शनिबार, वैशाख ८, २०८१
03:25 | ०८:१०

नेपालमा कोरोना अस्पताल बनाउन सहयोग जुटाउंदै यूकेमा कार्यरत डाक्टरहरु

बेलायतको ‘नाइटिंगेल’ जस्तै अस्पताल संचालन गर्ने लक्ष्य

नेपाली लिङ्क अक्टोबर २०, २०२०

लन्डन । नेपालमा कोभिड १९ संक्रमण तीव्र रुपले बढिरहेका बेला बेलायतमा कार्यरत नेपाली डाक्टरहरुले सहयोगको पहल शुरु गरेका छन्  ।

नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेले कोभिड १९ संक्रमितहरुको उपचारमा सघाउन बेलायतको ‘नाइटिंगेल’ जस्तै           कोरोना विशेष अस्पताल संचालन गर्ने लक्ष्यमा कोष संकलन शुरु गरेको हो ।  

एनडीए यूकेका भगिनी संस्थाहरु अमेरिकन नेपाली मेडिकल फाउन्डेसन (एएनएमएफ) र अष्ट्रेलियन नेप्लिज  मेडिकल एण्ड डेन्टल एशोसिएसन  (एएनएमडीए) संगको सहकार्यमा अक्सिजन, भेन्टिलेटर, पीपीई लगायतको पर्याप्त  व्यवस्थासहितको अस्पताल निर्माण गर्ने लक्ष्य लिइएको छ     

नेपालका अस्पतालहरुमा कोभिड संक्रमित बिरामीको चाप बढ्दै गएको तथा अस्पातलका बेड, अक्सिजन, भेन्टिलेटर, पीपीई  लगायतको ठूलो अभाव सिर्जना भएकोले अब  कोरोना विशेष अस्पताल आवश्यक रहेको एनडिए यूकेको बुझाइ  छ ।  

नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि कोरोना संक्रमणको अवस्था नियन्त्रणबाहिर जान नदिन सोही खालको विशेष अस्पताल आवश्यक रहेको भन्दै सहयोगको आग्रह गरेको उसले बताएको छ ।  

एनडिए यूकेले एक वक्तव्य जारी गर्दै कोरोना संक्रमितको लागि प्रभावकारी रुपमा उपचार गर्न सकिने अस्पताल संचालनको लागि ठूलो रकम आवश्यक रहेको कारण सहयोगका लागि सार्वजनिक अपील गरेको छ ।  

महासचिव डा सन्जीव नेपालीले जारी गरेको वक्तव्यमा हाल नेपालमा कोरोना संक्रमण र मृतकको संख्या तीव्र रुपमा बढ्दै गइरहेकोले स्वास्थ्य सेवा र पूर्वाधारहरु एकदमै कमजोर अवस्थामा रहेकोले तत्काल  सहयोगको खाँचो रहेको जनाइएको छ  

‘बढी जनघनत्व भएको काठमाण्डौ जस्तो ठाउँमा संक्रमित दर र मृत्यु डर निकै उच्च छ । अस्पतालको बेड, भेन्टिलेटर,अक्सिजन र पीपीई जस्ता सामग्रीको अभाव हुनुको साथै सर्वसाधारणलाई सहज उपलब्ध हुन् असम्भव छ । स्वास्स्थ्यकर्मीहरु आफै संक्रमित बनेका कारण उनीहरुको पनि अभाव भइरहेको छ’, वक्तव्यमा भनिएको छ, ‘ यस्तो अवस्थामा अस्पताल र स्वास्थ्यकर्मीहरुले नाइटिंगल जस्तो अस्पतालको व्यवस्था गर्नको लागि तत्काल सहयोग गर्न आग्रह गरेका छन् ।  जहाँ लिक्वीड अक्सिजन तथा पीपीई पार्याप्त मात्रामा उपलब्ध होस् ।’ 

कोरोना विशेष अस्पताल संचालन गर्न सके नेपालमा धेरै  मानिसहरुको जीवन बचाउन सहयोग पुग्ने एनडिए यूकेको विश्वास छ ।  महामारीको बेला यस्तो पुण्य काममा गरिने सहयोग  सह्रानीय रहने  भन्दै  सहयोगको लागि अपील गरिएको छ ।

ईच्छुक सहयोगदाताले  निम्नानुसारको ’भर्जिन मनि फन्डराइजिंग’ पेजमा क्लिक गरेर आफूले चाहेको रकम सहयोग गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू