मंगलबार, मंसिर १६, २०७७
04:48 | १०:३३

अमेरिकामा तयार पारिएको खोप बाँदरमा सफल परीक्षण

रासस–एएफपी जुलाइ २९, २०२०

वासिङ्टन, १४ साउन– अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ । अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो ।

कोरोनाभाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पुरयाउन सक्छ । मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ ।

खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोनाभाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो । उल्लेखनीय कुरा के भने दुबै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो ।

वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन ।

मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू