शुक्रबार, वैशाख १४, २०८१
21:30 | ०२:१५

बेलायत आउँदा २५ लाख खर्च, बिना सर्टिफिकेट १० महिनामै फिर्ता

विश्वविद्यालयले परीक्षामा अनुत्तिर्ण भन्दै घर फर्कन ताकेता गरेपछि घर न घाट

नेपाली लिङ्क अक्टोबर २, २०२०

लन्डन । बेलायतस्थित हडर्सफिल्ड युनिभर्सिटीमा ४ वर्षको भिजा लाग्ने लोभमा चितवनकी एलिना (नाम परिवर्तन) ले फाउण्डेशन इन बिजनेश म्यानेजमेन्ट एण्ड ल कोर्षमा आवेदन दिइन् । 

राइट पाथ कन्सल्टेन्सीको चांजोपांजोमा युनिभर्सिटीकै मानिस काठमाडौं गएर अफर लेटर थमाएपछि उनी थप विश्वस्त भएकी थिइन् । 

पहिलोपटक विदेश यात्रा । नयां परिवेशबारे थाहा हुने कुरा पनि भएन । भिजा कति आउंछ त्यसमा समेत अनभिज्ञ थिइन् उनी । अप्लाइ गरेको केही समयपछि भिजा आयो ७ महिना मात्र । तर, युनिभर्सिटी फि १३ हजार ५ सय पाउण्ड (करिब २० लाख रुपैयां) र अन्य ५ लाख बढी खर्च भइसकेको थियो । 

कन्सल्टेन्सीले फाउण्डेशन कोर्ष सजिलो छ, सकेर बेलायतमै तीन वर्षको भिजा बढ्छ भनेपछि उनले विश्वास गरिन् । गत जनवरीमा बेलायत आएकी उनी हडर्सफिल्ड पुगेपछि मात्र थाहा भयो त्यो लन्डनबाट करिब एकसय ९० माइल टाढा रहेको । ‘शुरुमा कन्सल्टेन्सीले युनिभर्सिटीबाट लन्डन, म्यानचेस्टर र लिड्स नजिक छ । कामको चिन्ता लिनु पर्दैन भनेर झुक्यायो’, उनले गुनासो गरिन्, ‘यहां आएपछि त काम पनि पाइएन् । लकडाउनले पढाइ पनि अनलाइनमात्र सिमित भयो ।’ 

अहिले उनको प्रमुख समस्या बेरोजगारी होइन, विश्वविद्यालयले परीक्षामा अनुत्तिर्ण भएको भन्दै घर फर्कन ताकेता गरेपछि उनी घर न घाट भएकी छन् । केही मोडुलमा दोश्रोपटक फेल भएपछि विश्वविद्यालयले घर फर्कन भनेको उनले बताइन् । 

उनको भिजा आउंदो अक्टोबर ७ तारिख सकिने भएकाले अब नयां विश्वविद्यालयले भर्ना लिने सम्भावना ज्यादै न्यून छ, किनकि उनीसंग ‘एकेडेमिक प्रोगेसन’ छैन् । यदि कुनै विश्वविद्यालयले भर्ना लिइहाले पनि थप २० लाख रुपैयां जुटाउन ठूलो सकस छ । 

‘महामारीले पढ्ने वातावरण पनि भएन । अहिले न पैसा, न पढाइ भयो । यत्तिकै कुन मुख लिएर नेपाल फर्कनु ?’ उनले दुःखेसो पोखिन्, ‘अनलाइन पढाइयो भनेर युनिभर्सिटीले पैसा ‘रिफण्ड’ पनि गरेन । भिजा बढाउन ‘कन्फर्मेसन अफ एसेप्टेन्स फर स्टडिज’ (कास) लेटर पनि दिएन ।’  

११ हजार ८ सय पाउण्ड तिरेर फाउण्डेशन इन बिजनेश म्यानेजमेन्ट एण्ड ल कोर्षमै ८ महिनाको भिजासहित फेब्रुअरीमा बेलायत आएका अनिल (नाम परिवर्तन) को पीडा पनि समान छ । एउटामात्र ‘मोडुल’ फेल भएपनि युनिभर्सिटीले आफ्नो समस्या नसुनी घर फर्कनुको विकल्प छैन् भनेको उनले गुनासो गरे । युनिभर्सिटीका हरेक निकायमा आफूहरुले अन्तिम मौका दिन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए । 

राइट पाथ कन्सल्टेन्सीले पहिलो वर्षको कोर्ष सजिलै हुन्छ, त्यसपछि बेलायतमै ३ वर्ष भिजा थप्ने भनेपछि ढुक्क उनलाई यस्तो स्थिति आउला भन्ने कल्पनामै थिएन । तर कोभिड १९ र अनलाइन पढाइमा फोकस हुन नसक्दा उनी फेल भए । विश्वविद्यालयले फेरि लिन अस्वीकार गरेको छ । अब ७ अक्टोबरमा उनको भिजा सकिंदैछ, थपिने मेसो देखिएको छैन् । 

‘अर्को विश्वविद्यालय पाए पनि घरबाट पैसा झिकाउन सक्ने स्थिति छैन् । नेपाल नै फर्कौं भने पनि फ्लाइट भाडा करिब तीन लाख रुपैयां रहेछ’, उनको दुःखेसो छ, ‘नेपालमा कन्सल्टेन्सीको मिसलिडले हाम्रो भविष्य बर्बाद भयो । म नयां साथीहरुलाई बुझेरमात्र बेलायत आउन सुझाव दिन्छु ।’ 

२२ वर्षीय विशाल श्रेष्ठ (नाम परिवर्तन) ले पनि करिब १२ हजार पाउण्ड विश्वविद्यालयलाई तिरेका थिए । कन्सल्टेन्सीले फाउण्डेशन कोर्स पास भएपछि ४ वर्ष भिजा आउंछ भनेको थियो । तर, ८ महिनाको भिजा पाए । गत फेब्रुअरी १० मा आएका उनी ७ मध्ये एउटा लिगल एण्ड फाइनान्सियल म्यानेजमेन्ट मोडुलमात्र फेल भए । ‘पहिलो सेमेस्टरमा क्लास लिन पाएर सबै पास भएको थिएं । तर, दोश्रो सेमेस्टर अनलाइनमात्र भएकाले केही बुझिन अनि फेल भएं’, उनले भने, ‘युनीको इन्टरनेशनल स्टडी सेन्टरमा आफ्नो समस्या सुनाउंदा सरी हामी लिन सक्दैनौं भन्छ । भिजा ७ अक्टोबरमा सकिंदैछ ।’ 

उनले नेपाल फर्कन हवाइ भाडा समेत नभएको बताए । ‘दश घण्टामात्र काम गर्न पाउने अधिकार थियो तर कामै पाइन । खान बस्न धौ धौ छ । ऋण गरेर आएको कसरी तिर्ने चिन्ताले पिरोलिएको छु’, उनले गुनासो गरे ।

राइट पाथले नै ल्याएका उक्त विश्वविद्यालयमा अध्ययनरत करिब एकसय विद्यार्थीमध्ये झण्डै तीन दर्जन विद्यार्थी अनुत्तिर्ण भएका कारण नेपाल फर्कनुपर्ने वाध्यतामा छन् । तीन वर्षको भिजा हुने पनि फेल भएर फर्कनुपर्ने अवस्थामा रहेको विद्यार्थीको गुनासो छ ।

हडर्सफिल्ड युनिभर्सिटीका एसोसिएसट डिन प्राध्यापक डा. पदम सिम्खडा नेपाली विद्यार्थीका समस्या फाट्टफुट्ट सुनेको तर आधिकारिक खबर नआएको बताए । अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या र व्यवस्थापन समेत हेर्ने उनले कति नेपाली विद्यार्थी समस्यामा परेका हुन्, कुन कुन विषयमा कहिले फेल भएका हुन् सबै विवरण थाहा भए उपकुलपतिसंग कुरा गरेर समाधानको पहल गर्ने बताए । 

धेरै युनिभर्सिटीले कोभिड १९ का कारण अनलाइन पढाएकाले सिस्टम नबुझ्ने विद्यार्थी अनुत्तिर्ण भएको उनले बताए । ‘जनवरी, फेब्रुअरीमा विद्यार्थी युनिभर्सिटी आए तर मार्चबाट लकडाउन भयो’, उनले भने, ‘कोभिड त्रास, जागिर नहुनुको पीडा अनि पर्याप्त अध्ययन नहुंदा विद्यार्थी फेल भएका पाइएको छ ।’ 

विश्वविद्यालयसंग विद्यार्थी फेल भएपछि निष्कासनको अधिकार रहने बताउंदै डा. सिम्खडाले ति विद्यार्थीबारे गृहमन्त्रालयलाई भने अवगत गराउनुपर्ने बताउंछन् ।

युनिभर्सिटीकी भिजा सपोर्ट एड्भाइजर लुना हसनले फेल भएका विद्यार्थीलाई आफूले केही गर्न नसक्ने बताएकी छन् ।

लन्डनस्थित सोलिसिटर राजु थापा अध्ययन भनेर बेलायत आउने तर पढाइ भन्दा काममा बढी ‘फोकस’ हुने विद्यार्थीको भविष्य यहां नभएको बताउंछन् । ‘बेलायतको गृह मन्त्रालय (होम अफिस) पनि त्यस्ता विद्यार्थीप्रति अनुदार छ’, उनले भने । 

बेलायती विश्वविद्यालय पढ्ने विद्यार्थीको एक शैक्षिक परामर्शदाता एम्पल इन्टरनेशनल एजुकेशनका सञ्चालक प्रमोद अधिकारीले आफूकहां करिब ७ जना विद्यार्थी आइपुगेको बताए । ‘विद्यार्थीको हाजिरी, शैक्षिक प्रगति, अंग्रेजी परीक्षाको सर्टिफिकेट र शुल्क भुक्तानी विश्वविद्यालयका आवश्यकता हुन् । त्यो नहुंदा उनीहरु विद्यार्थीलाई हटाउन सक्छन्’, अधिकारीले भने, ‘म सकेसम्म विद्यार्थीको उद्दारमा लागेको छु ।’ 

उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सोसाइटीकी पूर्व अध्यक्ष वशुधा सुवेदीले इन्टरनेशनल फाउण्डेशन इयरमा फेल भएका विद्यार्थी समस्यामा परेको बताइन् । उनले पीडित विद्यार्थीलाई इन्टरनेशनल अफिसमा कुरा गर्न सुझाएको र आफूले पनि सक्दो पहल गर्ने जनाइन् ।  

राइट पाथ करियर काउन्सिलिङका सञ्चालक फिलिप डिसी बिद्यार्थीले भोगेको समस्या सुन्दा दु:ख लागेको बताउँदै यसलाई गम्भीर रुपमा लिइएको बताउँछन् । ‘हामीले ३ बर्षभन्दा बढी समयदेखि बिद्यार्थीलाई सही सल्लाह दिंदै आएका छौं र भिजा प्रक्रिया शुरु गर्नु अघि उनीहरुलाई राम्ररी परामर्श दिनु हाम्रो प्राथमिकता छ’ उनले भने ।  

आफ्नो कम्पनीले राम्रो गर्दागर्दै पनि विदेशमा नेपाली बिद्यार्थीले दु:ख पाएकोप्रति ध्यानाकर्सण भएको भन्दै यसको निराकरणका लागि सधैं तत्पर रहेको डिसीको दावी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू