बिहीबार, चैत १५, २०८०
13:52 | १९:३७

राष्ट्रिय जनगणनामा सक्रिय भूमिका खेल्न आदिवासी जनजाति समुदायलाई सुझाव

अमित याक्थुङ्वा नोभेम्बर ९, २०२०

​लन्डन । आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अपसंख्यकहरूले सक्रिय भूमिका खेल्नुपर्ने अभियन्ताहरूले बताएका छन् । बेलायतमा आयोजित एक कार्यक्रममा उनीहरुले सही तथ्यांक प्रस्तुत गर्न पनि सरोकारवाला पक्षहरूले विवरण संकलनदेखि अनुगमनको प्रक्रियासम्म विशेष सक्रियता देखाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले शनिबार आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ मा आदिवासी जनजाति र अल्पसंख्यकको भूमिका विषयक जुम संवादमा बोल्दै प्रा. डा. योगेन्द्र बहादुर गुरूङले जनगणना राज्यको कार्यक्रम मात्रै नभएर सबै समुदायलाई प्रभाव पार्ने आवधिक कार्यक्रम रहेको बताए । 

‘जनगणनालाई आफ्नो ठान्न सक्नुपर्छ । जातीय एकता र भावनात्मक एकता सिर्जना गर्न गणना महत्वपूर्ण छ’- उनले भने, ‘सही तथ्यांक संकलनका लागि सरकारी संयन्त्रदेखि स्वयंसेवकका रूपमा आदिवासी जनजातिका संस्थाहरू प्रवेश गर्नुपर्छ ।’

त्रिविमा जनसंख्या विभागमा प्राध्यापनरत डा. गुरूङले जनगणनाको सुपरिवेक्षकका लागि केन्द्रीय तथ्यांक विभागले माघ–फागुनमा तथा गणकका लागि फागुन–चैतमा भर्ना आह्वान गर्ने जानकारी दिए । उनले मुलुक प्रादेशिक संरचना गएपछि पहिलो जनगणना हुन लागिरहेको भन्दै केन्द्रभन्दा स्थानीय र प्रदेश तहबाट गणना कार्यमा विशेष सजगता अपनाउनुपर्ने सुझाव दिए ।

नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले विदेशमा श्रम, रोजगार, अध्ययन र अन्य अवसरका कारण विदेशमा रहेका नेपालीहरूको तथ्यांक  छुट्न नहुनेतर्फ ध्यान दिनुपर्ने राय राखे । त्यस्तै, ब्रिटेन लयर्स एसोसिएसनआबद्ध सोलिसिटर उत्तरमान तिगेलाले जाति र धर्मको प्रतिशतका विषयमा राज्यले मिथ्यांक प्रस्तुत गरेको आरोप लगाए । अर्का सहभागी नेफिन सल्लाहकार भक्त दुरालेले जनगणनाको अनुगमनका लागि संयन्त्र निर्माण गर्नुपर्ने बताए ।

​त्यसैगरी, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेवेले धर्मनिरपेक्ष मुलुक भइसकेको हुनाले नेपालमा धर्मको महल खारेज गरेर सबैलाई अपनत्व महसुस गराउनुपर्ने धारणा राखे । उनले आदिवासी जनजाति समुदायले वास्तविक तथ्यांक संकलन गर्न स्व–गणनाको अभियान पनि थाल्नुपर्ने सुझाए । त्यस्तै, किरात राई यायोक्खा यूकेकी अध्यक्ष कल्पना राईले जाति, मातृभाषा, पुख्र्यौली भाषा र धर्मका विषयमा समुदायले एकरुपता कायम गर्नुपर्ने विचार राखिन् ।

नेपालको १२ औँ राष्ट्रिय जनगणना आगामी २०७८ सालको जेठ २५ गतेदेखि असार २५ गतेसम्म सम्पन्न हुँदैछ । पहिलो जनगणना वि.सं. १९६८ (सन् १९११) मा भएको थियो । २०६८ को जगणनाअनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ छ । जसमध्ये पुरुष ४८.५० र महिला ५१.५० रहेको छ । केन्द्रीय तथ्यांक विभागका अुनसार १२५ जातजातिहरू बसोबास गर्छन् भने १२३ भाषा अस्तित्वमा छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार नेपालमा ५९ सूचीकृत  आदिवासी जनजाति समुदायहरू छन् । थप सूचीकरणका लागि २०६६ चैत ५ गते डा. ओम गुरूङको संयोजकत्वमा एक कार्यदल पनि बनेको थियो ।

संवादमा नेफिनसम्बद्ध दश जातीय घटक संस्था र प्रवासका संस्थाका करिब चार दर्जन बढी सहभागी भएको नेफिन यूकेका महासचिव खुशी लिम्बूले जनाए । उनले महासंघले जनगणनाको महत्व बुझाउन कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू