिसलाई यस्तो दयालु बनाएको छ । कसरी मानिसको स्वभाव यो हदसम्म एकाएक बदलिन सक्छ ? यस्तै कौतुहलता र उत्सुकताबीच मैले उसलाई सोधें के छ हालखबर ? ‘इज एभ्री थिङ फाइन ?’ यतिन्जेलसम्म पनि ऊ आफ्नो ठाउंबाट डेग चलेको थिएन । जहाँको त्यही थियो । मेरो प्रश्न भुइमा खस्न नपाउँदै उसले यसरी जवाफ दियो कि मानौं उ मेरो यही प्रश्नको व्यग्र पर्खाइमा थियो । मत झन्डै मरीन नि । डाक्टरले आश मारिसकेका थिए । मृत्युको मुखबाट बाँचेर आएं म । यति भनेपछि बल्ल ऊ विस्तारै अगाडि बढ्यो र काउन्टर अगाडी मेरो आमनेसामने भएर उभियो ।

उसको कुराले म झसङ्ग भएं । मनमनै सोचेँ के भएछ यसलाई । मलाई के भनौँ के नभनौँ जस्तो भयो । उसको अनुहार मलिन फुङ्ग उडेको थियो । उसका आँखाहरुले भावनात्मक साथ, करुणा आफ्नोपन र थोरै ढाडस खोजेको प्रष्ट देखिन्थ्यो । मलाई लाग्यो मृत्युको एहसासले मात्र पनि मान्छेमा कति ठूलो परिवर्तन आउँदो रहेछ । दया, माया, करुणा र मानवीय आचरण र मूल्यमान्यतामा अहिले चरम खडेरी पर्दै गएको भएपनि सायद जीवनको अन्तिम सत्य मृत्युकै कारण सम्पूर्ण रुपले समाप्तै चाहिँ हुने छैनन् । यसको मतलव मृत्यु एउटा त्यस्तो सत्य हो जसले मानवता जोगाएको छ। जीवन र जगतको अस्तित्व बचाएको छ । त्यसैले मृत्यु समाप्ति होइन निरन्तरता हो सृष्टिको, जीव जगत को र मानवीयताको ।

यतिबेला मेरो अगाडि उभिएको यो मान्छे पहिलाको त्यो अक्कडे बुढो थिएन । अरुलाई नगन्ने, हेपेर बोल्ने र कहिलेकाहीं आप्रबासीहरु प्रती पुर्वाग्रही खालको कुरा गरेर जातिवादी जस्तो लाग्ने त्यो गोरे बुढो थिएन । मेरो अगाडि एउटा सामान्य म जस्तै  मान्छे उभिएको छ जो मृत्युको मुखवाट फर्केर पनि फेरि हामीसँग बाँच्न, हामीसंगै रहन र हातेमालो गर्न चाहन्छ ।
 मैले थोरै चिन्तित हुंदै र ऊप्रति सहानुभूति राख्दै सोधे कसरी के भयो र त्यस्तो ? लामो सुस्केरा तान्दै उसले भन्यो- मलाई त कोरोना भाइरस ले समात्यो नि । 
एक महिना भयो, १५ दिन त हस्पिटल नै बसें । सुरुमा त मलाई खासै गारहो भएन । जित्छु जस्तो लाग्यो तर श्वास फेर्न गाह्रो भएपछि अस्पताल गएँ । मेरो स्थिति बिग्रंदै गयो र नियमित अक्सिजन दिनुपर्ने भयो । हुंदाहुंदा डाक्टरहरुले भेन्टिलेटरमा लानुपर्ने हुनसक्छ भन्न थाले । तर भेन्टिलेटरमा जान चाहन्न थिएँ म किनकी मलाई थाहा थियो भेन्टिलेटरमा गएपछि फर्कन गाह्रो छ । त्यसमाथि मेरो तौल र उमेरको कारण झन् मलाई गाह्रो हुन सक्थ्यो । मैले बारम्बार डाक्टरलाई भनेँ मेरो होस हुँदासम्म मलाई भेन्टिलेटरमा नलैजाउ । डाक्टरहरुले अब एक दुई दिनमा सुधार नभए ज्यान कै जोखिम हुन हुनसक्छ पनि भने । यस्तो सुन्दा मैले पहिलो पल्ट मृत्युको आभास गरेँ । मसंग शब्द छैन र म वर्णन गर्न सक्दिन कि मैले त्यतिबेला के सोचें । तं अब मर्न पनि सक्छस् भन्ने सुन्न पर्दा सांच्चै भयानक हुंदो रहेछ । एकदमै अकल्पनीय ।

एउटा कुरा मेरो भाग्य भन्नुपर्छ मलाई हस्पिटलको ‘ग्राउन्ड फ्लोर’ मा झ्यालको नजिकै राखिएको थियो । त्यसैले मेरी श्रीमति र छोरोले झ्यालको सिसाबाट हेर्न पाउंथे । कसैलाई पनि भित्र आउने अनुमति थिएन त्यसैले झ्यालबाट नै मलाई चाहिने सामानहरु र कहिलेकाहीं खानेकुराहरु नर्स मार्फत मलाई भित्र पठाइदिन्थे । मरें भने पनि कमसेकम श्रीमती र छोरालाई हेरेरै मर्न पाउने भएँ जस्तो लाग्थ्यो ।

ऊ एकोहोरो बोल्दै थियो । म चाहिँ एकतमासले उसको अनुहार हेर्दै थिएँ । मृत्युको आभासले उसलाई भित्रैदेखि हल्लाएको थियो । ठूलो युद्धबाट बाँचेर आएको थकित र गलित सिपाही जस्तो देखिन्थ्यो उ । जसको आँखामा युद्धको त्यो त्रासदी, आतंक र साथसाथै जीतको गौरव र भविष्यका आशाहरु एकैसाथ प्रतिबिम्बित थिए ।

चीनबाट सुरु भएर इटाली, स्पेन र फ्रान्स हुँदै बेलायतलाई पनि कोरना भाइरसको महामारीले नराम्ररी छोपिसकेको थियो । सुरुमा कोरोना भाइरसको २-४ वटा केश देखिँदा हामी कसैलाई पनि यसले यति उग्र रुप लेला भनेर लागेकै थिएन तर हेर्दाहेर्दै दशौं हजार मानिस दैनिकरुपमा संक्रमित हुनथाले र दिनदिनै सयौं मान्छेहरूको मृत्यु हुने क्रम शुरु भयो । महामारीले भयावह रुप लिँदै जान थालेपछि सरकारले लकडाउन घोषणा गरेको थियो । हाम्रो जस्तो साना ठूलो खाद्य पसलहरु, औषधि बेच्ने फार्मेसी लगायतका केही अत्यावश्यक सेवाका क्षेत्र बाहेक स्कुलकलेज समेत सबै क्षेत्र पूर्ण रुपले बन्द गरिएको थियो । टेलिभिजन सम्पूर्ण रुपले कोरोनामय भएको थियो । बीबीसी लगायतका प्राय सबै च्यानलहरुमा कोभिड नाइन्टिनसंग सम्बन्धित सामग्रीहरु बाहेक अरु कुनै पनि कुराको प्रसारण लगभग बन्द जस्तै थियो । लकडाउनका कारण घरमै बस्ने र टेलिभिजनले दिने मृत्यु र पीडाका भयावह तस्बिर हेर्दै आतंकित हुने बाहेक अरु कुनै पनि काम बाँकी रहेन अब ।

विशेषगरी इटालीको तस्बिर निकै डर लाग्दो थियो । अस्पतालमा बिरामी राख्ने स्थान थिएन । विरामीहरुलाई उपचार गर्न डाक्टरहरु को पनि कमी हुँदै थियो । मृत्यु भएकाहरूको सव व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । आफन्तको मृत्युमा परिवारका सदस्यहरु समेत अन्त्येष्टिमा सम्मिलित हुन नपाउने स्थिती निकै दर्दनाक थियो । बिरामी हुनेहरु र मृत्यु हुनेहरूको संख्या बढ्दै जाँदा बेलायतमा पनि स्थिति निकै डरलाग्दो अवस्थामा पुगेको थियो । लन्डनको ग्रीनवीच बरोमा हामी बस्ने ठाउं नजिकैको अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरु नेपाली छन् । उनीहरुबाट थाहा हुन्थ्यो कोभिडका बिरामीले अस्पताल धान्नै नसक्ने गरि भरिभराउ थियो । त्यतिबेलासम्म सयौंको संख्यामा नेपालीहरु पनि संक्रमित भैसकेका थिए भने ५० जना भन्दा बढि नेपालीको मृत्यु भैसकेको थियो । अत्यावश्यक सेवा दिने व्यवसायको सूचीमा परेकाले हामीले भने हाम्रो पसल बन्द गर्नुपर्ने थिएन । खोल्न अनुमति थियो र हाम्राजस्ता पसलहरु प्राय सबै खुलेका पनि थिए तर सायद हामी अलि बढी नै आतंकित भएर होला पसल खोल्ने आँट गर्न सकेनौं र चार हप्तासम्म पसल बन्द गरेर घरमै थन्कियौ । लकडाउन अझै पनि निरन्तर थियो । काउन्टरमा भाइरस छेक्न वरिपरि तीन तिरबाट शिशा जस्तै देखिने स्टिकको बाक्लो पाताले घेरेर सुरक्षाका सबै प्रबन्ध मिलाएर पसल खोलेको आज तीन चार दिन हुंदै थियो ।

त्यो मोटे बुढो अझै पनि मेरै अगाडि उभिएको थियो । मैले उसलाई आफूलाई धेरै दुःख लागेको कुरा बताएं । साथसाथै रोगसंग बहादुरीपूर्वक लडेर सकुशल फर्कन सकेको कुरा प्रति खुशी व्यक्त गरें र वधाई दिएं । आगामी दिनका लागि उसलाई शुभेक्षा र शुभकामना पनि दिएं । मेरो कुरा सुनिसकेपछि उसले अलिकति खुशी र थोरै दृढ हुंदै भन्यो अब त म पहिला जस्तो होइन धेरै परिवर्तन भइसकें । म त मरेर बांचेको मान्छे । मेरो यो दोस्रो जीवन हो बोनसमा पाएको । म त अब पिउंदिन नि, छाडिसकें । अबदेखि मलाई पसलमा तिमीले धेरै देख्ने छैनौ । धेरै पिएर होला मलाई कोभिड सँग लड्न धेरै गाह्रो भयो । उसले अझै अगाडि हल्का हांसेर भन्यो बरु तिमलाई चाहिं घाटा लाग्ने भो बुझ्यौ । ‘अलिकति भएपनि तिम्रो पसलको बिक्री घट्ने भयो’- हल्का व्यङ्ग मिश्रित भावमा भन्यो उसले । यो सुनेपछि मैले पनि उसलाई हल्का डोज दिएं । नाता पैसाको मात्र हुन्न मानवता मित्रता र सामाजिकता को पनि हुन्छ नि । ग्राहकको त के कुरा भयो र एकजना आउन छोडे अर्को आउंछ तर जीवन एकचोटि गएसी फेरि फर्केर आउंदैन् । त्यसमाथि पसल आउन किन छाड्नु पर्यो र ? रक्सी बियर नभए पनि दूध र जुस सर्भ गरौंला नि हुंदैन ? ठट्टा गर्दै भनें मैले । उ भने हल्का हांस्दै कुनै जवाफ नदिई खुरुखुरु पसलको पछाडितिर लाग्यो ।

सांच्चै दूध नै लिन गयो कि क्या हो भनेर हेरेको त कहां हुनु फर्किंदा देखें हातमा उही के साइडर र हुला हुप्सको प्याकेट थियो । मैले केही भन्नु अघि नै सधैं जस्तो ‘एन्ड अ बोटल प्लिज’ भन्दै हातमा लिएको साइडर र क्रिप्सको प्याकेट काउन्टरको डेस्क माथी राख्यो । मत छक्क परेर हेरेको हेर्यै भएं । ट्वां परेर उसको अनुहार हेरि राखें । एकैछिनमा दुईटा रुप देखायो उसले । नाटक गरेको हो कि के हो छुट्याउनै नसकेर अलि ठूलो स्वरमा सोधें मैले-  ‘के हो यो ? सांच्चै हो कि जिस्केको ?’ जवाफमा उसले सामान्य रुपमा केही नभएजस्तो गरी भन्यो-  ‘होइन होइन छाडिसकें मैले । आज एक हप्तापछि बल्ल पसल आको म । हिजोअस्ति आएं त म ? आइन नि ।’ ‘सि.. आम गन गिभ अप ।’ डन्ट वरि । नाउ क्यान आइ ह्याभ अ बोटल प्लिज ? बोटल याने कि सधै जस्तो एक क्वाटर ग्लेन्स भोड्का माग्दै थियो उ । मैले केही नबोली भोड्का झिकेर अगाडि राखिदिएं । के साइडर र हुला हुप्सको प्याकेट एउटा सानो कालो झोलामा राखी दिएँ । पैसा तिरेर भोड्काको बोटल ज्याकेटको भित्री खल्तीमा राख्यो र उही पुरानै शैलीमा मुख हप्प फुलाउँदै निरस र रुखो सुनिने स्वरमा थ्याङ्क यू भनेर मेरो अनुहारमा हेर्दै ‘दिस इज द लास्ट वान’ भनेर पसल बाहिर निस्कियो ।

पसल बाहिर उसले आफू जस्तै दुइजना साथी भेट्छ । उनीहरुको के छ हालखबर भन्ने प्रश्न झर्न नपाउंदै फेरि उ सुरु हुन्छ- म त झन्डै मरीन नि । डाक्टरले त बाँच्दैन भनेको थियो आदि आदि । मैले जस्तै उनीहरुले पनि दुःख व्यक्त गरे र बाँचेर आएकोमा बधाई तथा शुभकामना दिए । ऊ भने हातमा साइडरको क्यान लिएर भन्दै थियो मैले त पिउन छोडें नि । यो मेरो दोस्रो जीवन हो । आज एक हप्तापछि बल्ल पसल आउदैछु म । यो सुनेर उनीहरु छक्क परे । मैले जस्तै उनीहरुले पनि सहानुभूति र शुभकामनाका शब्दहरुले उ प्रति हार्दिकता देखाए । र रक्सी छोडेकोमा बधाइ पनि दिए । सबैको सद्भाव पाएर दङ्ग परेको उ धन्यबाद भन्दै आफ्नो बाटो लाग्छ ।

मैले सोचें सायद आज अन्तिम होला उसले पिउने । मलाई आशा थियो ऊ फेरि अब राती अबेर आउने छैन । कहिलेकाहीँ रातिसम्म उसको लागि भोड्का बाँकी रहला कि नरहला भनेर मैले अब चिन्ता मानिरहनु पर्नेछैन । तर आज उसको व्यवहारले केही बेरसम्म सोचमा परें म । एउटै मान्छे एकै दिनमा दुई रुपमा प्रस्तुत भएको देख्दा अचम्म पनि लाग्यो । खासै मनपर्दो खालको त होइन, तरपनि वर्षौं देखि राति अबेर रक्सी किन्न आइरहने मान्छे अब भने उ सायद आउने छैन् भन्ने सोच्दा मनमा कस्तो कस्तो लाग्यो । मलाइ एकैसाथ एकजना ग्राहक गुमाएकोमा दुःख लाग्यो भने  एउटा जीवन बाँचेकोमा चाहिं खुशी पनि लाग्यो ।

खुशीको कुरा भनौं कि दुःखको तीन चार दिनपछि उ फेरि झुल्कियो। काउन्टरतिर हेर्दै नहेरी घन्ट्याङ घन्ट्याङ गर्दै पसलको पुछारमा पुग्यो र वरपर कतै नहेरी सिधै काउण्टर अगाडि आएर ठिङ्ग उभियो । हातमा उही के साइडरको एउटा क्यान र हुला हुप्स को प्याकेट थियो र पहिलेजस्तै काउन्टरको डेक्स माथि राख्दै पुरानै निरसिलो भावमा भन्यो- ‘एन्ड अ बोटल प्लिज ।’ मैले चाहिँ शिष्टाचार राख्दै सोधे- अनि अहिले कस्तो छ ? सन्चै छ नि ? जवाफमा केवल उसले ‘आम ओ के’ मात्रै भन्यो । खासै बोल्ने रुचि देखाएन । मैले पनि यन्त्रवत् रुपमा स्वचालित ढंगले उसको प्रिय बोटल केही नबोली डेस्कमा राखि दिएं । उसले बडो जतनले अत्यन्तै प्यारो गरेर ज्याकेट्को देब्रे पट्टीको भित्री खल्तीमा राख्यो मानौं कि त्यो भोड्का होइन, उस्की प्रियसी हो, आफ्नी प्रियतमा हो, त्यसैले यसलाई उ प्रेमपूर्वक मुटु भित्र सजाउन चाहन्छ, लुकाउन चाहन्छ । मैले के साइडर र हुला हुप्स राखिदिएको कालो झोला टिपेर चेन्ज पैसा लिएर जाँदै गर्दा उसले भन्यो- ‘थ्याङ्क यू, सि यू लेइटर ।’ अर्थात् फेरि भेटौंला ।

नभन्दै दुई दिनपछि उ फेरि आयो । त्यसपछि एक दिनपछि र आजकल त दिन दिनै आउँछ ।  अबेर राति उही बेला तर आजकल ऊ भित्र छिर्दै गर्दा ढोका नजिकै टक्क अडिदैन । उसका आँखा हरुले पनि अब मलाई खोज्दैनन् । जसरी महाभारतमा अर्जुनले वाण हान्दा वरपरका चिज केही देखेनन । केवल चराको आँखामात्र देखे, उसैगरी पसल छिर्ने बित्तिकै उसले पहिला जस्तै केबल पुछारको बियर सेक्सन मात्रै देख्छ । आजकल फेरि हरेक दिन उही उत्साह उही नियमितता, उही समर्पण र उही प्रेम अनि उही लगावका साथ उ आइरहन्छ र म उसैगरि यन्त्रवत रुपमा उसलाई सर्भ गरिरहन्छु कालो झोला भित्र राखेर के साइडर र हुला हुप्स अनि उसको त्यो प्यारो ग्लेन्स भोड्का । समाप्त

सुनौं प्रमोद राजको लण्डन डायरी – ५ :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू