बुधबार, वैशाख २६, २०८१
05:31 | १०:१६

एक सातामा विदेशमा ५ सय ४४ नेपाली संक्रमित, एकको मृत्‍यु

विदेशमा थप एक हजार १६३ नेपाली कोरोनामुक्त

रासस नोभेम्बर ८, २०२०

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । हालसम्म विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको  स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ ।

हालसम्म विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया  रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।    

यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । हालसम्म विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र कोरोना भाइरसबाट संक्रमित एक लाख ९१ हजार ६३६ जना पुगेका छन् भने तीमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू