शुक्रबार, वैशाख १४, २०८१
14:09 | १८:५४

यूकेबाट पहिलो चार्टर उडानमा उडे १ सय ४६ नेपाली

लण्डन । कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउनका कारण बेलायतमा अलपत्र परेका नेपालीहरु बोकेर पहिलो चार्टर उडान नेपाल उडेको छ ।

बुधबार अपरान्ह लण्डनको ग्याटविक एअरपोर्टबाट छुटेको जजिरा एअरलाइन्सको विमानमार्फत १ सय ४६ जना नेपाली स्वदेश फर्किएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बुधबार चार्टर उडानमा नेपाल फर्किनेहरुमा भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान लागेका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु लगायत छन् ।

उनीहरुलाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले विमानस्थल पुगेर बिदाई गरेका थिए ।

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, जर्नेल कुमारबाबु थापा, तृतीय सचिव तेजेन्द्र रेग्मी, जजिरा एअरवेजका नेपाल एजेन्टका प्रतिनिधि जीवन सेन, एनआरएनए अभियन्ता शेर सुनार लगायत पनि स्वदेश फर्किनेहरुको बिदाईका लागि विमानस्थल पुगेका थिए ।

ट्राभल डकुमेन्ट, भिसा लगायतका समस्या पर्ने यात्रुहरुको लागि दूतावासले विमानस्थलमै सेवा उपलब्ध गराएको थियो ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा दूतावासले नेपाल फर्कन जरुरी अवस्थामा रहेका बेलायतस्थित झण्डै ५ सय नेपालीको सूची तयार गरेको थियो । सोही सूचीबाट पहिलो प्राथमिकतामा पर्नेहरु पहिलो उडानमै उड्ने मौका पाएका हुन् ।

लण्डनबाट बुधबार अपरान्ह ३ बजेर ५० मिनेटमा उडेको जजिरा एअरवेजको ए ३२० एअरबस विहिबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं अवतरण हुनेछ । बीचमा ‘ट्रान्जिट’ का लागि कुवेतमा करिब डेढ घण्टा विमान रोकिनेछ ।

बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारले व्यवस्था गरेको दुई चार्टर उडानमध्येको दोस्रो उडान भने शुक्रबार हुनेछ ।

हेरौं थप तस्विरहरु:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू