शुक्रबार, चैत १६, २०८०
06:59 | १२:४४

युरोपभित्रको सिमाना खुला

रासस-एपी जुन १५, २०२०

बर्लिन ।  युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ ।

कोरोनाभाइरसको संक्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो ।

सिमानाहरु खुला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनात्मक व्यवस्था भने अझै पनि लागू नै हुने अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुला गरिएको छैन ।

युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना शुरु नहुंदासम्म रहने अनुमान गरिएको छ ।

सिमाना खुला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्वन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले संकटपछिको नयाँ अवस्थामा आफूहरु फर्किएको बताउँदै संकटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे ।

उनले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए । राष्ट्रपति म्याक्रोँले भने, हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पूरै हराइसक्यो भन्ने बुझ्नु हुँदैन ।

युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्यांक छ भने झण्डै २० लाख मानिस संक्रमित भएका छन् ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभर झण्डै ८० लाख मानिस संक्रमित भएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू