मंगलबार, वैशाख ४, २०८१
13:14 | १७:५९

कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त

रासस/एएनआई सेप्टेम्बर ३०, २०२०


१४ असोज– कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले कुवेतका अमिरको निधनले आफू र मेलानियालाई निकै दुःख लागेको बताउंदै कुवेतका नागरिकहरुलाई समवेदना सन्देश पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो ।

अमिरले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका थिए । उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति सिले उनको निधनबाट आफूलाई दुःख लागेको बताएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ ।

उनको निधनपछि उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई कुवेतको मन्त्रिपरिषदले उत्तराधिकारी घोषणा गरेको छ । गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएका थिए । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेका थिए । उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू