बिहीबार, वैशाख १३, २०८१
10:12 | १४:५७

नेपाली भाषामा सूचना उपलब्ध गराउन पब्लिक हेल्थ इंग्ल्याण्ड सकारात्मक

नेपाली लिङ्क मे २७, २०२०

लण्डन । स्वास्थ्य सचेतनासम्बन्धी जानकारी र सूचनालाई नेपाली भाषामा समेत उपलब्ध गराउने सम्बन्धमा पब्लिक हेल्थ इंग्ल्याण्ड सकारात्मक देखिएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डबाट जारी हुने सूचनाहरुलाई नेपाली भाषामा पनि उपलब्ध गराउन आग्रह गर्दै एनआरएनए यूकेले पठाएको पत्रमा सकारात्मक जवाफ मिलेको हो ।

एनआरएनए यूकेका तर्फबाट उपाध्यक्ष नारायण कँडेलले गत अप्रिल २० मा पठाएको पत्रको जवाफमा पब्लिक हेल्थ इंग्ल्याण्डले मे २२ मा लेखेको पत्र बुधबार प्राप्त भएको जनाइएको छ ।

‘बेलायतस्थित भूतपूर्व गोर्खासहितको ठूलो नेपाली समुदायलाई भाषाका कारण कठिनाई भएको भन्दै हामीले नेपाली भाषामा पनि सूचनाहरु उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका थियौं’, उपाध्यक्ष कँडेलले नेपाली लिंकसंग भने, ‘यसबारेमा आधिकारिक निर्णय गर्न सक्ने बेलायत सरकारको सेन्ट्रल कम्युनिकेसन टीममा हाम्रो आग्रहलाई फर्वाड गरिएको जानकारी हामीलाई आएको छ ।’

उनका अनुसार नेपालीमा सूचना उपलब्ध गराउनका लागि गरिएको आग्रहका सम्बन्धमा लिइने निर्णयबारे सरकारको सेन्ट्रल कम्युनिकेसन टीमबाट सिधै जानकारी गराइने बताइएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डको पत्रमा बेलायतको लागि गोर्खा समुदायले पुर्याएको योगदानको उच्च प्रशंसासहित उनीहरुको सुरक्षा र स्वास्थ्यको विषय आफूहरुको लागि निकै महत्वपूर्ण भएको समेत उल्लेख छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले आफ्ना सूचनाहरु अंग्रेजी बाहेक पोलिस, वेल्स, अरेबिक, फ्रेञ्च, चाइनिज, पञ्जाबी, उर्दू, बंगाली, गुजराती र पोर्चुगिज लगायत भाषामा उपलब्ध गराउँदै आएको छ ।

बेलायतमा नेपाली भाषा प्रयोगकर्ताको ठूलो संख्या रहेको तथा बेलायतको लागि महत्वपूर्ण योगदान गरेका गोर्खाहरुमा अंग्रेजी भाषा नबुझ्दा समस्या भएको भन्दै एनआरएनए यूकेले नेपालीमै सूचना उपलब्ध गराउन पहल अघि बढाएको हो । जसको संयोजन उपाध्यक्ष नारायण कँडेलले गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू