शुक्रबार, वैशाख १४, २०८१
13:17 | १८:०२

स्थानीय तहका केन्द्रमै सुध्रिएनन् सडक

रासस जुलाइ २९, २०२०

काठमाडौं । जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणीय रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको कार्यालय छ । थली कागेश्वरी मनोहराको सिंहदरबार हो । यहाँका मूल सडक, भित्री सडक सबै रोपाइँ गर्न तयार पारिएका खेतका गराजस्ता देखिन्छन् । सडक बनाउन नगरपालिकाका र वडा कार्यालयमा जतिपटक अनुरोध गरे पनि काम हुन नसकेको स्थानीयवासी पूर्ण श्रेष्ठको गुनासो छ । 

‘वर्षा लागेपछि घरअघि पानीको दह जम्छ, हिउँद शुरु भएपछि धुलोले घरअघि केही देखिँदैन, स्थानीय सरकार बन्नुअघि पनि हाम्रो दैनिकी वर्षामा हिलो र हिउँदमा धुलो खाएर बित्थ्यो, अहिले पनि त्यसरी नै बितेको छ, जतिसुकै तहका सरकार बने पनि हाम्रो दैनिकीमा कुनै सुधार हुन सकेको छैन’, उनले भने ।

नगर कार्यपालिकाको कार्यालयअघि थलीचौरस्थित मिलनचोकबाट मूलपानी जाने भित्री सडकमा गत आवमा बजेट पनि विनियोजन भएको थियो । सडक दायाँबायाँ पर्खाल बनाए पनि सडक बीच भागमा केही गरिएको छैन । पर्खाल बनाए पनि वर्षा व्यवस्थित हुन नसकेको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको योजनामा काम हुँदा सडकमा सूचना पाटीसमेत नराखिएका के काम कति दूरीमा गरिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सोमबहादुर तामाङले बताए ।

जेठको अन्तिम हप्ता यो सडकमा पहिलो लेभलको ग्राभेल हालिएको थियो । त्यसपछि वर्षा हुन थालेकाले काम अघि बढ्न सकेको छैन । थली क्षेत्रका अन्य भित्री सडकको अवस्था पनि दयनीय छ । थलीचोकबाट सिम्खडागाउँ हुँदै वाग्मती नदीतिर निस्कने सडकमा पनि हिलो र पोखरीले हिँड्न नसकिने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । 

यस्तो सडकमा सवारी गुडाउन समस्या छ । सवारी गुड्दा हिलोले दायाँबायाँ हिँड्नेलाई निथ्रुक्कै भिजाउँछ । दायाँबायाँका घरमा पनि हिलो छ्यापिने गरी सवारी गुड्ने गरेको छ । केन्द्र रहेको नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी स्थानीय सरकारका तर्फबाट सकेसम्म भित्री सडकमा ग्राभेल हाल्ने, पोखरी पुर्ने काम भइरहेको बताउँछन् । 

‘गुनासो गर्नेले स्थानीय सरकारको स्रोत, साधन एवं अधिकारले कति गर्न सकिन्छ भन्ने पनि बुझ्नुपर्‍यो, सकेसम्म भित्रका सबै सडकलाई हिँडडुल गर्न सकिने बनाउने प्रयासमा छौँ’, उनले भने   

जोरपाटी–थली–साँखु मूल सडकसमेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको छ वर्षसम्म पनि सडक अलपत्र छ ।

ठाउँठाउँमा ठूला पोखरी जम्दा सवारी चलाउन असहज भएको चालक श्याम तामाङको गुनासो छ । डाँछीको ब्रह्मखेलको मूल सडकमा बनेको पोखरीले सवारी चलाउन डराउनुपर्ने परिस्थिति आएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू