शनिबार, वैशाख ८, २०८१
10:06 | १४:५१

अर्कैसँग बिहे हुन लागेपछि एसिड आक्रमण

एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ

रासस जुलाइ २४, २०२०

काठमाडौं । काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ ।

बिहीबार साँझ ७:५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०. ४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए  

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।

आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०. ४५ बजे गार्मेन्टबाटै पक्राउ गरेको हो । 

आफूअनुकूलको काम नमानेकाले एसिड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसिड प्रहारबाट गम्भीर युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहारलगायत शरीरका विभिन्न अंगमा असर पुगेको छ । एसिड हान्ने फैयाजसमेत घाइते भएको जनाइएको छ । 

यसरी भएको थियो घटना 

प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन । त्यसैले उनले घटना घटाउन पुगेको जनाइएको छ ।

पहिले पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् ।

पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न वहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् । 

केहीबेर होटलमा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैयाजले एसिड हानेका प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसिड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू