शुक्रबार, चैत १६, २०८०
05:16 | ११:०१

कोरोना कहरमा पनि रोकिएन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला

अहिले रङ्गशालामा १५० मजदुरले काम गरिरहेका छन्

रासस सेप्टेम्बर १४, २०२०


चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी छ । कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो ।

गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ । हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् । निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्गशाला प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ ।

यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । अहिले पिल्लरको काम भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । ती मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । ‘ए’ प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् ।

त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको उहाँले जानकारी दिनुभयो । एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ ।

दुई प्याराफिटमा १५-१५ जनाको हजार क्षमता हुनेछ । मनसुन रोकिए लगत्तै भुइको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ ।

यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ । रङ्गशाला निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ ।

परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । गत असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो । काम भइरहेकाले रु ५ करोड भन्दा वढिको उधारोमा सामाग्री आएको उहाँले जानकारी दिनुभयो ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिनुभयो । अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उहाँले यस अघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिनुभयो ।

अगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ । निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन ।

रङ्गशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त नभएको जनाइएको छ । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उहाँको विश्वास छ ।

भरतपुर महानगरपालिकाको सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्गशाला निर्माण सुरु गरिएको हो ।

भरतपुर महानगरपालिका १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसंग सहकार्य गरेर भइरहेको रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको जानकारी दिनुभयो ।

महानगरले यस वर्ष ४ करोड र बागमती प्रदेशले ३ करोड विनियोजन गरेको छ । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राबिधिक कारणले निकासा गर्न कठिन भएको थियो ।

राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । फाउण्डेसनले नेपालमा क्रिकेट रङ्गशाला बनाउने बताएसंगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो ।

वि. सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बिचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि वढेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू