बुधबार, फागुन १२, २०७७
17:48 | २३:३३

महाकवि लक्ष्मीप्रसाद देवकोटा: के एक विश्वस्तरीय कवि हुन् ?

दुर्गाप्रसाद पोख्रेल नोभेम्बर १४, २०२०


“सानो, मीठो, शान्त सुगन्धी अनुपम – बस् । मेरा निमित्त त्यही हो नेपाल । यहाँ वाग्नर कोदाली खनिरहेछ्न्, शेक्सपियर हलो जोत्दा हुन् , टिसियन र टर्नर भेडा चराउँदा हुन् । सोक्रेटिज़ गुफामा घोत्लिरहेका होलान्, कालिदास अाषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान् । मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन् । मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछ्न् । यहाँ कति सावित्रीहरू छन् जसका कथा संसारले सुनेकै छैन । यहाँ कति साहित्य छ जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरूका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ।” (के नेपाल सानो छ )

कविता हृदयको भाषा हो । उत्तम कविताहरूले अरूको हृदयमा समेत झंकार पैदा गर्दछन्, बुद्धिलाई स्पन्दित गर्दछन् । कविको व्युत्पत्ति र प्रतिभाको उन्नत सम्मिलनबाट सुन्दर भावधाराहरू संरचित हुन पुग्छन् र ती युगौ युगसम्म सदावहार एवं हृद्य अभिव्यक्तिका रूपमा अजर अमर रहन्छन् । मृत्युको डस्टरले जिन्दगीको अक्षर पुछेको दिन ती कदापि पुछिन्नन् ।

ती कालजयी बनेर जीवनको गीत गाइरहन्छन् । कवि भूगोलको कुनै एक भागमा जन्मन्छ तर आफ्नो प्रतिभाको सुगन्धद्वारा सुवासित र पल्लवित हुदै समुदाय, समाज, देशको दायरा नाघेर समग्र मानवताका बीच पुग्दछ र विश्वव्यापी बनेको हुन्छ । चाहे जुनसुकै भाषा भेष परिवेशबाट आएको भएता पनि हार्दिक मानव अनूभूतिहरू सबैका प्रिय हुन्छन् । कुनै एक कवि वा रचनाकार कति महान् छन् भन्ने कुरा उनका काव्य कृतिहरूको काव्यिक क्षमता र तिनले छोड्ने संवेदनात्मक प्रभावमा निर्भर रहन्छ । कुनै काव्य रचना समालोचनाको कसीहरूमा जोखिदै प्रखर बनेर उदाउँछन्  भने कुनै लोकका जनजिव्रोमा टाँसिएर प्रिय बनिरहन्छन् ।

‘चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले सेवकहरूको साथ’ (यात्री)

‘हातका मैला सुनका थैला के गर्नु धनले,
साग र सिस्नु खाएको बेश आनन्दी मनले’ (मुनामदन)

महाकवि लक्ष्मीप्रसाद देवकोटा महानतम् स्रष्टाहरू मध्ये एक हुन् । उनको रचना धर्मिता, काव्य कौशल एवं समग्र काव्य साधनको कुनै एक वा दुई दृष्टिकोणबाट सही अर्थमा मूल्यांकन हुन सक्दैन । यहाँ उनै देवकोटाका बारे ‘स्थालीपुलाकन्याय’ले केही प्रकाश पार्न खोजिएको छ ।

देवकोटाको साहित्यिक संचेतना सामान्य कविहरूको भन्दा उदात्त थियो । उनी एक साहित्यिक सर्जकका साथै एक महान् चिन्तक पनि थिए । भारतीय प्रसिद्ध विद्वान् साहित्यकार डाक्टर साँन्क्रृत्यायनले त्यो कुरा वार वार उठाउने गरेको कुरा समालोचकहरू बताउँछन् ।  डाक्टर साँन्क्रृत्यायनका विचारमा देवकोटा गौतम बुद्ध पछिकै एक महान् चिन्तक थिए । उद्भट साहित्यिक प्रतिभा र चेतनशीलताको उत्कृष्ट सम्मिलन हुनु अत्यन्त दुर्लभ कुरा हो र त्यो देवकोटाको असाधारण व्यक्तित्वको कारक थियो । देवकोटाले नेपाली भाषा र नेपाली जातिको उन्नयन मात्र गरेनन, अपितु मानवताको संदेश साहित्य मार्फत् विश्वसामु  घन्काइरहे । देवकोटाका काव्यमा देखिने केहि विशिष्ट विशेषताहरूको चर्चा गर्नु सान्दर्भिक नै हुनेछ ।

देवकोटाको दुःखान्त चेत असाधारण छ -पूर्वीय एवं पाश्चात्य काव्य सिद्दान्तको विशद् अध्येता हुनुले देवकोटामा ग्रीसेली अरस्तुको दु:खान्त काव्यले दिने विरेचन एवं करुण रसलाई मुख्य रस मान्ने पूर्वीय साहित्यिक चिन्तनको राम्रो सम्मिलन भेटिन्छ । देवकोटा भन्दा अघिको नेपाली साहित्य जगतमा दुःखान्तको प्रयोग भएको पाइदैन । मुना मदनमा मुनाको मृत्यु, शकुन्तलाको विरह वर्णन यस प्रयोगका सुन्दर नमुना हुन् ।

देवकोटा महाकाव्य रचनाको पूर्वीय सिद्धान्त एवं पाश्चात्य सिद्धान्त दुवैलाई अङ्गीकार गर्दछन् -विशद् कथानक, उदात्त चरित्रहरू, छन्द र लयबद्द काव्यिक विन्यास, इहलौकिक र पारलौकिक वर्णन,स्वर्ग र मर्त्यको प्रारूप, जीवनको विहंगम प्रदर्शन, शास्त्रीय उदात्त भाषा, उपमा आदि साहित्यिक अलंकारहरूको प्रयोग इत्यादि । उनको शाकुन्तल महाकाव्य शैलीगत एवं भावगत हिसाबले मूल्यांकन गर्दा जोन मिल्टन को ‘पाराडाइज् लस्ट ‘ वा कालिदासको ‘रघुवंश’ भन्दा कम शक्तिशाली छैन । अझ दुबैभन्दा भिन्न आधुनिकताको मिठास र कल्पनाशक्तिको वेहद रस देवकोटामा छ ।

देवकोटाको लेखन शैली र शव्द चयन ज्यादै उत्कृष्ट छ । उनको संस्कृत र अंग्रेजी दुवै भाषाको समीचीन ज्ञान र स्वाध्यायनले उनलाई यो विशिष्ट योग्यता मिलेको छ ।

‘वाह्यज्ञानार्थम् अंग्रेजीम्, आत्मज्ञानाय संस्कृतम्’ भन्ने भनाइ देवकोटामा घटित भएको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । अंग्रेजी नव शास्त्रीय एवं स्वछन्दतावादी साहित्य लेखन परम्पराको मिश्रित प्रभाव देवकोटाको लेखन शैलीमा भेटिन्छ । साथै संस्कृत साहित्यका सुन्दर पदावलीहरूले देवकोटाका कृतिहरू जडित छन् । देवकोटा हार्दिक भएर शव्दहरूभित्र पसेका छन् र शव्दहरूले पनि उनको भावनाको उच्चतम मूल्यांकन गरेर अर्थको उद्घाटन गरेका छन् । शव्द र अर्थको तुल्य प्रतिस्पर्धामा उनका कृतिहरू महान् सिर्जना भएर नि:सृत हुन्छन् ।

देवकोटाका काव्यहरूमा शिक्षाका साथ साथै सृजना सौन्दर्य र आल्हादकारी अभिव्यन्जनाहरू प्रशस्त छन् । प्रचलित समालोचना सिद्धान्तका अनेक उपागमहरूको एकै पटक उपस्थिति गराएर उनका काव्यहरूका अनेक भाव अर्थहरू निकाल्न सकिने विचार विद्वान् हरू राख्दछन् । भाषा शिक्षण एवं साहित्यका कक्षाहरूमा देवकोटाको काव्य एक सुन्दर पाठ्य योजना बनेको छ । परम्परागत प्राध्यापकीय शैलीको समालोचना पद्धतिदेखि आधुनिक पाठकपरक समालोचना पद्धतिमा मात्र नभै उत्तर आधुनिक समालोचना पद्धतिका अनेक उपागमका क्षेत्रभित्र सगर्व अटेका छन् देवकोटेली रचनाहरू । प्राथमिक कक्षादेखि विश्वविद्यालयका शोधप्रवन्धका कक्षाहरूमा देवकोटा एक पठन पाठन एवं चिन्तन मननका शीर्षक बनिरहेछन् ।

‘नटिप्नु हेर कोपिला’ भनेर बालबालिकामा नैतिक उद्बोधन गर्ने महाकवि ‘उद्देश्य के लिनु?’ भनी उच्च सोच गराउन पुगेका हुन्छन् ।
आत्म गौरव भर्न कतै नेपालको महानता झल्काउँछन् भने कतै उनी मानवता र हार्दिकताका अनुपम छटाहरू छरिरहेका हुन्छन् ।
महाकवि देवकोटा स्वयंमा एक विश्वविद्यालय जस्ता बनेका छन् र देवकोटाका शोधकर्ता एवं अध्येताहरू विश्वविद्यालयका सवैभन्दा उच्च विद्वान् बनेर चिनिएका छन् । व्यवहारिक जीवनका हर क्षेत्रमा उदाहरण दिन सकिने देवकोटाका वाणीहरू लोकव्यवहारमा जीवन्त रुपमा प्रयुक्त भैरहेछन् ।

देवकोटा एक रसवादी कवि हुन् । शाकुन्तल महाकाव्यको भूमिकामा कविताको परिभाषा उद्धरण गर्दै उनी भन्छन् -‘कविता कोमल वनिता रसयति रसिकम् रसेन सम्मिलिता ।’ रसमा पनि उनी मूलतः करुण रस र शान्त रसमा बढी आकर्षित भएका छन् । करुणरसका काव्य सिर्जना गर्ने साहित्यकारहरू विश्व साहित्यमा अग्रपंक्तिमा आउछन् । पूर्वका कालिदास, भारवी देखि पश्चिमका सोफोक्लिस, सेक्सपियर, दाँते सबैका सिर्जनाहरू मूलतः यिनै रसको प्रभावोत्पादनका माध्यमले अविस्मरणीय भएर बाँचिरहेछन् । देवकोटाका काव्यहरूमा पनि त्यो रसान्वितिको कमी छैन । युगबोधका सन्दर्भमा देवकोटा उनका समकालीन उर्दूका कवि इकवाल, वंगाली कवि रविन्द्रनाथ टैगोर, अरवि कवि खलिल जिब्रान, अंग्रेजी कवि टि.एस्. एलियटको हाराहारीमै उभिएका छन् ।

जसरी सेक्सपियरले ग्रीक रोमन इतिहास र पुराकथाहरूबाट कथानक ग्रहण गरेर आफ्नो काव्य शक्तिद्वारा नवीन सिर्जना गरेका छन्, त्यसरी नै देवकोटाका कथानकहरू शास्त्रीय पौराणिक वृत्तबाट एवं पाश्चात्य पुराकथाबाट  लिएर मौलिक साहित्यिक छटाहरूले सुसज्जित छन् । कविको प्रतिभाको गहनतम अन्वेषण कविले मौलिक पाराले गरेको भावनाको अभिव्यक्तिमा मार्मिक रुपमा झल्किएको छ ।
देवकोटाका काव्यहरूमा प्रखर मानवतावाद छ जुन सेक्सपियरका नाटकहरूमा भन्दा कम छैन ।

दुर्गाप्रसाद पोख्रेल

फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाउ आँतहरूको चहराइरहेको घाऊ । (यात्री)

देवकोटाका मुनामदन, शाकुन्तल र पागल लगायत सबै काव्य रचनाहरू कालजयी छन् र हरेक मानव समुदायलाई जीवनप्रतिको सकारात्मक सन्देश दिइरहेछन् ।

महान् कविहरूका सिर्जनाहरूमा जीवनमा प्रेरणा दिने खालका सुन्दर भावाभिव्यक्ति प्रशस्त भेटिन्छन् र यस्तै सारगर्भित अभिव्यक्तिहरू देवकोटाका कविताहरूमा पनि प्रशस्त छन् । उदाहरणका लागि केही प्रशिद्ध विश्वकविहरूका रचनांशसँग देवकोटाका रचनांशहरू कसी लगाएर हेरौं ।

जस्तै:
१) He was my North, my South, my East and West,
My working week and Sunday rest,
My noon, my midnight, my talk, my song;
I thought that love would last forever: I was wrong.
(W. H. Auden)

यस्को अर्थ :
उ मेरो उत्तर थियो, मेरो दक्षिण, मेरो पूर्व र पश्चिम
मेरो काम गर्ने हप्ता र आइतबारको आराम
मेरो अपरान्ह, मेरो मध्यरात, मेरो वार्तालाप, मेरो गीत
मैले सोचेकी थिए प्रेम सधैका लागि हो, म गलत थिए ।

देवकोटाका कवितामा :
हरे हुन्छन् सारा पुरुष भँवरा कृष्णरंगका
भनी जाने देखी किन कुसुम सुम्पी हृदयका
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा
तिनैमा अर्पन्थे युवतिहरूले हाय विचरा ! (शाकुन्तल महाकाव्य )

२) Life, like a dome of many-colored glass,
Stains the white radiance of eternity.
(Adonais: Percy Bysshe Shelley)

यस्को अर्थ :
जीवन मानौ अनेक रंगका शिशाहरूको एउटा गुम्बज,
अनन्तताका श्वेतचमकमाथि धब्बा लगाउँछ ।

देवकोटाका कवितामा :
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन
आँसुभरी नजर निमीलन
बिचित्र नै छस् हे जीवन । (जीवन )

३) The woods are lovely, dark and deep,
But I have promises to keep,
And miles to go before I sleep,
And miles to go before I sleep.
(Stopping by Woods on a Snowy Evening: Robert Frost)

यस्को अर्थ:
यी वनहरू सुन्दर, गहन, र घना छन्
तर म कृतसंकल्पित छु
र सुत्नु अघि कैयौ माइलहरू पुरा गर्नु छ
र मर्नु अघि संकल्पहरू पुरा गर्नु छ ।

देवकोटाका कवितामा:
क) आसुखसाली रोइरहेथे जीवन वनको वीच
खोजि खोजि कतै नपाई मेरो मनको चीज
टुटेफुटेका आशामाथि नयन दुखका नीर
कहाँ कहाँको कता कताको मेरो मनको पीर । (वन )

देवकोटाको अर्को कवितांश पनि हेरौं

ii) जादुगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
विर्सी माता पिता नै घर, स्वजन सबै राज्य छाडेर भारी
भुल्छौ हामी अनेकौ झिलिमिलिहरुमा मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैँ भएर (जीवनवन)

४) I think that I shall never see
A poem lovely as a tree.
Poems are made by fools like me,
But only God can make a tree.
(Trees: Alfred Joyce Kilmer)

यस्को अर्थ:
म सोच्छु मैले कहिलै देख्ने छैन
रूख जस्तो सुन्दर कविता
कविता म जस्ता मूर्खहरू लेख्छन्
तर रूख केवल भगवानले बनाउँछन् ।

देवकोटाका कवितामा:
माटोभित्र छ, जाल गहिरो प्यूछन् धराको रस
माथि बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैँ सुन्दर
माटोभित्र जरा छ हामीहरूको फुल्छौ उचाई लिई
हामीभित्र वसन्तका पवनका खुस्बू र सौन्दर्य छ ।  (वृक्ष)

अब भारतवर्षका महाकवि कालिदासका कवितांशसँग देवकोटाका कवितांशहरू हेरौ-

५) प्रतिकारविधानमायुष: सति शेषे हि फलाय कल्पते
(रघुबंश: कालिदास)

यस्को अर्थ:
जबसम्म रहन्छ जीवनी
तबसम्म त हो नि औषधी

देवकोटाका कवितामा :
फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको दाउ
मलम लगाउ आँतहरूको चहराइरहेको  घाऊ (यात्री)

६) संचारिणी दीप शिखेव रात्रौ यं यं व्यतियाय पतिम्वरा सा
नरेन्द्रमार्गाट्ट इव प्रपेदे विवर्णभावं स स भूमिपाल:
(कालिदास)

यस्को अर्थ:
स्वयम्वर गर्न लागेकी ती (राजकुमारी ) ज-जसका अघि हुँदै ओझेल परिन्, तिनीहरू चलायमान दीपशिखा हटेका राजदर्वारका अट्टालिकाका खम्बाहरू झैं अँध्यारा भए ।

देवकोटाका कवितामा:

वनबाट विहङ्ग वालिका
नव आशासँग पंख ली उडिन्
मृदु शब्द गरी खुसाउदै
तरुमा फुल्न सुगन्धमा चढिन् ।
तर वृष्टि भएर वादल
अब रुक्दो मृदु  पङ्ख खुम्चिदी
दुखको तरूमा रुँदी रहिन्
अघिको सौख्य र याम सम्झिदी (शाकुन्तल)
यसरी हेर्दा काव्यकौशलमा देवकोटा कत्ति कम छैनन् । महाकवि देवकोटाका केही कवितांश हेरौ-

गरीब भन्छौ सुखको म झैँ धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम ।।

प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरंगले भरी
म पोखरी झैँ उहि ठाउँ जम्दिन
छ शुद्ध यो जीवनको सबै कण ।। (गरीब )

‘के हो ठूलो जगतमा’? ‘पसिना विवेक’
‘उद्देश्य के लिनु?’ ‘उडी छुनु चन्द्र एक । ‘ (प्रश्नोत्तर)

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूको काँध चढी,
कुन देवपुरीमा जाने हो ? (यात्री)

छेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन (मुनामदन)

हरेक उद्धृत रचनांशहरूमा देवकोटाको बेजोड काव्यिक प्रवाह र मिठास रहेको छ ।
महर्षि पतञ्जलि लगायतका भारतवर्षीय चिन्तकका अनुसार चार प्रकारले विद्यावान् वा प्रतिभावान् व्यक्ति जानिन्छ ।
चतुर्भि: प्रकारै: विद्योपयुक्तो भवति नरः
आगमकालेन, स्वाध्यायकालेन, प्रवचनकालेन, व्यवहारकालेन इति ।। (महर्षि पतंजलि)

आगमकाल- विद्यालय वा गुरुकहाँबाट अध्ययन गरी शव्दशास्त्रको राम्रो अध्ययन र ज्ञान हुनु ।
देवकोटामा शव्दको प्राचुर्य छ । शव्द गहनता उनको परिचय नै हो ।  प्रत्येक शव्दको पृष्ठभूमि, भावभूमि, लक्षणा, व्यन्जना प्रयोगमा देवकोटाको अत्यन्त दखल छ ।

जसरी कालिदासको शव्द चयन सुन्दर र समीचीन छ, त्यसरी नै देवकोटाको शव्द चयन सटिक, ओजपूर्ण छन्, यद्यपि उनी  प्रायः पुनर्लेखन गर्दैनन् । यसले उनको महान् प्रतिभा उजागर गर्दछ । पुनर्लेखनबाट परिष्कार त अवश्य आउँछ, तर जुन सिर्जनाको सक्कली मिठास तरल भएर बगेको भावगंगामा बहन्छ त्यो शायद सुधारेको भावमा पाइन्न ।
उदाहरणका लागि कालिदासको कवितांश र देवकोटाको कवितांश हेरौं-

महाकवि कालिदास
‘अमुम् पुरः पश्यसि देवदारूम् पुत्रीकृतोsसौ वृषभध्वजेन ।’
प्रसङ्ग के छ भने त्यो देवदारुको वृक्ष पार्वतीले आफ्नो सन्तान जस्तै गरी हुर्काएकी छन् । पार्वतीको पुत्र भएपछि शिवजीको पनि पुत्र नै भयो । यसैले यदि वृषभ अर्थात् साँढेलाई वाहन बनाएर आउँँदा घाँस भनेर खाइदिनसक्छ । यसैले शिवजीले वृषभलाई ध्वजामा राखेर आउनु भयो । साहित्यमा श्रुतिकटु मानिने काटेमारेका अक्षरले युक्त भएर पनि ‘वृषवाहनेन’को सट्टा ‘वृषभध्वजेन’ गर्नुमा कालिदासको अर्थ गाम्भीर्य देखिन्छ, यद्यपि छन्दविधान दृष्टिकोणले दुवै शव्द तुल्य छन् र दुबै शिवजीका नाम हुन् ।

यसैगरी महाकवि देवकोटाका काव्यमा यस्ता उपयुक्त शव्द चयन र भावपूर्ण प्रयुक्तिहरू प्रशस्त भेटिन्छन् ।
उदाहरणका रुपमा प्रसिद्ध यात्री कविताका शुरुका हरफहरू हेरौं-

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ।
(यात्री)

यहाँ देवकोटाले कुन मन्दिर जाने भन्ने कुराको पुनरुक्ति गरेका छन् । साहित्यमा पुनरुक्तिलाई एक दोष मानिन्छ । तर यस कवितामा पुनरुक्ति दोष हुनुमा देवकोटाको व्यंग्य अर्थ प्रकाशित भएको छ । पहिलो ‘कुन मन्दिरमा जान्छौ यात्री’ वाक्यले मन्दिरको परिचय खोजेको छ-बगलामुखीको मन्दिर कि पशुपतिनाथको मन्दिर कि गणेशथान वा दक्षिणकालीको मन्दिर कुनमा जान्छौ भनेर । तर दोस्रो ‘कुन मन्दिरमा जाने हो?’ भन्ने वाक्य सामान्य अभिधा अर्थमा नभएर व्यङ्ग्य अर्थ प्रयोजनका लागि हो । वास्तविक मानवताको सेवा नगरी सिमेन्ट र माटाका मन्दिर मात्रै खोज्दै हिड्नेहरूलाई कविले ज्यादै तीव्रतर व्यङ्ग्य गरेका छन् । देवकोटाको यो शैली ज्यादै असाधारण र अति मार्मिक छ ।

स्वाध्यायकाल-चिन्तन मनन र निधिध्यासनमा निरन्तर साहित्य-देवकोटा साहित्यको साधनामा यसरी निमज्जित थिए कि उनको काम साहित्य पढ्नु, पढाउनु, लेख्नु र साहित्यकै चिन्तन मनन गर्नु थियो । काव्य रचनाका लागि आवश्यक उर्वर सृजनात्मक मनःस्थिति देवकोटामा अनवरत देखिन्छ । कवि वर्डवर्थले त्यस्तो उर्वर मनको अवस्थालाई ‘blessed mood’ भनेका छन् । त्यो मानस अवस्था सामान्य सर्जकमा कहिलेकाही मात्र उपलव्ध हुनसक्दछ, तर देवकोटामा त्यो अवस्थाको अतिशय उपस्थिति छ जसका कारण एक बसाईमै एक काव्य दिन सक्छन् देवकोटा । जतिसुकै कठिन परिस्थितिमा पनि उनको जीवन साहित्यको बाटिकाबाट अलिकति पनि विचलित भएको देखिन्न ।

प्रवचनकाल-साहित्यमै मौखिक अभिव्यक्ति दिनसक्ने क्षमता-देवकोटा एक सारगर्भित एवं भावगर्भित वक्ता थिए । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा देवकोटाले दिएका साहित्यसम्बन्धी व्याख्यानहरू उच्च कोटिका थिए । दार्जलिंगमा भएको साहित्य  सम्मेलनमा देवकोटाको ओजस्वी साहित्यिक प्रवचन सुनेर त्यो बेला उपस्थित भारतीय एवं वेलायती विद्वान् हरूले देवकोटा विश्वस्तरीय कवि भएको चर्चा गर्नुले उनको विशिष्ट प्रतिभाको उजागर गर्दछ । तासकन्दमा आयोजित अफ्रो एसियाली साहित्यिक सम्मेलनमा देवकोटाको काव्यिक प्रवचनले विश्व साहित्यिक समाजमा झंकार पैदा गरेको थियो l

व्यवहारकाल- साहित्यिक लेखन अभ्यासमा जीवनका हरेक अनुभवहरू अनुस्यूत गर्न सक्ने क्षमता देवकोटामा थियो । उनी समग्रमा नै पूर्ण कवि व्यक्तित्व थिए l उनी प्रशासनिक पदहरूमा पनि रहेर काम गरे तर पनि उनको परिचय साहित्यका महारथी नै रहिरह्यो ।  उनले लेखेका कृतिहरूको शीर्षकगत भूमिकामात्र अनुशीलन गर्न यो कार्यपत्र प्रस्तोतालाई २ दिन लागेको थियो ।
यस्ता गुणवत्तायुक्त महान् सर्जक विश्वकवि हुन् र भन्नु सागर जत्रो नदीलाई नदी हो र भनेर सोधे झैं सोधिएको कुनै प्रश्नका लागि प्रश्न मात्र हो ।
देवकोटाका काव्यहरूमा उपमा, अर्थ गौरव, पद लालित्य सबै सुन्दर रुपले उपस्थित भएका छन् ।
‘मुना मदन’ स्वयंमा एक उपमा हो, जीवनको उपमा । मुनाहरू हरेक समाज र समुदायमा विरही जीवन विताउँदै वियोगान्तीय नायिका बनेका भेटिन्छन्, मदनहरू परिवारको सुखका लागि भोट धाइरहेछन् । भोट अब अरब होस् या यूरोप अमेरिका, मदनहरूको मानसको स्थिति पत्नी र परिवारको वियोगमा एउटै छ ।

देवकोटाको प्रखरता र प्रवाहशीलताको कुनै तुलना नै छैन ।  तीन महिनामा शाकुंतल जस्तो गहन महाकाव्य लेख्न सक्ने अद्वितीय प्रतिभा केवल देवकोटा नै हुन् । शाकुन्तल जस्तो महाकाव्य लेख्नु त परै  जावोस्, राम्ररी बुझेर पढ्नसक्ने पाठक भेट्न कठिन छ । देवकोटा आफैले त्यो कुरा शाकुन्तलमा लेखेका छन् जुन यथार्थ हो :

‘जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी
रेखा तीन हुने विचार गहिरा दाढी बढारुन्  यहाँ ।’
अझ भूमिकामै उनले भनेका छन्-‘यो भगीरथको गङ्गा हो, थाप्लामा बोक्न मुस्किल छ।’ यो मर्न लागेको नेपाली भाषा साहित्यको सन्दर्भमा पनि उत्तिकै टड्कारो रुपमा लागू हुन्छ ।

यदि देवकोटाले नेपालीमा लेखेका कृतिहरू अंग्रेजीमा लेखेका भए कुनै सन्देह बिना विश्वस्तरमा प्रख्यात भै सक्दथे । देवकोटा एक मणि जस्ता चम्किला सर्जक हुन् । उनको चमक केही यिनै भाषागत परिस्थिति जस्ता कुराहरूले उति प्रकाशित नभएको भने पक्कै हो । देवकोटाले चाहेका भए अङ्ग्रेजी, हिन्दी आदि भाषामा सजिलै लेख्नसक्दथे । तर, उनको नेपाल, नेपाली भाषा र नेपाली जातिप्रतिको असीम श्रद्धाभाव र नेपालीलाई साहित्यका माध्यमले विश्वस्तरमा चिनाउने उत्कट अभिलाषा थियो, यो कुरा उनको प्रसिद्ध निवन्ध ‘के नेपाल सानो छ?’ बाट उनले सबैका सामु छर्लङ्ग पारेका छन् । उनको गुन नेपालीहरूले कहिल्यै भुल्नु हुन्न । अब हाम्रो काम देवकोटारुपी मणिलाई छेकिरहेका भाषागत सीमितता इत्यादि आवरणहरू हटाउनु हो, चम्कने काम त स्वयं मणिले गर्दछ । अनुवाद गरेर होस् या समालोचकीय दृष्टिहरूले खेलाएर होस् देवकोटाको वास्तविक सिर्जनशीलता र महान् काव्यकारिताको सर्वत्र सौरभ छाउनुपर्छ ।
भावको प्रवाहशीलता,
शव्दको गम्भीर गुम्फन,
छन्दमय संरचना,
हार्दिक अभिव्यन्जनाहरू
वाह
जोन मिल्टन भन्दा कम छैनन् देवकोटा
वोड्स ओर्थ र शेली भन्दा कम छैनन् देवकोटा
देवकोटाका लागि  छैनन् अरु उपमाहरू
न कालिदास भनौ
न कलरिज गनौ
देवकोटा जस्तै छन् हाम्रा कवि देवकोटा
विश्वकवि महाकवि देवकोटा !

लण्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू