बिहीबार, वैशाख १३, २०८१
01:04 | ०५:४९

कोभिड प्रकोपले एक्लिएको छ दूतावास प्रेक्षालय

लन्डन दूतावासका थुप्रै सपना अधुरा रहे भाइरसका कारण

नेपाली लिङ्क अगस्ट १४, २०२०

लन्डन । सेन्ट्रल लन्डनको पोस एरिया केन्जिङटन प्यालेस गार्डेन्स्स्थित क्राउन पोपर्टीमा रहेको नेपाली दूतावासको प्रवेश द्वार पुग्ने वित्तिकै बेग्लै सान महशुस हुन्छ । नेपाल र नेपालीकै गर्वलायक छ दूतावास भवन ।

कुनै बेला हप्तामा सातै दिन भरिभराउ दूतावास हल (हेर्नुस् तस्बिर) अहिले सुनसान छ । दूतावासद्वारा गरिने विभिन्न कार्यक्रमका बेला महिनामा कम्तिमा पनि दुई पटक दूतावास गइरहने बानीले होला यतिबेला दूतावासको भौगोलिक दूरी कता कता टाढा भएजस्तो लाग्ने रहेछ ।

कोरोना भाइरस प्रकोपले गर्दा पछिल्लो समय दूतावासमा अफिसियल कामबाहेक अन्य गतिविधि बन्द छ । यसले सार्वजनिक कार्यक्रममा नेपाली प्रतिनिधिहरुलाई औपचारिक स्वागत नगरेको पनि झन्डै पांच महिना बितिसकेको छ । यति लामो समयपछि गत साता मलाइ सौभाग्यवश दूतावास जाने अवसर मिल्यो । भवन प्रवेश गर्ने बित्तिकै कताकता सुनसान र एकान्तपन महशुस भयो । संधै भीडभाड र घुइंचो देखिने दूतावासमा केवल कर्मचारीहरुको मात्र चहलपहल देखिन्थ्यो ।

नेपाली तथा विदेशीहरुको भीडले खचाखच भरिने मुख्य प्रेक्षालय सुनसान थियो आफ्नो प्रेमी वा प्रेमिकाको सम्झनामा विरक्तिएर मौन बसिरहेको मानिस जस्तो । सामाजिक संघसंस्था देखि विभिन्न कूटनैतिक र बेलायती राजपरिवारका सदस्यले समेत पाइला टेकेको दूतावास हलको कुनामा एकमाथि अर्को खात लागेर बसेका कुर्सी छन् । सायद ति मलाई देख्ने बित्तिकै मुस्कुराए की !

कुर्सीका खुट्टानेर राखिएका एक जोडी मादल पनि सोरठी भाकामा घन्किन तयारी अवस्थामा भएका जस्तो देखिन्थ्यो । कहिले कोरोना कहर सकिएला र हललाई गुन्जायमान बनाउंला भनेर म्यूजिक सिस्टम पनि स्टेजमा तम्तयारी अवस्थामा छन् । हलको भित्ता वरिपरी राखिएका नेपालका सुन्दर अनि रमणीय प्राकृतिक दृश्य देखेर मेरो बहकिएको अनि उराठिएको मन पनि एकाएक शान्त र उर्जाशील भयो ।

वास्तवमा विश्वलाई नै आक्रान्त बनाउने गरि फैलिएको कोरोना भाइरस यतिबेला सबैका लागि ठूलो चूनौतिका रुपमा छ । मानिसको जीवन र दैनिकी नै उथलपुथल पारिदिएको छ । आफन्त इष्टमित्रबाटै टाढिन बाध्य बनाएको छ कोरोना प्रकोपले । मानिसका थुप्रै भावी सपना र वर्तमान परिवेशलाई गन्तव्यबिहिन पारिदिएको छ । नेपाली दूतावास लन्डनका पनि थुप्रै सपना अधुरा रहे, यही भाइरसका कारण ।

नेपाल सरकारद्वारा घोषित ‘भ्रमण वर्ष २०२०’ अभियान सफल पार्न दूतावासले ठूलो कदम चालेको थियो । बेलायतवासी नेपाली तथा विदेशी व्यवसायी  लगायत विभिन्न कूटनीतिक माध्यमबाट नेपाल भ्रमण वर्ष सफल पार्ने यात्रामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको म्याराथन दौड शुरु भइसकेको थियो । तर, ति सपना अधुरै रहने भए ।

यतिमात्र होइन, इंग्ल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल, मह जोडीलाई दूतावास ल्याउने योजना, पिएचडी होल्डरहरुको ज्ञान सम्मेलन, विकास सम्मेलनको निरन्तरता लगायत अन्य थुप्रै ऐतिहासिक तथा नियमित कार्यक्रम तय भइसकेका थिए ।

आफ्नो चार वर्षे कार्यकालमा तय गरिएका केहि ऐतिहासिक कार्य सम्पन्न गर्न नपाउंदा खल्लो महशुस गर्छन् राजदूत सुवेदी । संसारकै नेपाली दूतावासहरुमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण इतिहास बोकेको नेपाली दूतावास लण्डनमा अझै धेरै इतिहास थप्ने चाहना सुवेदीको थियो । आफू गएपनि आउंदा वर्षहरुमा ति योजना पुरा हुनेमा राजदूत विश्वस्त छन् ।

हुन त नेपाली राजदूतावास भवन लण्डनको इतिहास र वर्तमान केलाउने हो भने एउटा रोचक कथा बन्न सक्छ । विदेशस्थित नेपालको पहिलो राजदूतावासको रुपमा स्थापित भएर अहिलेसम्म एउटै भवनमा रहेर एउटा दरिलो इतिहास बोकेको नेपाली दूतावास लन्डनले केही महिनाभित्र २१ औं राजदूतको स्वागत गर्नेछ ।

सन् १९३४ मा प्रथम राजदूतको रुपमा बहादुर शम्सेर जबराको आगमन हुंदै २० औं राजदूतका रुपमा अहिले डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) ले कार्यभार सम्हालिरहेका छन् । सन् २०१६ अन्त्यबाट दूतावासको कार्यभार सम्हाले यता राजदूत सुवेदीले आर्थिक, सामाजिक, कूटनीतिक र प्रशासनिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको नेपाली समुदायको बुझाइ छ । त्यसो त कोरोना भाइरस (कोभिड १९) ले थुप्रै महत्वपूर्ण कार्यलाई अवरोध पुरयाएको सुवेदी स्वीकार्छन् ।

दूतावासको करिब ८६ वर्षे इतिहासमा पछिल्ला ५,-६ वर्षयता भने थुप्रै सार्वजनिक कार्यक्रम गर्न थालियो, फलस्वरूप बेलायतका नेपालीहरुले पनि दूतावासमा सहज प्रवेश पाउन थाले । राष्ट्रिय चाडपर्व तथा दिवस जस्ता कार्यक्रममा सिमित दूतावासका कार्यक्रम पछिल्लो चार वर्षमा भने निकै पृथक र उपलब्धिमुलक बने । विशेष गरि सामाजिक एवं कूटनीतिक सम्बन्धि कार्यक्रम कहिले महिनामा एक दुईवटा त कहिले हप्तामा दुईवटा सम्म निरन्तर चलिरहे ।

फलस्वरूप ब्रिटेन नेपालबीचको सम्बन्ध थप सौहार्द्र बनेको देखिन्छ । अर्कोतिर बेलायतवासी नेपालीहमाझ पनि दूतावास अभिभावक बनेर सधैं निकट रहयो । नेपालका विभिन्न नगरपालिकासंग गांसिएको भगिनी सम्बन्धले देशको तल्लो निकायसम्म सम्बन्ध सुमधुर बनाउन भूमिका निर्वाह गरेको देखिन्छ ।

आशा छ, अब चाडै नै दूतावासको त्यो सुनसान हलमा खचाखच स्वदेशी र विदेशीको भीड देख्न सकिनेछ, ति मादल पनि सोरठी तालमा घन्किनेछन् अनि म्यूजिक सिस्टमले सांगीतिक तरंग प्रवाह गर्नेछन् ।

शब्द/तस्बिर-नरेन्द्र बस्नेत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू