शुक्रबार, वैशाख ७, २०८१
18:53 | २३:३८

सामाजिक सुरक्षा भत्तामा पूर्व सैनिकमाथिको विभेद अस्वीकार्य: गेसो

सरकारको निर्णय नसच्चिए कानूनी लडाईंको चेतावनी

नेपाली लिङ्क जुलाइ १५, २०२०

गेसो सभापति कृष्णकुमार राई

लण्डन । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा विभेदकारी नीति लिइएको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विरोध जनाएको छ ।

विदेशी सरकारबाट नियमित रुपमा पेन्सन पाउनेहरुलाई उक्त भत्ता उपलब्ध नगराउने नेपाल सरकारको नीति अस्वीकार्य रहेको भन्दै गेसोले यसलाई सच्चाउन माग समेत गरेको छ ।

केन्द्रीय सभापति कृष्णकुमार राईले बुधबार जारी गरेको एक वक्तव्यमा गेसोले नेपाल सरकारको सामाजिक सुरक्षा भत्तासम्बन्धी व्यवस्थाले बेलायती सेना मात्र नभएर भारतीय सेना, सिंगापुर प्रहरी लगायतबाट अवकाशप्राप्त सैनिकहरुलाई समेत विभेद गरेको आरोप लगाएको छ ।

नेपालको संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बिना कुनै भेदभाव बाँच्न पाउने अधिकार, समानताको हक, ज्येष्ठ नागरिकको हकका साथै सामाजिक न्याय तथा समाजिक सुरक्षाको हक समेत कुण्ठित गरिएको गेसोको आरोप छ ।

विदेशी सरकारबाट पेन्सन पाउनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नमिल्ने भनी गत असार १७ मा मन्त्रीस्तरबाटै गरिएको निर्णयले लाखौं पूर्व सैनिक तथा उनीहरुमा आश्रित परिवारको भावनामा आघात पुर्याएको दाबी गरिएको छ ।

गेसोले सामाजिक सुरक्षा भत्ता सम्बन्धि विभेदकारी निर्णय तत्काल फिर्ता लिन सम्बन्धित मन्त्रालय र नेपाल सरकारसंग माग गरेको छ ।

आफ्नो जायज मागको सम्बोधन नगरी संविधानप्रदत्त अधिकारबाट बञ्चित गरिए कानूनी लडाईं लड्न समेत पछि नपर्ने चेतावनी गेसोले दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू