शनिबार, वैशाख ८, २०८१
20:55 | ०१:४०

ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल (भिडियो)

लण्डन । संसारकै प्रतिष्ठित एअरलाइन्समध्ये एक बेलायतको राष्ट्रिय ध्वजावाहक ब्रिटिश एअरवेजको प्रवर्द्धनात्मक विज्ञापनमा एक नेपाली मोडलले अवसर पाएका छन् ।

‘लियो ट्यांक’ नामबाट चिनिने बेलायतस्थित मोडल/कलाकार टंक धमला फिचर्ड उक्त भिडियो विज्ञापन ब्रिटिश एअरवेजले हालै सार्वजनिक गरेको छ । विशेषत भारतका यात्रुहरुलाई आकर्षित गर्ने लक्ष्यसहित निर्माण गरिएको उक्त विज्ञापन १ मिनेट लामो छ ।

भारतका सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको भएपनि लकडाउनका कारण सिनेमाहरु बन्द रहेका कारण युट्युबमार्फत विज्ञापन सार्वजनिक गरिएको छ ।

‘जेट एअरवेज बन्द भएपछि ब्रिटिश एअरवेजले भारतमा आफ्नो बजार विस्तार गर्न खोजिरहेको छ । यसै शिलशिलामा यो भिडियो विज्ञापन तयार गरिएको हो’, नेपाली लिंकसंगको संवादमा लियोले भने, ‘भारत र दक्षिण एशियाली बजार केन्द्रित उनीहरुको कमर्सियलमा मोडलिङका लागि मसंग २ वर्षको सम्झौता भएको छ ।’

यसअघि स्वीस एअरवेजको कमर्सियलमा समेत काम गरिसकेका उनी ब्रिटिश एअरवेजसंगको आबद्धतापछि झन् उत्साहित छन् ।

‘ब्रिटिश एअरवेज जस्तो प्रतिष्ठित ब्राण्डसंग काम गर्न पाउँदा पक्कै पनि उत्साहित छु । यसले मलाई आफ्नो मोडलिङ करियरमा ठूलो हौसला थपिदिएको छ’ , लियो आशावादी छन्, ‘भविष्यमा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुमा पनि अवसर पाउन थप सजिलो हुन्छ भन्ने विश्वास बढेको छ ।’

आफ्नो एजेन्टको सहयोगमा दुई/तीन चरणका अडिसनहरु पास गरेर यो विज्ञापनमा काम गर्ने अवसर पाएको उनले सुनाए ।

लण्डनमा चार्टर एकाउन्टेन्टका रुपमा कार्यरत लियोले गत वर्ष रिलिज भएको ‘सरौतो’ मार्फत भिलेनको भूमिकामा नेपाली चलचित्रमा ‘डेब्यु’ गरेका थिए । सुगठित शरीर, आकर्षक लुक्स र परिपक्व अभिनयका लागि नेपाली चलचित्र वृत्तमा उनको प्रशंसा र चर्चा गरिएको थियो ।

झण्डै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका लियोले यहि वर्षको अन्त्यमा निर्माण शुरु हुने एक अंग्रेजी फिचर फिल्ममा काम गर्दैछन् । बेलायती कलाकार समेतले अभिनय गर्ने भनिएको उक्त फिल्मको निर्देशन डा कपिल रिजालले गर्दैछन् ।

डा रिजालकै निर्देशनमा बनेको अंग्रेजी लघुचलचित्र कर्मामा समेत मुख्य भूमिकामा छन् लियो । जुन प्रोजेक्ट अहिले पोस्ट प्रोडक्सनको क्रममा छ ।

हेरौं, लियो ट्यांकले अभिनय गरेको ब्रिटिश एअरवेजको विज्ञापन-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू