आइतबार, फागुन १६, २०७७
20:45 | ०२:३०

संक्रमितको उपचार गर्ने दायित्वबाट सरकार भाग्न मिल्दैन: नेपाल

रासस अक्टोबर २०, २०२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।

महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतंक सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । 

संक्रामक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई संक्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताए । 

सरकारले यही कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । 

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय अनुचित रहेको पनि बताएका छन् । 

उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू